गोर्खाली गिरीको गतिलो गतिविधि

मनीष थापामगर

काँडेतारले घेरिएको क्षेत्रभित्र एउटा सुन्दर भवन । अनि भर्खरै तोतेबोली बोल्दै गरेका स–साना बालबालिका । चुकुल लगाइएको भवनभित्र उनीहरू आ–आफ्नै तालमा छन् । जोकोहीलाई भित्र पस्न मनाही गरिएको त्यस भवनमा पटक–पटकको आग्रहपछि एउटी महिलाले मुस्कानसहित ताला खोलिन् । बालबालिकाले एक स्वरमा नमस्कार गरे ।
इन्द्रेणी शिवालय बालविकास केन्द्र, दमेकको कक्षाकोठाको दृश्य हो । उक्त केन्द्रको बालबालिकालाई सिकाउने प्रक्रिया प्रभावकारी र रमाइलो लाग्छ । पढाइमात्रै होइन, सानै उमेरदेखि राम्रो अनुशासन पनि सिकाइन्छ । आपसमा राम्ररी मिलेर बस्ने गरेका बालबाललिकालाई अरूसँग झगडा नगरी मिलेर बस्नुपर्छ । ठूलो मान्छे बन्नुपर्छ भन्ने सिकाइएको छ ।
बालबालिकालाई आफ्नै गाउँमा गुणस्तरीय र व्यवस्थित शिक्षण प्रदान उद्देश्यले ब्रिटिस सेनामा कार्यरत् सार्जन गिरीबहादुर बहिकको पहलमा उक्त बालविकास केन्द्र स्थापना गरिएको हो । बहिकको पहलमा १४ लाख रुपैयाँ संकलनगरी उक्त केन्द्रको भवन निर्माण गरिएको हो । भवन निर्माणका लागि बहिकले पाँच लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए भने कालापातल गाउँबेसी, क्रेन ट्रस्ट र पहार ट्रस्ट नेपालले सहयोग गरेका हुन् । त्यस्तै, ह्यारी विन्डसर÷मारियन विन्डसर, क्याथरिन सर्ले÷आयन देभी, ट्रिक्स देभी÷कारोल देभीलगायतको पनि सहयोग रहेको बताइन्छ ।

केन्द्रमा भण्डार कोठाको साथै नुहाउने कोठा र शौचालयसमेत व्यवस्थित तरिकाले बनाइएको छ । पारिवारिक वातावरणमा सिकाइ हुने केन्द्रमा करिब दुई दर्जन बालबालिकालाई सिकाइन्छ ।
शिवालय विद्यालयका प्रधानध्यापक प्रेमबहादुर छन्त्याल उक्त केन्द्रको स्थापनाले बालबालिकालाई पढाउन महत्वपूर्ण सहयोग पुगेको बताउँछन् । केन्द्रमा आधारभूत शिक्षा पाएपछि विद्यालयमा भर्ना गरिने उनी बताउँछन् ।
केन्द्र निर्माण हुनुअघि बालबालिकालाई सिधै विद्यालय लगाइन्थ्यो । जसकारण स–साना बालबालिकालाई पढाउन समस्या हुन्थ्यो । केन्द्रलाई समुदायद्वारा सञ्चालन गरिएको छ । भवन निर्माण हुनुअघि केही समय बाललालिकालाई सामुदायिक भवनमा पढाउने गरिएकोमा आफ्नै सुविधासम्पन्न भवन निर्माण भएपछि पढाउन निकै सहज भएको केन्द्रकी सहजकर्ता खगी बहिक बताउँछिन् ।
मोटरबाटो नपुगेको उक्त गाउँमा केन्द्रको भवन बनाउन आवश्यक ढुंगा, गिटी, बालुवा, रड, कर्कटपाता आदि स्थानीयको सहयोगमा लगिएको थियो । ‘गाँउमा विद्यालय जान बालबालिकालाई धेरै समस्या थियो । भाइले गाँउमै बालविकास केन्द्र निर्माण गर्ने सल्लाह माग्यो । हामिले सजिलै स्वीकारी सहयोग गर्यौं,’ बहिकका दाइ गंगबहादुरले भने ।
अरूको भलाइका लागि काम गर्दा आनन्दको अनुभूति गर्ने मानिस कमै हुन्छन् । आफू विदेशी नोकरीमा भए पनि आफ्नो गाउँका लागि बहिकले गरेको योगदान वास्तवमै स्वागतयोग्य र सराहनीय भएको स्थानीय सुरेश पुनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार