गणितमा कमजोर वैज्ञानिक माइकल फेराडेलाई सधैं पैसा अभाव


विश्वमा लाखौँ विद्युत् उत्पादन केन्द्र छन्, जहाँ जेनेरेटरद्वारा विद्युत् उत्पादन गर्ने गरिन्छ । जेनेरेटरविना विद्युत् उत्पादन कल्पना पनि गर्न सकिन्न । विद्युत् उत्पादनका लागि नभई नहुने यन्त्र (जेनेरेटर) उत्पादन आविष्कारको श्रेय माइकल फेराडेलाई जाने गर्छ । यसको आविष्कार गर्दा उनलाई केसम्म थाहा थिएन भने यो यन्त्र एक दिन यति धेरै उपयोगीसिद्ध हुनेछ अर्थात् विश्वविख्यात हुनेछ । आज विश्वमा विद्युत् उत्पादनको मुख्य आधार नै यही हो ।
फेराडेलाई विद्युत् चुम्बकीय प्रेरण इलेक्ट्रो म्याग्नेटिक इन्डक्सनको जन्मदाता भन्ने गरिन्छ । महान् वैज्ञानिक फेराडेको जन्म सन् १७९१ मा न्युविन्गटनमा लोहार परिवारमा भएको थियो । उनको बाल्यकाल सामान्य रूपमा बित्यो । बयस्क उमेर प्रवेश गर्दैगर्दा उनलाई सन् १८१२ मा सर हम्फरी डेबीको भाषण सुन्ने अवसर प्राप्त भयो, सोही भाषणका कारण उनको विज्ञानप्रति रुचि जाग्यो । उनले जिल्दसाजीमा सर हम्फरी डेबीकोे भाषण सुनेपछि आफ्नो विज्ञानसम्बन्धी केही रचना डेबीलाई पठाए । उनले लेखका साथै डेबीलाई कामका लागि प्रस्ताव पनि राखे । उनको प्रस्ताव डेबीले सहस्र स्वीकार गरे ।
सन् १९१३ मा उनले रोयल इन्स्टिच्युसनमा डेबीको सहायकका रूपमा काम सुरु गरे । उनले डेबीसँगै सम्पूर्ण युरोप भ्रमण गरे । युवा वैज्ञानिक फेराडेका निम्ति युरोप भ्रमण जीवनकै सबैभन्दा राम्रो अवसर बन्यो, जसबाट उनले धेरै अनुभव हासिल गरे ।
रोयल इन्स्टिच्युटको आर्थिक अवस्था राम्रो नभएका कारण युरोप यात्राबाट फर्केपछि फेराडेले धेरै मिहिनेत गर्नुपर्यो । अचम्म त के भइदियो भने उनी इन्स्टिच्युटको आम्दानीको मुख्य स्रोत नै बनेका थिए । यस अवधिमा फेराडेले काँच र इस्पातमा काम गरे । उनले डेबीका निम्ति कार्बनको क्लोराइड बनाए । यसै कार्यका आधारमा सन् १८२५ मा उनले बैन्जिनको आविष्कार गरेका थिए । बैन्जिनको आविष्कारपछि डेबीले इन्स्टिच्युट छोडे । यतिबेलासम्म फेराडे डेबीबाट धेरै प्रभावित भइसकेका थिए । फेराडेले डेबीका निम्ति अनेकौँ प्रयोग गरेका थिए ।
सन् १८२३ मा अत्यधिक चापद्वारा ग्यासलाई तरल अवस्थामा परिवर्तन गर्न सक्ने कुराको खोजी भयो । यसको खोजी कार्य फेराडेले नै गरेका थिए तर श्रेय भने डेबीलाई प्राप्त भयो । यसपछि फेराडे र डेबीबीच तीव्र मतभेद उत्पन्न भयो । मतभेद कहाँसम्म पुग्यो भने रोयल इन्स्टिच्युटमा फेराडेलाई फेलो चयन गरियो, डेबीले यसको घोर विरोध गरे ।
सन् १८२० मा हेन्स ओरेस्टेड ह्यान्स अरेस्टेडले कुनै तारमा विद्युत् धाराको प्रवाहबाट चुम्बकीय क्षेत्र उत्पन्न हुने तथ्य आविष्कार गरे । फेराडेले यो आविष्कारको विषयमा सुने । यसको उल्टो पनि सम्भव छ, अर्थात् चुम्बकीय क्षेत्रद्वारा विद्युत् उत्पादन सम्भव छ भन्ने तथ्यमाथि उनले विचार गरे । उनले आफ्नो यस विचारमाथि प्रयोग गर्न प्रारम्भ गरे । आफ्नो प्रयोगका आधारमा विद्युत् चुम्बकीय प्रेरणको आविष्कार गरेर त्यसको नियम प्रतिपादित गरे ।
उनले के पनि पत्ता लगाए भने तारको कुनै कुन्डलीमा यदि कुनै चुम्बकलाई प्रविष्ट गराइयो भने विद्युत्धारा उत्पन्न हुन्छ । त्यसैगरी, विद्युत् धारा प्रवाह गर्ने कुनै तारलाई कुनै चुम्बकको बीचमा राखियो भने त्यसले वृत्तकार रूपमा गति लिने गर्छ । उनले आफ्नो यो कुशल प्रयोग प्रदर्शन गरे जसबाट उनी सम्पूर्ण युरोपमा प्रसिद्ध भए ।
यिनै प्रयोगका आधारमा सन् १८३१ मा फेराडेले विद्युत् उत्पादन गर्ने डायनमा बनाए । त्यसै समयमा जोसेफ हेनरीले पनि डायनमा निर्माण गरेका थिए । आज हामीकहाँ रहेका डायनमा, जेनेरेटर र ट्रान्सफर्मर फेराडे र हेनरीका सिद्धान्तमाथि नै आधारित रहेर बनेका छन् ।
फेराडेले हामीलाई आफ्नो जीवनको एक रोचक घटना बताएका छन् । उनले विद्युत् चुम्बकीय प्रेरणको आविष्कार गरेपछि आफ्नो आविष्कारको विषयमा एक प्रयोग प्रस्तुत गरेका थिए । उनको यो प्रयोग हेर्नका लागि देश–विदेशबाट धेरै मानिस आएका थिए । यी दर्शकमध्ये एक महिला थिइन्, जो धेरै टाढाबाट दूधेबालक लिएर यो प्रयोग हेर्न आएकी थिइन् ।

फेराडेले आफ्नो प्रयोग सबैलाई देखाए । उनले तामाको तारको एउटा कुन्डली लिए, जसको दुवै टुप्पोलाई एक गैलवेनोमिटरसँग जोडे । कुन्डलीमा तीव्र गतिले छडले चुम्बकलाई प्रविष्ट गरे । चुम्बक प्रवेश गर्दा गैलवेनोमिटरको सुई हल्लियो अर्थात् चुम्बकको गतिले विद्युत् उत्पन्न भयो । जब उनले चुम्बकलाई कुन्डलीबाट बाहिर निकाले, त्यसबेला सुई विपरीत दिशातर्फ हल्लियो । फेराडेले हजारौं मानिसका बीचमा भने, ‘यो प्रविधिबाट हामी विद्युत् उत्पन्न गर्न सक्छौँ ।’
प्रयोग सकिने बेला तिनी महिला क्रोधित भइन्, फेराडेको नजिक आइन् । उनले भनिन्, ‘यो पनि कुनै प्रयोग हो ? के तिमीले मानिसलाई मूर्ख बनाउनका निम्ति बोलाएका थियौ ?’ फेराडेले नम्र स्वरमा भने, ‘म्याडम, तपाईंको बालक अहिले सानो छ, भोलि ठूलो हुनेछ । त्यस्तै मेरो प्रयोग पनि आज बालकका रूपमा रहेको छ । हुन सक्छ, ठूलो भएपछि यो प्रयोग महत्वपूर्ण साबित हुनेछ ।’
फेराडेका ती शब्द आज सत्य साबित भएका छन् । विश्वको कुनै पनि विद्युत्गृह र ट्रान्सफर्मर यस्तो छैन, जहाँ फेराडेको मूल सिद्धान्तविना काम होस् । यदि फेराडेले विद्युत् चुम्बकीय प्रेरण पत्ता नलगाएको भए आजसम्म विद्युत् प्राप्त हुने थिएन ।
केही वर्षको अन्तरालपछि विलयिनमार्फत विद्युत् धाराप्रवाह गर्दै फेराडेले सबै प्रकारका विद्युत् एकै किसिमका हुन्छन् भन्ने प्रमाणित गरे । यो प्रयोगका आधारमा सन् १८२४ मा उनले अपघटनका नियम प्रतिपादन गरेका थिए, जो आज पनि विश्वका सबैजसो स्कुलमा पढाउने गरिन्छ ।
सन् १८३९ मा फेराडेको मानसिक सन्तुलनमा खराबी देखियो । उनको उपचारमा चार वर्ष लगाइयो तर उपचारपछि पनि उनको मस्तिष्कले पूर्ण रूपमा काम गर्न सकेन । उपचारपछिका दिनमा उनी अचुबम्कीय पदार्थमा चुम्बकीय क्षेत्रको प्रभाव विषयमा अध्ययन गरिरहेका थिए । उनले पारामैगनेटिज्म र डायामैगनेटिज्मको आविष्कार गरे । फेराडे विज्ञानसम्बन्धी प्रवचन दिन मन पराउँथे । १८५० को वरिपरि उनको मानसिक अवस्था निकै कमजोर भइसकेको थियो ।
मस्तिष्कको उपचारपछि आफूले गर्न चाहेका काम पनि फेराडेले राम्ररी गर्न सकेनन् । सन् १८६१ मा फेराडेले रोयल इन्स्टिच्युटबाट अवकाश लिए र हेम्पटन कोर्ट गए, यो भवन उनलाई रानी भिक्टोरियाले प्रदान गरेकी थिइन् । उनको स्वास्थ्य दिनप्रतिदिन खराब हुँदै गइरहेको थियो । २५ अगस्ट १८६७ मा ७६ वर्षको उमेरमा महान् वैज्ञानिक फेराडेको मृत्यु भयो ।
फेराडे एक त्यस्ता महान् वैज्ञानिक थिए, जसले आफ्नो अनुसन्धानमा सिद्धान्त र प्रयोगबीच सामन्जस्यता कायम गर्दै अगाडि बढे । उनलाई आविष्कारका निम्ति उपकरण किन्न सधैँ पैसा अभाव झेल्नुपर्यो । उनी गणितमा पनि कमजोर थिए । फेरि पनि उनले यस्ता कैयौँ अनुसन्धानमूलक आविष्कार गरेका छन्, जसको आधुनिक विज्ञानमा ठूूलो महत्व रहेको छ । उनकै नामबाट दुई विद्युत् एकाइ आज पनि प्रयोग भइरहेका छन्, जसमा एउटा एकाइ फेराडे हो, जुन विद्युत् मात्रा माप गर्नका निम्ति प्रयोग गरिन्छ । अर्को एकाइ फेराड हो, जो कुनै संधारित्र क्यापासिटर क्षमता मापन गर्न प्रयोगमा आउने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार