एक व्यावसायिक पत्रकारले जीवनकालमा के–के गर्न सक्लान् ? भन्नुहोला १६ घन्टासम्म निरन्तर काम गर्न सक्छन् । दुई सञ्चारमाध्यममा समय मिलाएर काम गर्लान् । त्यसबाहेक पनि ‘पार्टटाइम जब’ गर्न सक्छन् । त्यतिमात्रै सोच्नुभएको छ भने तपाईं गलत ।
लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार भीम राईले सुम्निमा सेकुवा एन्ड खाजा सेन्टर खोलेका छन् । फागुन ११ देखि सेवा दिनेगरी खुल्ने खाजा सेन्टरमा पहाडे कोदोको ढिँडो, पहेँली मकैको थेप्ला, सिस्नुको दाल, रैथाने कुखुराको सुपसहित विभिन्न किसिमका खाजा तथा जलपान गर्न पाइने प्रोप्राइटर राईले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
‘खोटाङबाट ल्याइने लोकल कोदोको झोलसम्म पाइनेछ,’ किरात राई पत्रकार संघ केन्द्रीय कार्यसमिति उपाध्यक्षसमेत रहेका राईले फेसबुकमा लेखेका छन्, ‘फागनु ११ गतेदेखि महाराजगन्ज चक्रपथबाट बसुन्धरा जाँदा पुलछेउमा चिरायु अस्पतालको अपोजिटमा म नियमित सेवामा खटिनेछु । यो व्यवसायमा मेरो दोस्रो अनुभव हो । पत्रकारिता जो छ, त्यो पनि निरन्तर रहनेछ ।’
पत्रकार राईले आफ्नो जन्ममितिसमेत उल्लेख गरेका छन् । ‘हरेक दस वर्ष मेरा लागि विशेष रहँदै आएको छ,’ उनको भनाइ छ, ‘२०३४ जन्म । ०४४ सालमा हुलाकी (भूमिगत पार्टीको), ०५४ मा एमाले छाडेर विद्रोह, ०६४ मा रूपाकोट सामुदायिक रेडियोमार्फत पूर्णकालीन रेडियोकर्मी र ०७४ बाट नयाँ व्यवसायी हुने कोसिस ।’
समयले अबको दस वर्षपछि केही नयाँ अवश्य हुँदो हो ।