फणीन्द्र नेपाल
यो महिनाको तलब पाएपछि
मलाई एउटा गतिलो सारी किनिदिनैपर्छ
कुनै बहाना बनाउन
पाइँदैन के
मैले भनिदएकी छु है ।
पार्टी र भोजभतेरमा
अरूहरू सारी फेरी फेरी अाउँछन्
अाफूचाहिँ जहिले पनि एउटैमा लाज मर्नु भइसक्यो
हो नि
नयाँ रातो रेसमी सारीमा
मेरी रानीसा,
तिमी कति खुल्दी हौ
वसन्तमा पैयूँको फूलझैँ
तिमी अाफ्नै मुस्कानमा फुल्दी हौ
हावाले उडाएको
सारीको सप्कोले
मेरो अनुहार छोइदिँदा
त्यसै त्यसै
मेरो रित्तिन लागेको
बैँस पगाल्दो हो
बैँस फर्कने सोचमात्रले पनि
मनसँगै तन पनि उचाल्दो हो
तर रानीसा,
तिम्रा र मेरा इच्छा
अनि अाकाङ्क्षा छन्
नदीका दुई किनारजस्तै
हेर न
तिमीलाई सारी चाहिएको छ
मलाई राष्ट्रिय झन्डाको कपडा किन्नु थियोे
रातो र नीलो कपडामा
सेतो चन्द्र र सूर्य सिउनु थियोे
यो देशलाई
सधैंका लागि सङ्कटबाट
बाहिर निकाल्न
भोलि नै सहरभरि
विशाल जुलुस निकाल्नु थियो ।