खोटाङ र हलेसी क्षेत्र विकासका लागि सांसद भट्टराई चिन्तित

भूपेन्द्रकुमार राई

सांसद विशाल भट्टराईले समग्र खोटाङ र त्रिधार्मिक स्थल हलेसी क्षेत्र विकासका लागि आफू चिन्तित रहेको बताएका छन् ।

सांसद भट्टराईले होलेसुङ समूह संयोजक जनकराज राई, एमाले नेता खडेन्द्र राई, रमेश पौडेल र हलेसी विकास समिति निर्देशक सम्बर भुजेलसँगको भेटघाट कार्यक्रममा यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनेगरी केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गर्दै जिल्ला विकासमा लागिपर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

हलेसी–तुवाचुङ नगरपालिका प्रतिनिधिले सांसद भट्टराईलाई हलेसी क्षेत्रको समुन्नति, समृद्धिका साथै हलेसी क्षेत्रलाई धार्मिक सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विश्वमा परिचित गराउन आवश्यक रहेको सुझाएका थिए । उनीहरूले यस क्षेत्रको पूर्वाधार विकास, वृहत् हलेसी गुरुयोजना, जयराम–हलेसी सडक दुई लेनमा विस्तार, उदयपुरको लिम्चिङबुङ गाउँपालिका र हलेसी–तुवाचुङ नगरपालिका जोड्न सुनकोसीको बतासेघाटमा मोटरेबल पुल निर्माणका लागि जोड दिए । यसैगरी, धितुङ–रेग्मीटार जोड्ने सडक, हलेसी बजारमा खानेपानी व्यवस्था, होलेसुङ पार्क निर्माणबारे ध्यानाकर्षण गरिएको थियो ।

शिक्षा मन्त्रालयमा कार्यरत शाखा अधिकृत भूपेन्द्रकुमार राईले सुनकोसीको बतासेघाटमा मोटरेबल पुल निर्माण भए सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरवासीलाई तरार्ईसम्म जोड्न सहज हुने बताए । राईले बतासेघाटमा पुल निर्माणपछि एक नम्बरमात्रै नभएर दुई नम्बर प्रदेशवासीलाई सोलुखुम्बुसम्म आवतजावतमा सजिलो हुनुका साथै हिमाल, पहाड र तराई जोड्ने छोटो दूरीको सडक हुने सुझाए ।

तस्बिर सौजन्य : रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार