सांसदको सक्रियतामा सडक सञ्चालनमा

खोटाङ । सांसद विशाल भट्टराईले जन्तेढुंगा गाउँपालिका–५ चिसापानीबजार र वराहपोखरी गाउँपालिका–५ पौवासेरा तथा उदयपुरको चौडण्डीको सिमानामा पर्ने सुनकोसीमा रहेको वंशिलाघाट जोड्ने सडक उद्घाटन गरेका छन् ।

 

सांसद भट्टराईले गत फागनु १५ गते सडक उद्घाटन गरेपछि २५ किलोमिटर दूरीको सडक चिसापानी वंशिलाघाट सडक सञ्चालनमा आएको हो । भट्टराईको पहलमा २०७१ मा छुट्ट्याइएको पाँच करोड बजेटबाट सडक निर्माण गरिएको थियो ।

 

मौवाबोटे, पौवासेरा र दिप्लुङका स्थानीयले ०६८ मा निर्माण गर्न सुरु गरेको सडकलाई पाँच करोड बजेटबाट पूर्णता दिइएको स्थानीय यातायात व्यवसायी निश्चल खड्काले बताए । ३० लाखको खर्चमा तीन किलोमिटर ट्र्याक खोलिए पनि बजेट अभावमा अलपत्र सडकलाई भट्टराईको पहलमा पूर्णता दिइएको हो ।

 

सडक बनेपछि जन्तेढुंगा, वराहपोखरी र खोटेहाङ गाउँपालिकाका स्थानीय हर्षित छन् । यसपटक सडकलाई वराहपोखरी गाउँपालिकाले छट्टयाइएको २० लाखले मर्मत गरेर सञ्चालनमा ल्याइएको वराहपोखरी गाउँपालिकाकी उपप्रमुख गोमा मगरले जानकारी दिइन् ।

चिसापानी–वंशिलाघाट सडक कालोपत्र गर्न सर्वे एवम् डिपिआरका काम समेत सुरु भइसकेको जनाइएको छ । उक्त सडक खण्डमा पर्ने सुनकोसीस्थित वंशिलाघाटमा पक्की पुल बनेपछि दक्षिणी क्षेत्रका स्थानीयलाई तराईका जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो मार्ग हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार