एमाले–माओवादी एकतापछि ‘सूर्य’ चिह्नमा समझदारी

प्रकाश सिलवाल

काठमाडौँ । पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्रबीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ ।
पार्टी एकता संयोजन समितिको मंगलबारको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका महासचिव एवम् संयोजन समिति सदस्य र्ईश्वर पोखरेलले जानकारी दिए । हाल एमालेको ‘सूर्य’ र माओवादी केन्द्रको ‘गोलाकारभित्र हँसिया हथौडा’ निर्वाचन चिह्न छन् ।

महासचिव पोखरेलले भन्नुभयो, “हामीबीच एकताका लागि ठूलो विवाद छैन, निर्वाचन चिह्न त विवादको विषय नै होइन, मिलिसक्यो । अन्य केही–केही विषयलाई फाइनल टच दिने काम दुई अध्यक्षले गर्नुहुनेछ र अर्को संयोजन समिति बैठकले निर्णय गर्नेछ ।”

दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदन बुझाएको थियो । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको गत चैत २३–२५ को भारत भ्रमणका कारण प्रतिवेदनमाथिको छलफलमा ढिलाइ भएकामा मंगलबार बसेको बैठकमा गम्भीर छलफल भएको दुवै दलका नेताले प्रतिक्रिया दिएका छन् ।

प्रतिवेदनहरूले आगामी वैशाख ९ गते एकता घोषणा गर्न दिएको सुझावलाई सकारात्मक रूपमा लिँदै त्यसको तयारी गर्ने भनी गत चैत २२ को संयोजन समिति बैठकमा निर्णय भएको थियो । यसबीच दुई दलका शीर्षनेताको बैठक नहुँदा उक्त मिति पर सर्ने शंका देखिएका बेला मंगलबारको बैठकमा मिति तय गर्न पनि दुई अध्यक्षको समझदारीपछि निर्णयमा पुग्ने सहमति भएको केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

संयोजन समिति बैठकलगत्तै अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा आपसी भेटवार्ता सुरु भएको छ । महासचिव पोखरेलले बुधबार विद्यार्थी भर्ना अभियानका लागि नेता र मन्त्रीहरू काठमाडौँ बाहिर जाने भएकाले वैशाख ६ गतेमात्रै औपचारिक तयारी हुने जानकारी दिए । उनले दुई अध्यक्ष तयारीमा लाग्ने भएकाले वैशाख ९ गते एकता घोषणा नहुने भन्ने अहिल्यै भन्न नसकिने बताए भने केन्द्रका नेता श्रेष्ठले सो दिन तयारी नपुग्ने देखिएको जनाए । दुवै कार्यदलले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन वैशाख ९ मा एकता गर्नु उपयुक्त हुने सुझाएका थिए । गत फागुन ७ मा पार्टीको नाम ‘नेकपा कम्युनिस्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद लेनिनवाद’ राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले कार्यदलमार्फत एकता प्रक्रिया थालेका हुन् ।

दुई दलबीच केन्द्रीय समितिमा रहने अनुपात ५०÷५० हुनुपर्ने माग माओवादी केन्द्रबाट आएको हो भन्ने प्रश्नमा महासचिव पोखरेलले त्यसरी छलफल नभएको जिकिर गर्दै भने, “पार्टी एकता हुने भइसकेपछि त्यस्तो विषय विवाद हुँदैन, व्यक्तिको योग्यता, क्षमता, पृष्ठभूमि र आवश्यकताका आधारमा जिम्मेवारी दिइन्छ, हामीले प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिक एवं राष्ट्रियसभा निर्वाचनको तालमेलका लागि पृथक्–पृथक् ढाँचामा उम्मेदवारी तय गरेको अभ्यास हामीसँग छ ।”

महासचिव पोखरेलले बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरेर एकतापछि एमाले र माओवादी केन्द्र नरही नयाँ दल बन्ने भएकाले ‘जनयुद्ध’ लाई हेर्नेजस्ता विवादमा नअल्झिई उन्नत चेतनासाथ अघि बढ्ने पनि स्पष्ट गरे । एमालेले एकता तयारीका लागि वैशाख ६ गते पोलिटव्युरो र ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार