‘बैठकमात्रै होइन, ठोस निष्कर्षको समाचार बन्नुपर्यो’


भक्तपुर जिल्ला साबिक गुन्डू गाविसको तिथलीमा पिता गोबद्र्धन र माता गणेशकुमारी रिसालका जेठा छोरा भैरव रिसाल ८९ वर्षको हुनुभयो । उमेरले डाँडा काटे पनि उहाँको जोश, जाँगर र स्मरणशक्ति कसैको भन्दा कम छैन । जीवनको उर्वर समय नेपाली पत्रकारितामा बिताउनुभएका रिसाल अझै पनि नेपाली समाजको उन्नति र विकासका लागि चिन्तनशील हुनुहुन्छ । संवत् १९८५ साउन २९ गते जन्मनुभएका रिसालले पत्रकारितामै लागेर आधा शताब्दी बिताउनुभयो । बिहान पाँच बजे उठ्ने, नुहाउने र रेडियो सुन्ने उहाँको पुरानो बानी अझै कायम छ । उहाँको पालामा अखबार दिउँसोतिर निस्कन्थे तर अचेल बिहान प्रकाशन हुने भएकाले उहाँ रेडियो पछि अखबारका पाना पल्टाउन थाल्नुहुन्छ ।
नेपाली पत्रकारिता भर्खरै बामे सर्न लाग्दा उहाँ २०१३ सालदेखि ‘हालखबर’ दैनिकबाट पत्रकारिता क्षेत्रमा लाग्नुभयो । रिपोर्टरबाट सेवा गर्दा उहाँको मासिक तबल एक सय रुपियाँ थियो । त्यहाँ चार वर्ष काम गरेपछि उहाँले आफ्नो सेवा परिर्वतन गरेर केन्द्रीय तथ्यांक कार्यालयमा २०१८ को राष्ट्रिय जनगणना र त्यसपछिको राष्ट्रिय कृषि गणनामा काम गर्नुभयो । त्यसपछि फेरि उहाँ पत्रकारितामै हामफाल्नुभयो । शंकर पन्त सम्पादक रहनुभएको ‘नेपाल समाचार’ दैनिकमा रिपोर्टरका साथै प्रुफसमेत हेर्नुपर्ने जिम्मेवारी उहाँको थियो । त्यसपछि माणिकलाल श्रेष्ठको सम्पादनमा प्रकाशित ‘समय’ दैनिकमा काम गर्दैगर्दा उहाँले राष्ट्रिय समाचार समितिको सेवामा फड्को मार्नुभयो । राससमा २१ वर्ष नौ महिना पत्रकारिता गर्नुभएका वरिष्ठ पत्रकार रिसाल त्यहाँ प्रमुख समाचारदाता त हुनुभयो नै सबै पत्रकारले सम्मान गर्ने व्यक्तित्वसमेत हुनुभयो ।
लामो समय रिपोर्टिङ गर्दा उहाँका दुःखका पोका धेरै छन् । उहाँ भन्नुहुन्छ, ‘‘नेपाल–भारतबीच द्विपक्षीय सहमतिका लागि विभिन्न विषयमा वार्ता हुँदा लामो समय कुर्नुपर्ने हुन्थ्यो । भारतले सुरुमा राम्रो कुरा गर्ने र पछि वार्ता बिग्रँदै जाने गरेको पाइन्छ । चीनसँगको वार्ता भने पहिला कठिन हुने तर पछि सरल हुँदै जाने भएकाले त्यति दुःख पाइँदैनथ्यो । भारतका प्रधानमन्त्री लालबहादुर शास्त्री कोसीको पश्चिम नहर शिलान्यास गर्न आउँदा त्यस्तै भएको थियो । शीतलनिवासमा भएको वार्ता सकिँदा झन्डै उज्यालो भएको थियो । त्यतिबेला सिञ्चाइ र जलविद्युत् सचिव लक्ष्मणप्रसाद रिमाल हुनुहुन्थ्यो । उहाँ वार्ता सकेर घर गई लुगा फेरेर सिधै नहर उद्घाटनका लागि जानुभएको थियो । यस्तो बेलामा रिपोर्टिङ गर्नु ज्यादै कठिन हुने गर्दथ्यो ।’’
कोसीको पश्चिम नहरको सम्झौता ९९ वर्ष गर्ने तय भएको थियो, टाइपराइटर चलाउने नेपाली पक्ष नहुँदा भारतीय पक्षले सम्झौता टाइप गरेको थियो । सहमतिमा ९९ वर्ष भनिए पनि काजगमा १९९ वर्ष टाइप भयो र त्यसमै हस्ताक्षर भयो । पछि सचिवको हातमा कागज आइपुग्दा मात्रै यो कुरो थाहा भएको थियो, रिसाल पुराना कुरा कोट्याउँदै सुनाउनुहुन्छ ।
