माघेसंक्रान्तिमा स्नान, दान, ध्यान नगर्ने जीवनभरि रोगी


काठमाडौ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । साउन १ देखि सुरु दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।

माघेसंक्रान्तिदेखि साउने संक्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो ६ महिनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

‘सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण उत्तम हुन्छ, प्रयागमा गई स्नान गरेर जन्म मरणको दुःखमा पर्नु नपर्ने हेमाद्रि, पुराणलगायत ग्रन्थमा उल्लेख भएको प्रा. डा. गौतमले बताए ।
उत्तरायणमा पनि माघ र वैशाख महिना उत्तम मानिन्छ । माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय कर्म गर्नका लागि मानिएको समितिले जनाएको छ । तराईवासीले पनि माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खाई माघमा ६ प्रकारको तिल प्रयोग गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । माघ शुक्ल पक्षमा तिललाई ६ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशीसमेत पर्छ ।

माघेसंक्रान्तिका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यु, चाकु, तिलका परिकार तथा खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभरि रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता छ । आज घ्यु, चाकु, तिलका परिकार, तरुल, पालुंगो, खिचडी आदि खाने चलन छ । उल्लिखत परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने चाडमा ताता परिकार खाने गरिएको हो । त्यस्ता खानेकुराले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्छ ।

यस वर्ष शुक्र अस्त भएकाले माघेसंक्रान्ति मनाउनु हुन्न भन्ने हल्ला गलत रहेको समितिले जनाएको छ । यो चाड नित्यकर्म भएकाले शास्त्रीय रूपमै मनाउन सकिने अध्यक्ष गौतमले बताए । गत मंसिर २९ गते पूर्वमा अस्ताएको शुक्र माघ १८ गते पश्चिमबाट उदाउने समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार