खोटाङ । पूर्वको पशुपतिनाथ भनेर चिनिने खोटाङको हलेसी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भाव्यता अध्ययन र प्रचार–प्रसारका लागि हलेसी प्रतिष्ठानले तीनदिने पदयात्रा गरेको छ ।
स्थानीय राजनीतिक दल तथा संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, युवा, पत्रकार र इच्छुक पदयात्रामा सहभागी थिए । हिन्दुसँगै किरात र बौद्ध धर्मावलम्बीको पनि उत्तिकै पवित्र स्थान हलेसी र आसपासका क्षेत्र ओझेलमा परेको भन्दै प्रतिष्ठानले पदयात्रा एवम् अध्ययन अवलोकन गरेको प्रतिष्ठान अध्यक्ष सुविन्द्र गिरीले जानकारी दिए ।
तीनदिने भ्रमणक्रममा हलेसी महादेव मन्दिरनजिकै रहेको अर्खौलेको गुप्तेश्वर गुफा, हलेसी, सल्ले, अर्खौले र धितुङ गाविसबीचमा रहेको किरात राईको उद्गमस्थल तुवाचुङ जायजुम, हलेसीनजिकै रहेको बौद्ध धर्मावलम्बीको ऐतिहासिक स्थल जगदम्बा माईको अवस्थाबारे जानकारी लिइएको थियो ।
गुप्तेश्वर गुफा ऐतिहासिक र आश्चर्यजनक गुफा रहेको प्रतिष्ठान अध्यक्ष गिरीले बताए । बाहिरबाट झट्ट हेर्दा बाघको मुखजस्तो देखिने गुफाभित्र झरना रहेको छ । गुफा संरक्षणका लागि शिवराज राईको नेतृत्वमा समितिसमेत बनिसकेको छ ।
तुवाचुङ जायजुम संरक्षणका हिसाबले निकै माथि रहेको बताउँदै गिरीले भने, ‘किरात समुदायको सक्रियताले यस ठाउँको केही सुधार भएको छ ।’ हलेसी क्षेत्रको सबैभन्दा यहाँबाट हिमाली दृश्य नियाल्न सकिने भएकाले पर्यटकीय आकर्षण बन्न सक्ने उत्तिकै सम्भावना छ ।
मंगलटारको घुर्चुमा रहेको सत्तेश्वर महादेव प्रचार अभावमा ओझेलमा रहेको प्रतिष्ठान कोषाध्यक्ष सयन्द्र राईले बताए । सत्तेश्वर गुफामा सत्यजस्तै लाग्ने, शेषनागको शिला, ढुंगाको मादल, खाना पकाउन मिल्ने किरात समुदायले उपयोग गर्ने चुल्हो तथा अन्य मूर्ति र आकृति रहेको राईले सुनाए ।
मंगलटारमै रहेको ताराखसे ओढार पनि पर्यटकीय आकर्षण बन्न सक्ने सम्भावना छ । ‘भीरको टुप्पोमा पहरालाई कु“देर बनाएजस्तो देखिने करिब १५/२० मिटर गहिरो खाडल रहेछ,’ प्रतिष्ठान अध्यक्ष गिरीले भने, ‘यो कसैले बनाएको त पक्कै होइन ।’ कसैले बनाएकै भए पनि यो ऐतिहासिक रहेको उनको भनाइ छ । यो ओढार तारा खसेर बनेको बताइएको छ ।
तस्बिर : सुनिल पुरी