दीपेन्द्र राई/काठमाडौं
होलेसुङ समूहको सक्रियतामा संकलित २ लाख ५० हजार ८२ पैसा दुर्छिम उच्चमाध्यमिक विद्यालयलाई हस्तान्तरण गरिने भएको छ । संकलित रुपैयाँ माघ १ गते उमावि प्राचार्य केदारप्रसाद साहलाई हस्तान्तरण गरिने भएको हो ।
होलेसुङ समूहका भूपेन्द्रकुमार राईको सक्रियतामा रकम संकलन गरिएको हो । भूपेन्द्रकुमार राईको हस्ताक्षरसहित प्राइम कमर्सियल बैंक लिमिटेडको चेक सितिमी यु १२ गोल्डकप उद्घाटन समारोहमा हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम भन्ज्याङ खोटाङमा हस्तान्तरण गरिने भएको छ ।
शिक्षासेवी तथा समाजसेवीसमेत रहेका शिक्षा मन्त्रालयमा कार्यरत ‘सेक्सन अफिसर’ भूपेन्द्रकुमार राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘होलेसुङ समूहको सक्रियतामा दुर्छिम उमावि नमुना बनाउने अपेक्षासाथ पूर्वविद्यार्थी तथा शुभेच्छुकबाट संकलित रकम सही सदुपयोग होस् ।’
हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडामा रहेको दुर्छिम उमाविमा अध्यापनरत बगम राईले प्रतिक्रिया दिएका छन्, ‘आफूले अध्ययन गरेको र शुभचिन्तकको मायालाई दुर्छिम उमावि उच्च कदर गर्छ ।’
दुर्छिम उमावि प्राचार्य केदारप्रसाद साह र विद्यालय व्यवस्थापन समिति सदस्य गमिता राईले निर्माणाधीन ६ कोठे ट्रस्ट खरिदका लागि होलेसुङ समूहमा निवेदन दिएका थिए । साह र राईले होलेसुङ समूहलाई गत असोज २६ गते सामूहिक पत्र लेखेका थिए । सोही पत्रका आधारमा समूहले सहयोग संकलन थालेको थियो ।
हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम वडाध्यक्ष रमेश तिवारीको दाबी छ, ‘आदरणीय काका भूपेन्द्रकुमार राईज्यूको अगुवाइ अनि होलेसुङ समूहको सक्रियतामा चलेको यो अभियानले दुर्छिम माविलाई जिल्लाकै नमुना बनाउन कोसेढुंगा साबित हुनेछ ।’
उमावि परिसरमा निर्माणाधीन ट्रस्ट खरिदका लागि चेक बनेपछि कवि तिलक चाम्लिङले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘छोटो समयमा यति रकम संकलन गर्नुहुने समाजसेवी भूपेन्द्रकुमार राई र हामी होलेसुङ समूहलाई पनि धन्यवाद ।’
‘यो त कास्टिङमात्रै हो,’ युवा नेता राजुविक्रम चाम्लिङ भन्छन्, ‘फिल्म देखाउन त बाँकी नै छ । कि कसो ?’
युवा नेता अन्जिल राईले ‘सलाम छ’ भनेर फेसबुकमा लेखेका छन् ।
यसैगरी, उमेश सेरालुङले फेसबुकमै प्रशंसा गरेका छन्, ‘यति राम्रो कार्य गर्न सफल होलेसुङ समूहलाई धन्यवाद ।’
दुर्छिम उमाविमै अध्ययन गरेका राई तयन्द्र भन्छन्, ‘सामाजिक सञ्जालमा सधैं रचनात्मक गतिविधि उल्लेख गरिरहने होलेसुङ समूहले यसपटक खोटाङ जिल्लाको पुरानो विद्यालयमध्ये दुर्छिम माविलाई आर्थिक सहयोग गर्ने भएछ । विकासमा नागरिकको भूमिका महत्वपूर्ण र अर्थपूर्ण रहन्छ भन्ने गतिलो सन्देश पनि हो यो अभियान । धेरै–धेरै बधाइ तथा धन्यवाद होलेसुङ समूहलाई ।’
सन्तोष पोखरेल फेसबुकमा लेख्छन्, ‘सामाजिक भलाइको काम ।’
दुर्छिम उमाविका शिक्षक बगम राई र पूर्वशिक्षक नवीन चाम्लिङले समेत होलेसुङ समूहलाई फेसबुकमार्फत बधाइ दिएका छन् ।
भूपू गृहपञ्चायत भौतिक यातायात सहायकमन्त्री स्वर्गीय डिल्लीसेर राईको पहलमा निर्मित दुर्छिम मावि गोरखा भूकम्पमा जीर्ण बनेको थियो । समाजसेवी अडिमर्डन राउतद्वारा प्रदान गरिएको जग्गामा निर्मित यो मावि हलेसी क्षेत्रका लागि ज्ञानको मुहान मानिन्छ ।
संवत् २०३६ मा स्थानीयले जनश्रमदान, अन्नदान र रकमदान गरी दुर्छिम उमावि निर्माण भएको थियो ।