यस्ता थिए– गण्डकीप्रदेशका घले राजाहरू

डा. जगमान क्ह्रोँगि लामा गुरूङ

तिब्बती भाषाको ल्ह शब्दबाट ल्ह्ये र क्ल्ये हुँदै घले शब्दको संरचना भएको छ । ल्ह शब्दको अर्थ देव हो । अतः घले शब्दले देवको अर्थ बुझाउँछ । तिब्बती भाषाको स–ब्रेन् शब्दबाट साब्रेँ शब्द बनेको छ । स को अर्थ भूमि र ब्रेन्को अर्थ वद्र्धन हो । अतः साब्रेँ घलेको अर्थ भूवद्र्धन घले हो । तिब्बती भाषामा गद्दीलाई ठि भन्छ । ठि लेख्दा ख अक्षरमा र अक्षर जोडेर त्यसमा इकार लगाउनुपर्छ तर त्यसको ख्रि नभएर ठि उच्चारण गर्नुपर्छ । तिब्बती भाषामा देन्को अर्थ आसिन हो । तिब्बती भाषाको देन् शब्दबाट देँ शब्द बनेको छ । यसरी ख्रिदेन् (ठिदेन्) शब्दले गद्दीनसिन भन्ने अर्थ बुझाउँछ । तिब्बती भाषाको ख्रिदेन् (ठिदेन्) शब्दबाट रिल्देँ श्बद बनेको छ । त्यसकारण रिल्देँ घलेको अर्थ गद्दीनसिन घले हो । क्ह्यालको अर्थ राज, क्ह्याल्सको अर्थ राज्य र क्ह्याल्बोको अर्थ राजा हो । अतः क्ह्याल्देँको अर्थ राज्यासिन हो । त्यसकारण क्ह्याल्देँ घलेको अर्थ राज्यासिन घले हो । तिब्बती भाषामा शत्रुलाई ढा भन्छ र ढादुलको अर्थ शत्रुलाई वशमा पार्नु हो । तिब्बती भाषाको ढा अक्षरबाट डा अक्षर बनेको छ । अतः डाँगि घलेको अर्थ शत्रुजित घले हो ।

घले राजाको सूर्यवंश, भारद्वाज गोत्र र भारद्वाज, अंगिरस, बार्हस्पत्यत्रिप्रवर हो । कास्की, विजयपुर, डिहीगाउँका मुखिया बलबहादुर म्ह्रेँलु लामछाने गुरूङको घरमा भएको गुरूङ वंशावलीअनुसार घले वंशका चारवटा टुंघ्यु यसप्रकार छन् । साब्रेँ घलेको ठिपा टुंघ्यु, रिल्देँ घलेको रिपा टुंघ्यु, क्ह्याल्देँ घलेको सर्व टुंघ्यु र डाँगी घलेको कर्म टुंघ्यु हो । साब्रेँ घलेको न्हेँज (पैतृकस्थल) मनाङको तिल्जे–ताजे हो । रिल्देँ घलेको न्हेँज (पैतृकस्थल) लमजुङको पोँजो (हालको घले उत्तरकन्या) हो । क्ह्याल्देँ घलेको न्हेँज (पैतृकस्थल) धादिङको घ्याल्चोक र डाँगी घलेको न्हेँज (पैतृकस्थल) गोरखाको बारपाक हो ।

अघि कुनै बेला एउटा निश्चित ठाउँमा ठकुराईं कायम गरेका शासकहरू ठकुरी कहलाएका थिए । कालान्तरमा ठकुराईको विस्तार हुँदै गयो र ठकुराईहरू राज्यका रूपमा परिणत भए । त्यसपछि राज्यका शासकहरू राजा कहलाए । यसैगरी, घलेहरू गण्डकीप्रदेशका आदिवासी गुरूङ, मगर र तामाङका राजा हुन् । शाहवंशका राजाहरूले गण्डकीप्रदेशका घले राजाहरूलाई जितेर त्यहाँ आफ्नो राज्य स्थापना गरेका हुन् ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालय, जैसीकोठामा रहेको वंशावलीअनुसार वर्तमान स्याङ्जाको लसर्घा र त्यसवरिपरिका घले राजाहरूलाई जितेर शाहवंशका पुर्खा जैनखानले लसर्घाको आलमदेवीमा आफ्नो कोट स्थापना गरेका थिए । नुवाकोटका राजा मिचाखानका माइला छोरा जगदिखानले कास्कीका घले राजालाई जितेर त्यहाँ आफ्नो राज्य स्थापना गरेपछि उनले शाही उपाधिधारण गरेर उनी जगदिखान शाही कहलाए । कास्कीकोटका पुजारी तिमिल्सिनाहरूको वंशावलीअनुसार बल घले र उनका भाइ कर्म घले कास्कीकोटका राजा थिए । यसैगरी, जगदिखान शाहीले क्होलका घले राजालाई जितेपछि उनको शक्ति बढ्यो र उनले आफ्नो कुललाई मण्डन (भूषण) गर्न सकेको हुँदा उनी कुलमण्डन शाहका नामबाट प्रसिद्ध भए ।

कुलमण्डन शाहका साइँला छोरा यशोब्रह्म शाहले लमजुङका घले राजालाई जिते । गोरखा वंशावलीअनुसार यशोब्रह्म शाहका छोरा द्रव्य शाहले गोरखा लिगलिगका घले राजा, गोरखा तल्लोकोट र उपल्लोकोटका घले राजा र गोरखा माझकोटका खड्का राजालाई जितेर आफ्नो स्वतन्त्र राज्य स्थापना गरे । गोरखाका राजा राम शाहले बारपाक, धादिङ, खरि, मैधि, सल्यान र कटुन्जेका घले राजाहरूलाई जितेर गोरखा राज्यको उन्नति गरेका थिए । पृथ्वीनारायण शाहका पिता गोरखाका राजा नरभूपाल शाहको समयसम्म पनि धादिङका जनताले भित्रभित्रै घलेलाई राजा मान्न थालेका रहेछन् । नरभूपाल शाहले उक्त स्थितिलाई परास्त गरिदिए ।

साबिक लमजुङ तथा हाल कास्की–६ गाउँ याङ्जाकोट, देउरालीका पैँडी लालबहादुर क्ह्रोँगि लामा गुरूङको घरमा भएको गुरूङ वंशावलीअनुसार अघि सबुतोँ क्ह्याल्समा क्रोँसिक्ह्याल नामक ल्ह्येम्रुँ (घले राजा) भए । क्रोँसिक्ह्यालका सिस्योर ल्ह्येनामक छोरा भए । सिस्योर ल्ह्येका सस्येर ल्ह्येनामक छोरा भए । सस्येर ल्ह्येका मुस्येर ल्ह्ये, तिनका लसेर ल्ह्ये, तिनका तोमिच्याल्ह्ये र तिनका पोतिक्ह्याल ल्ह्ये नामक छोरा भए । पोतिक्ह्यालका शक्ति क्ह्याल र मुक्ति क्ह्याल नामक दुई छोरा भए । शक्ति क्ह्याल सबुतोँ क्ह्याल्समा नै रजाइँ गरी बसे । मुक्ति क्ह्यालले चीनको रजाइँ गरे ।

शक्ति क्ह्याल काहीराक्ह्याल, मोतीक्ह्याल र लतिक्ह्याल नामक तीन छोरा भए । जेठा हीरा क्ह्याल सबुतोँ क्ह्याल्समा नै रजाइँ गरी बसे । तिनका सन्तान साब्रेँक्ह्याल साब्रेँ घले कहलाए । माइला मोती क्ह्याल रि भन्ने स्थानमा गई रजाइँ गरी बसे । तिनका सन्तान रिल्देक्ह्याल रिल्देँ घले कहलाए । कान्छा लतिक ह्यालक्ह्यालसोँपो (ठिनिक्ह्याल्स) मा रजाइँ गरी बसे । तिनका सन्तान क्ह्याल्देँक्ह्यालक्ह्याल्दे घले भए । साब्रेँ घलेका पुर्खा हीरा क्ह्याल, रिल्देँ घलेका पुर्खा मोती क्ह्याल र क्ह्याल्दे घलेका पुर्खा लतिक्ह्यालयी तीन क्ह्यालका पालामा यिनीहरू क्ल्ह्येसोँदि कहलाएका थिए । छिमिग्याछ (मुक्तिक्षेत्र) माच्योँसुर घलेले रजाइँ गरेका थिए ।

त्यसपछि म्हिनकुगिँ पाँछ (जनता) ओल्पिच्हो र सिउरिधुँमाआई बसे । त्यसपछि म्हिनकुगिँ पाँछ (जनता) मैजु, पिस्याङ र मनु (मनाङ) मा आई बसे । त्यसपछि म्हिनकुगिँ पाँछ (जनता) सब्जे प्ह्रन्गमा आई बसे । साविक लमजुङ हाल कास्की ६ गाउँ याङ्जाकोट, देउरालीका पैँडी लालबहादुर क्ह्रोँगि लामा गुरूङ तथा याङ्जाकोट, छापडाँडाका पैँडी पार्सिङ नम्जु क्रोम्छैँ गुरूङको घरमा रहेको वंशावलीअनुसार क्रोम्छैँको पुर्खा सोँगु, क्यप्छैँको पुर्खा क्यतेँ र टुँको पुर्खा रोक्य यी तीन पुर्खाले क्होलसोँप्रेँट्होमा तीनवटा बस्ती बसाले । म्हिनकुगिँ पाँछ (जनता) पनि क्होलमा आई जग्गा आवाद गुल्जार गरेर बसे तर नेतृत्वको विवाद भयो । सेर्ग गीतअनुसार त्हो म्हैजित्हो आयोँ अर्थात् त्हो (नेतृत्व गर्ने राजा) खोज्दा त्हो (नेतृत्व गर्ने राजा) पाइएन । चान्पो म्हैजिचन्पो आयोँ अर्थात् चन्पो (न्यायनिसाफ गर्ने मन्त्री) खोज्दा चन्पो (न्यायनिसाफ गर्ने मन्त्री) पाइएन । थर्प म्हैजिथर्प आयोँ अर्थात् थर्प (सभा भवन) मा मान्छे खोज्दा थर्प (सभाभवन) मा कोही पनि आइदिएनन् । यसरी नेतृत्वको विवाद भएपछि म्हिनकुगिँ पाँछ (जनता) ले क्ह्याल्बुरुजु घलेलाई ल्याई क्होलमा राजा स्थापना गरेर उनलाई त्हो (नेतृत्व गर्ने राजा) बनाए । लेम (लामछाने) को पुर्खा लेम्कोँलाई ल्याएर चन्पो अर्थात् न्यायनिसाफ गर्ने मन्त्री बनाए ।

त्यसपछि म्हिनकुगिँ पाँछ (जनता) ले सभा दिए अर्थात् उनीहरू थर्प (सभा भवन) मा आएर सभामा सहभागी भए । यसरी क्ह्याल्बुरुजु घले राजा र लेम्कोँ काजीले क्होलमाथि तिरीति बसालेर राज्य व्यवस्था कायम गराए । त्यसपछि क्होलमाहीराक्ह्याल, छुरिक्ह्याल, थर्मोक्ह्याल, पोतिक्ह्याल, श्रीस्युंक्ह्याल र दोवक्ह्यालनामक घले राजाहरू भए । क्होलका घले राजा दोवक्ह्याल निःसन्तान हुँदा रितु घले क्होलका राजा भए । गुरूङहरूको पे (पौराणिक कथा) घले र घलेर ाजाहरूको गौरवगाथाले भरिएको छ । क्होलका घले राजा क्ह्याल्बुरुजु र उनका काजी लेम्कोँको पे पढेर मृतकलाई अस्योँक्वेँ दिइन्छ । पलाँहुँरे घलेको पे पढेर मृतकको ह्रि (अस्थु) ल्याइन्छ । यसैगरी होर्जेँ घलेको पे पढेर प्लेँ खार्ब कर्म गरिन्छ ।

त्यसपछि कास्कीका ठकुरी राजा जगदिखान शाहीले म्हिनकुगिँ पाँछ (जनता) लाई हात लिई क्होलका घले राजालाई परास्त गरेको कुरा यसअघि नै उल्लेख भइसकेको छ । त्यसपछि क्होलमा घलेको रजाइँ हराई शाहीको रजाइँ भयो । त्यसपछि घले राजा क्होल छोडेर लमजुङको पोँजोमा आई रजाइँ गरी बसेका थिए । त्यसबेला पुवाँर, भँडारी, राउत, शुयाँल, दुरा र घिमिरे यी ६ थरले कास्कीबाट जगदिखान शाहीका माइला छोरा कालु शाहलाई ल्याएर लमजुङमा राजा थापे । लमजुङ पोँजोका घले राजाले कालु शाहलाई शिशिढुंगाको जंगलमा सिकार खेल्न लगेर मारिदिए । त्यसपछि फेरि उपरोक्त ६ थरले कालु शाहका साइँला भाइ यशोब्रह्म शाहलाई ल्याएर लमजुङमा राजा स्थापना गरे । यशोब्रह्म शाहले नोचनखोर्लो ह्रिमाछेका सन्तान घोताने, लामा र लामछानेको पुर्खालाई हात लिई पोँजोका घले राजालाई परास्त गरे । त्यसपछि घलेका सन्तान कोही युलुङ गएर बसे । त्यहाँबाट कोही गोरखा र बारपाक गई बसे । कोही पूर्वतिर लागे । पूर्वतिर लागेकाहरू धादिङ गई रजाइँ गरेर बसे ।

क्होलका घले राजा क्ह्याल्बुरुजुका सन्तान रिल्देँ घलेहरू अहिले लमजुङ चारनाल, दसथरअन्तर्गत कोइमले (घलेगाउँ) मा छन् । लमजुङ दसथरको मौलो नायुँ हो । समस्त गुरूङहरूको पैतृक स्थल क्होलसोँप्रेँट्होँ अहिले नायुँका तालुकदार मुखियाको तिर्जा पुर्जा र दरानतिरानको जग्गाभित्र रहेको छ ।

लमजुङका ठकुरी राजा यशोब्रह्म शाहसँग थिति बाँधेर गुरूङ उमराहरूले लमजुङ चारनाल र उँभोखोला समेतको जग्गा भोग गरेका थिए । विसं १८६२ मा देवीदेवताको गुठी र ब्राह्मणको कुसविर्ता हरण हुँदासमेत लमजुङ चालनाल र उँभोखोला समेतका गुरूङ उमराहरूको सिर्तोबिर्ता हरण भएको थिएन । विसं १८७१ मा महाकाली नदीलाई सिमाना मानेर नेपाल र अंग्रेजको बीचमा सन्धि भई किल्ला काँगडाको युद्धविराम भएपछि विसं १८७१ मा लमजुङ चारनाल र उँभोखोलासमेतका गुरूङ उमराहरूको सिर्तोबिर्ता हरण गरी सेर्मा लिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार