दीपेन्द्र राई
समयमै औधषोचार नपाएर ज्यान गुमाउनुपरेको समाचार प्रकाशन/प्रसारण भइरहँदा सोलुखुम्बुका लुक्लावासीले भने ५० रुपियाँको टिकट काटेपछि निःशुल्क औषधोचार पाउँदै आएका छन् । ५० रुपियाँको टिकटसम्म काट्न नसक्ने बिरामीले भने निःशुल्क औषधोपचारमात्रै होइन, खान–बस्ने सुविधासमेत अस्पतालले नै बेहोर्दै आएको छ ।
२८०० मिटर उचाइमा चौंरीखर्क–८ लुक्लामा रहेको पासाङ ल्हामु निकोल निक्की अस्पतालमा सुत्केरी हुने महिलालाई त एक हजार पाँच सय रुपियाँसमेत अस्पतालले दिँदै आएको छ । दुई डाक्टर र केही स्टाफ नर्स रहेको २५ शय्याको सो अस्पतालमा प्रत्येक ६/६ महिनामा विदेशी स्वयम्सेवक डाक्टर आउने गर्छन् ।
अहिलेसम्म स्वदेशी तथा विदेशी गरी १५ हजारभन्दा बढी बिरामी लाभान्वित भएको अस्पतालकी सहायक प्रशासक पासाङ ल्हामु शेर्पाले बताइन् । सगरमाथा आरोहण गर्न जाने पर्यटक यही बाटो भएर आउने–जाने भएकाले पर्यटक पनि लाभान्वित भएका छन् ।
विसं २०६१ बाट सञ्चालित सो अस्पताल चार्म भ्रिग गाउँ स्वीट्जरल्यान्डकी पहिलो माउन्टेन गाइड निकोल निक्कीले स्थापना गरेकी हुन् । उनैले अस्पताल परिसरमा गुम्बासमेत बनाइदिएकी छन् । कारण खुलाउँदै निकोल निक्की फाउन्डेसनकी अध्यक्षसमेत रहेकी निकोल निक्कीले भनिन्, ‘यस भेगका अधिकांश बिरामी बौद्ध धर्मावलम्बी भएकाले उनीहरूको मृत्यु संस्कारमा धार्मिक विधि पु¥याएर शव राख्नका लागि गुम्बा बनाइदिएकी हुँ ।’
अस्पताल बन्नुअघि हेल्थपोस्ट मात्रै रहेको यहाँका गम्भीर प्रकृतिका बिरामी कि काठमाडौं वा दुई दिनको बाटो हिँडाएर जिल्लाकै फाप्लु अस्पताल लैजानुपर्ने सो अस्पतालका नेपाल प्रमुख पासाङकाजी शेर्पाले बताए । शेर्पाले भने, ‘ निकोल निक्की अस्पताल स्थापनापछि लुक्लाका भगवान् भएर पुजिएकी छन् ।’ सुविधासम्पन्न अस्पताल स्थापना भएपछिलुक्लाका गर्भवती महिलाका लागि निकोल वरदान साबित भएकी छन् ।
नेपालकी प्रथम महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा नेपालतिरबाट सगरमाथा चढिरहँदा सन् १९८६ मा निकोल तिब्बततिरबाट सगरमाथा चढ्दै थिइन् । पासाङ ल्हामु शेर्पाको सफल सगरमाथा आरोहण गरेर फर्कँदै गर्दा हिमपहिरोमा परी निधन भयो भने निकोलचाहिँ सगरमाथा आरोहण पूरा नगरी स्वीट्जरल्यान्ड फर्कनुपरेको थियो । पासाङ ल्हामु शेर्पाको लुक्लामा अस्पताल स्थापना गर्ने सपना अधुरै भए पनि शेर्पाको सपना स्वीट्जरल्यान्डकी निकोलले पूरा गरेकी हुन् छ ।