यसकारण उकालो चढ्न गाह्रो


उकालो बाटो हिँड्दा हामीलाई एकदम गाह्रो हुन्छ । स्वाँ–स्वाँ आउँछ । हामी थाक्छौं । तर, त्यहींबाट ओर्लंदा हामीलाई सजिलो लाग्छ । चाँडोचाँडो ओर्लन्छौं । जस्तो भर्याङ चढ्दा हामी छिटोछिटो चढ्न सक्दैनौं । तर, ओर्लंदा छिटोछिटो ओर्लन्छौं ।

पृथ्वीमा एकप्रकारको चुम्बकको जस्तो तान्ने शक्ति हुन्छ । यही शक्तिले गर्दा पृथ्वीको प्रत्येक चीजलाई आफूतिर तानिरहेको हुन्छ । पृथ्वीको यस्तो शक्तिलाई गुरुत्वाकर्षण भनिन्छ । पहाडबाट तलतिर ओर्लिंदा पृथ्वीको यही गुरुत्वाकर्षण बलले हामीलाई आफूतिर तानिरहने भएकाले पहाडबाट ओर्लन सजिलो लाग्छ ।

हाम्रो कम्मरमा डोरीले बाँधेर कुनै मान्छेले तान्यो भने त्यो मान्छेले तानेकोतिर जान हामीलाई सजिलो हुन्छ तर त्यसको ठीक उल्टो नतानेकोतिर जबर्जस्ती भाग्न खोज्यौं भने हामीलाई गाह्रो हुन्छ ।

यसैगरी, उकालो चढ्दा पृथ्वीले हामीलाई तानिरहेको बलको विपरीत बाहिर जान खोजिरहेको हुन्छौं । यसरी पृथ्वीको शक्तिले तानिरहेको दिशाको उल्टो चढ्दा हामीले बल गर्नुपर्ने हुन्छ । बल गर्दा खुट्टाको मासु दुख्न थाल्छ । सास पनि छिटोछिटो लिनुपर्ने हुन्छ । त्यसैले स्वाँ–स्वाँ हुन्छ ।

(बालविज्ञान प्रश्नोत्तरबाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार