सिरहा । एउटा लौका ४५० रुपैयाँमा बिक्री भएको सुन्दा जोकोहीलाई विश्वास नलाग्न सक्छ। धेरैले त मजाकका रुपमा लिन्छ सक्छन्। तर, सिरहा नगरपालिका १२ सारश्वरस्थित मस्जिदमा एक व्यक्तिले चढाएको लौका डाकमार्फत चार सय ५० रुपैयाँमा बिक्री भएको छ।
यहाँको मुस्लिम समुदायको खेतबारीमा कुनै नयाँ फल फल्यो भने पहिलो फल मस्जिदमा चढाउँछन् । सोही चलनअनुसार स्थानीय अजमत खाँले आफ्नै बारीमा फलेको पहिलो लौका मस्जिदमा चढाए। मस्जिदले उक्त लौका डाकमार्फत ४५० रुपैयाँमा बेचेको स्थानीय अकबर मियाँले बताए।
मियाँका अनुसार लौकाको डाक बढाबढ भएपछि मो. कादिरले खरिद गरेका हुन्। सुरुमा मो. राजाले लौका खरिद गर्ने इच्छा गरेका थिए। तर, उनले लौकाको मूल्य मात्र ४ सय रुपैयाँमा किन्ने बताए। त्यसपछि कादिरले आफू ४५० रुपैयाँ तिर्ने बताएपछि लौका किन्न भ्याए।
मुस्लिम समुदायका व्यक्तिको खेतबारीमा फल्ने पहिलो फल मस्जिदमा चढाउँदा डाकमार्फत बिक्री गर्ने गरेको र हुने आम्दानी मस्जिदको संरक्षण तथा विकासमा लगाउने गरेको स्थानीय अब्दल रहमानले बताए। उनका अनुसार यसरी डाकमार्फत मस्जिदले फलफूल बिक्री गरेर बर्सेनि लाखौं रुपैयाँ आम्दानी गर्छ।
अन्नपूर्णपोस्टबाट