बीपी कोइराला प्रधानमन्त्री हुँदा उहाँलाई राति साढे ११ बजे शपथ खुवाइएको थियो र रातको १२ बजे सिंहदरबारमा संसद्को बैठक बोलाइएको थियो । यस्तो समयमा रिपोर्टिङ गर्नु ज्यादै कष्टकर रहेको उहाँ थप्नुहुन्छ । कम्पोज गरेर पत्रिका निकाल्नुपर्ने भएकाले पत्रिका दिउँसोतिर निस्कने गरेको जानकारी उहाँ दिनुहुन्छ । विगत सम्झँदै उहाँ भन्नुहुन्छ, ‘‘त्यतिबेला पत्रकारिता नाफामुखी होइन, आस्थामुखी थियो, अहिलेजस्तो लेखेर अरूलाई अप्ठ्यारोमा पारेर खाने चलन थिएन, विनापुष्टि समाचार छापिँदैनथे । बीपी कोइराला स्याङ्जा जाँदा त्यहाँ मान्छे मर्यो । त्यो समाचार छापियो तर भोलिपल्टै सरकारको दबाबमा खण्डन गर्नुपर्यो, त्यो पनि स्रोत नै नखोली । त्यसको दुई÷तीन दिनपछि सरकार आफैंले फेरि स्वीकार गर्यो । यस्ता अनावश्यक दबाब झेल्नुपर्दा दिक्क लाग्थ्यो ।’’
अहिलेको पत्रकारिताबारे उहाँको भनाइ छ, ‘‘अहिले समाचार हल्लाका रूपमा पनि दिने गरिएको छ । पत्रकारमा गम्भीरता देखिँदैन । सुशील कोइरालाले तीन ठाउँबाट उम्मेदवारी दिएको समाचार सुनें तर पछि दुई ठाउँबाट मात्रै उम्मेदवार भएको पुष्टि भयो, यस्तो हल्का रूपमा लिन मिल्छ ? पत्रकारले भ्रम बाँड्ने खेती गर्ने होइन । सय रुपियाँको नोट साट्दा सय नै आउनुपर्छ, रिपोर्टिङ त त्यस्तो पो हुनुपर्छ । अहिले तालिम छ, पढाइ छ तर परिणाम सत्य छैन, यथार्थको नजिक हुँदैन ।’’
पत्रकारको जिम्मेवारी साँचो कुरा पस्किने हो, साँचो र सत्य कुरा दिनुपर्यो । नकारात्मक समाचार दिँदा दुई÷तीन ठाउँबाट पुष्टि गराएर समाचार लेख्नू भनेर अजग्रले सिकाएको अनुभव रिसालसँग अझै ताजै छ । एकपटक नेता सूर्यप्रसाद उपाध्याय भाइ हेरम्बप्रसाद उपाध्याय टेलिकम्युनिकेसनको हाकिम हुनुहुन्थ्यो । यात्राको क्रममा सिमभन्ज्याङमा दुर्घटनामा परी उहाँको निधन भयो । उहाँको शव वीर अस्पतालमा थियो, रिसाल रिपोर्टिङ गर्न पुग्नुभयो तर कसैले पनि मरेको हो भनेर बोल्न नमान्दा उहाँले तीन÷चार घन्टा पर्खनुपरेको थियो ।
राजतन्त्र उन्मूलन हुँदाको खबर सुन्दा उहाँ खुब खुसी हुनुभयो । कसलाई खुसी पोखुँजस्तो लागेछ । आफ्नो पक्षले चुनाव जित्दा दूध उम्लेजस्तै उहाँमा खुसी उम्लन्छ अरे । संविधानसभाले संविधान जारी नगरी विघटन हुँदा उहाँलाई सर्वश्व गएजस्तो भई निकै ठूलो पीडा अनुभव गरेको सुनाउनुभयो ।
नेपाली जनता राष्ट्रभक्त भएकाले देश सही दिशामा अगाडि बढ्ने विश्वास उहाँको छ । नेताहरूप्रति उहाँको विश्वास घट्दो छ । उहाँ भन्नुहुन्छ, ‘‘हाम्रो शीर्ष नेतृत्व कि योग्य छैन वा इमानदार छैन । यदि योग्य र इमानदार भएको भए यस्तो परिणाम आउने थिएन । नेतालाई सही ठाउँमा ल्याउन नसक्नु सञ्चारकर्मीको पनि कमजोरी हो । बैठक बसेको मात्र समाचार होइन, ठोस निष्कर्ष आएकोचाहिँ समाचार बन्नुपर्यो । ठोस निर्णय नभई समाचार नदिने हो भने हाम्रा नेता आफैं ठेगान लाग्छन् । छिनमै बोली फेर्ने नेतालाई घरपरिवार वा ससुरालीले पनि विश्वास गर्छन् जस्तो मलाई लाग्दैन ।’’
जे लेखे पनि हुने भएको छ । पत्रिकाको विश्वसनीयता पहिलाभन्दा अहिले ह्रास आएको उहाँको विचार छ । लेखेकै कारण उहाँ पटक–पटक पक्राउ पर्नुभयो तर ‘एसियाली मापदण्ड मन्त्रिमण्डलको ठगीखाने भाँडो’ शीर्षकमा ‘राजधानी’ साप्ताहिकमा लेख लेख्दा उहाँलाई राजकाज मुद्दा लाग्यो । १० महिना जेलसमेत पर्नुभयो ।

गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार