के तुवाचुङ निजी हो ? हलेसी–तुवाचुङ नगरपालिकालाई बेवास्ता गर्नुको नियत के हो ?

हलेसी तुवाचुङ नगरपालिका, खोटाङमा अवस्थित तुवाचुङ किरातीहरूको अदिम भूमि हो । किराती सभ्यताको शुभारम्भ भएको यो क्षेत्र नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय केन्द्रका रूपमा रहेको र नगरपालिकाले पनि यसको संरक्षण र विकासका लागि प्रथम नगरसभाबाट गुरुयोजना निर्माणसहितको नीति तथा बजेट व्यवस्था गरिसकेको छ ।

यसै सन्दर्भमा २०७४ मंसिर २ गते तुवाचुङ डाँडामा भएको एउटा कार्यक्रमसम्बन्धमा केही प्रश्न तथा जिज्ञासा मलाई आइरहेकाले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको हैसियतले केही कुरा फेसबुकमार्फत राखेको छु ।

आयोजकले प्रतिमा निर्माणदेखि नै नगरपालिकासँग समन्वय गरेको छैन

सन्दर्भ हो– किरातीहरूको पुर्खा तायामा, खियामा तथा रैछाकुलेको प्रतिमा अनावरण कार्यक्रममा नगरपालिकाको जनप्रतिनिधिको उपस्थिति नहुनु । र, खास कुरा के हो भने– नगरका जनप्रतिनिधि, सम्बन्धित वडाका वडाध्यक्षलगायत कोही वास्तवमा उपस्थित नभएकै हो । कारण– के आधारमा उपस्थित हुने ? नगरपालिकालाई कुनै पनि औपचारिक पत्र तथा निमन्त्रणा केही पनि आयोजकबाट प्राप्त भएको छैन । पर्सनल्ली फेसबुकमा ट्याग गरिएका फोटोबाहेक कुनै जानकारी नआएको र यसको विषयमा नगरप्रमुख तथा उपप्रमुखसँग पनि नगरपालिकामा कुरा हुँदा खबर आउला नि भन्ने भएको हो । र, कार्यक्रमको दिनमात्र मौखिक आग्रह गरिएकाले त्यो प्रक्रियामा उपस्थित हुन नसकिने जानकारी आयोजकलाई दिइएको पनि हो ।

र, यो असहयोग हैन । आयोजकले प्रतिमा निर्माण गर्दादेखि नै नगरपालिकासँग कुनै समन्वय गरेको छैन । नगर क्षेत्रभित्र कुनै पनि भौतिक संरचना (निजी तथा सार्वजनिक) निर्माण गर्दा नगरपालिकाबाट अनुमति लिनुपर्ने, प्राविधिक कागजपत्र पास गराउनुपर्ने, समन्वय गर्नुपर्ने, जुन केही गरिएको छैन । अनौपचारिक रूपमा म आफैंले यो समन्वयको अनुरोध सम्बन्धितहरूसँग पनि गरेको हुँ । र, नगरपालिकाले असहयोग गर्ने भए निर्माणकार्य रोक्न सक्थ्यो, जुन कानुनी प्रावधान नै छ, नगरपालिकालाई अधिकार पनि छ । तर, पक्कै समन्वयका लागि आयोजक समिति आउनुहुन्छ भन्ने विश्वासमा रह्यौ हामी ।

नगरपालिकालाई कुनै पनि औपचारिक पत्र तथा निमन्त्रणा केही पनि आयोजकबाट प्राप्त भएको छैन । पर्सनल्ली फेसबुकमा ट्याग गरिएका फोटोबाहेक कुनै जानकारी नआएको

यो विषयमा अरू धेरै प्रश्न उठिरहेका छन् जस्तो कि

(१) के तुवाचुङ निजी हो ?

(२) तुवाचुङको विकासको अन्तिम जिम्मेवारी कुनै समितिको हो कि सरकारको ?

(३) प्रतिमा निर्माणको आर्थिक स्रोत तथा खर्चको आधार के हो ?

(४) भर्खरै निर्मित प्रतिमाको सुरक्षा कसले गर्ने ?

(५) स्थानीय सरकारको सहभागिता, समन्वय र सहकार्यविना के समितिको उद्देश्य पूरा हुन्छ ?

(६) समितिले नगरपालिकालाई बेवास्ता गर्नुको नियत के हो ? प्रश्न धेरै छन्, जसको जवाफ नगरपालिकासँग पनि छैन ।

र, यो विषयलाई कुनै पनि राजनीतिक रङ नदिइयोस् । यो समन्वयको अभावको नतिजा हो । र, सरोकारवालाबीचको आपसी द्वन्द्वको परिणाम हो । नगरपालिका नगर क्षेत्रको विकासमा सबैको साथ चाहान्छ र सिद्धान्त नै त्यही छ ।

भन्नुपर्ने कुरा धेरै छन् । यो कार्यक्रममा नगरपालिकाले असहयोग गरेको हैन । आयोजक र नगरपालिकाबीच समन्वय नभएकोमात्र हो ।

व्यक्तिगत कुरा गर्दा म आफैं पनि किराती संस्कार, संस्कृतिको संरक्षण र प्रवद्र्धनमा, जातीय मुक्तिको आन्दोलनमा, किरात राई विधार्थीको अभियानमा लागेको किराती हुँ । म आफैंले सरकारी कामकाज गरिरहेको अवस्थामा पनि आदिवासीसम्बन्धी विषयमा वकालत गरिरहने व्यक्ति हुँ । म यहीं हुँदाहुँदै पनि कार्यक्रममा उपस्थित हुने वातावरण बन्न सकेन । प्रयास गरेको हुँ । बेवास्ता भएको भन्ने मलाई लागेको छ ।

तथापि, नगरपालिकाले समग्र नगरको विकासमा सांस्कृतिक विषयवस्तुलाई ध्यानमा राखी विभिन्न नीति तथा योजना निर्माण गरेको छ । सहकार्यका लागि हार्दिक अनुरोध छ । नगरपालिकालाई नकारात्मकमात्र नसोचौं । अहम्ता त्याग गरौं ।

र फेरि भन्छु, भन्नुपर्ने कुरा धेरै छन् । यो कार्यक्रममा नगरपालिकाले असहयोग गरेको हैन । आयोजक र नगरपालिकाबीच समन्वय नभएकोमात्र हो । नगरपालिकाले गर्नुपर्ने काम आदरणीय किराती अग्रज व्यक्तित्वज्यूहरूले, समितिले गर्नुभएको छ । उहाँहरूप्रति नगरपालिका हार्दिक आभार व्यक्त गर्दछ । किराती सभ्यताको उद्गम भूमिको संरक्षणमा सरकार र जनता मिलेर काम गरौं । मौका यही हो । नगरप्रमुख इवन राईलगायत सबै वडाध्यक्षज्यूहरू यो विषयमा गम्भीर र सकारात्मक हुनुहुन्छ ।

हार्दिक अनुरोध छ । गलत वातावरण सिर्जना हुने अभिव्यक्ति कृपया नदिनुहोला ।

(किराती हलेसी–तुवाचुङ नगरपालिका कार्यकारी अधिकृत हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार