धनकुटाबाट विस्थापित, काठमाडौंमा स्थापित

विद्या राई

पूर्वनिर्धारित सपना र योजना पूरा हुन्छन् भन्ने छैन । मान्छेको सपना त्यतिबेला परिवर्तन हुन्छ, जतिबेला उसले बाँचेको समाज, सम्बन्ध, संगत र समय बदलिन्छ । त्यस्तै भइदियो पत्रकार राजेश राईको जीवनमा । गाउँकै विद्यालयको प्रधानाध्यापक बन्ने सपना बोकेर उनी संवत् २०५९ मा भोजपुरदेखि धनकुटा झरे । प्रधानाध्यापक बन्ने सपनासहित धनकुटा झरेका राईले शिक्षकको लाइसेन्स हात पारे पनि अध्यापनका लागि कहिल्यै गाउँ फर्केनन् ।
धनकुटाको समाज, सम्बन्ध, संगत र समयले उनको सपना बदलियो । भोजपुरमा देखेको सपना धनकुटा पुगेर चटक्क भुलिदिए । र, बने पत्रकार । पुर्खाले नगरेको पेसा रोजे । अग्रजले नहिँडेको बाटो हिँड्ने कसम खाए । पत्रकारितामा न माथिबाट तान्ने कोही थिए न त तलबाट धकेल्ने नै । चारपाउ टेकेर हिँडिरहे । फलस्वरूप उनले लोभलाग्दो परिचय बनाए । नयाँपेज डटकमको कार्यालयमा भेटिएका उनले सम्झे, ‘मलाई धनकुटाले हेडमास्टर बनाएर भोजपुर फर्काएन, पत्रकार बनाएर काठमाडौं पठायो । समयसँगै मेरो सपना परिवर्तन भयो । बाटो र उज्यालो परिवर्तन भयो ।’
भोजपुर सदरमुकामदेखि १९ कोस उत्तर । साबिकको खाटम्मा गाविस (हाल : साल्पा–सिलिछो गाउँपालिका–४) भोजपुरको कर्णालीका रूपमा चिनिन्छ । भोजपुर सदरमुकामदेखि दुई दिन पैदल हिँडेपछि खाटम्मा पुगिन्छ । गाउँमा माध्यमिक विद्यलाय थिएन । सात कक्षादेखि छिमेकी गाविस दोभानेमा डेरा बसेर पढ्नुपर्ने बाध्यता थियो । उनले पनि त्यसै गरे । साता दिनका लागि तरकारी र चामल बोकेर पढ्न जानुपथ्र्यो । मुलुकमा गृहयुद्ध चलिरहेको थियो । उनी जहाँ पढ्थे, त्यो तत्कालीन व्रिदोही माओवादीको आधार इलाका थियो । यस्तो आधार इलाका जहाँ, पूर्वी कमान्डको कार्यालय नजिकै थियो । तर, त्यही अप्ठ्यारो समय र स्थानमा पनि एमालेनिकट अखिलको प्रारम्भिक कमिटी अध्यक्ष भए । बुवा र दाजु एमालेका नेता थिए । घरमा एमालेसम्बद्ध नाम चलेका नेताहरू आइरहन्थे । माक्र्सवादी दर्शन र प्रगतिशील पुस्तक पढ्ने अवसर विद्यालयतहमै पाए ।
एसएलसी पास गरेर ०५९ मा अखिलको परिचय र सम्बन्ध लिएर उनी उच्चशिक्षाका लागि धनकुटा झरे । धनकुटा बहुमुखी क्याम्पस शिक्षाशास्त्र संकायका लागि पूर्वकै चर्चित सरकारी क्याम्पस मानिन्थ्यो । धनकुटा पढ्न झर्दासम्म न उनको पत्रकार बन्ने सपना थियो, न त पत्रकार र पत्रकारिताबारे ज्ञान । धनकुटा झर्नासाथ उनी अखिलमा संगठित भइहाले । अखिलको शिक्षाशास्त्र संकाय आईएड प्रथम वर्ष प्रारम्भिक कमिटी अध्यक्ष भए । लेखनमा रुचि भएको थाहा पाएपछि उनलाई उनका अगुवा कमरेडहरूले भने, ‘भित्तेपत्रिकाको सम्पादक भएर काम गर्नुपर्यो ।’
रुचि छँदै थियो । नेताहरूले भनेपछि नमान्ने कुरै थिएन । एमालेनिकट भोजपुरे अखिलले निकाल्ने भोजपुरे साहित्यिक शुभेच्छुकको कोसेली मासिकमा आबद्ध भए । यसलाई छोटोमा भोजपुरे साशुको कोसेली भनिन्थ्यो । मासिक प्रकाशन हुँदै साहित्यिक पत्रिकाको सम्पादक भए । उनको नेतृत्वमा प्रकाशन सुरु भएको दुई अंकपछि राम्रो पढिन थाल्यो । यसले मूलतः विद्यार्थीलाई जगमाउने, तताउने खुराक हुन्थ्यो । उनीहरूको समूहले प्रकाशन गरेपछि भोजपुुरे साशुुको कोसेली भित्तेपत्रिका चर्चित बन्यो । उनीहरूको खोजिने टिम बन्यो । त्यहीबेला प्रगतिशील लेखनलाई केन्द्र बनाएर अखिलनिकट विद्यार्थीले ‘तेस्रो आवाज’ नामक साहित्यिक मासिक प्रकाशन गरिरहेको थियो । केही समयपछि त्यसको सम्पादन जिम्मेवारी आइलागे । उनी कार्यकारी सम्पादक भए । भोजपुरकै नीराजन बतास सम्पादक थिए । पत्रिकामा प्रगतिशील रचना छापिन्थे । तेस्रो आवाज विद्यार्थीमाझ लोकप्रिय थियो । प्रत्येक शैक्षिक संस्था तथा बाहिरी जिल्लामा समेत पाठकको संख्या बढेको थियो । पाठकले लेख–रचना हुलाकमार्फत पठाउँथे । तेस्रो आवाज मासिकसँग जोडिएका अनेक रोमाञ्चक अनुभूति उनीसँग छन् । भन्छन्, ‘तेस्रो आवाज मासिक प्रकाशन गर्दाका दिनहरू सम्झँदा हिजोआजसमेत रोमाञ्चित हुन्छु ।’
सानैदेखि सिर्जनशील उनी धनकुटामा पनि त्यस्तै जमात बन्यो । उनीहरूको जमात पढ्ने समूहमा चिनिन्थ्यो । विभिन्न संघ–संस्थामा आबद्ध भएर साहित्यिक र सामयिक विषयमा अन्तक्र्रिया चलाउँथे । आईएड प्रथम वर्ष पढ्दै गर्दा उनले ‘देशभक्त कलम’ कवितासंग्रह प्रकाशन गरे । धनकुटाका अनेकौं अभियान र आन्दोलनमा निरन्तर जोडिए । त्यहीक्रममा धनकुटा बहुमुखी क्याम्पस पूर्वक्याम्पसप्रमुख तथा इतिहासकार शिवकुमार श्रेष्ठसँग हिमचिम बढ्यो । श्रेष्ठले किराती मिथकको महत्वबारे बताउँथे । उनी प्रभावित भए । पूर्वका आठ/नौ जिल्ला घुमेर ०६२ मा ‘किराती’ लोककथा संकलन गरे ।
धनकुटामा कार्यक्रम थियो । इतिहासकार श्रेष्ठ र भाषाविद् प्रा.डा. नोवलकिशोर राई गफिइरहेका ठाउँ पुगे । उनलाई देखेपछि इतिहासकार श्रेष्ठले फ्याटै भने, ‘यी केटोले किराती लोककथा संकलन गरेका छन् । प्रकाशन गरिदिने कोही भएनन् ।’ श्रेष्ठको कुरा सुनेपछि प्रा.डा. राईले जवाफ दिए, ‘म आफैं प्रकाशन गरिदिन्छु ।’ उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो । लोककथा प्रकाशन भयो । व्यापक चर्चा पायो । किरात राई यायोक्खाले उनलाई विष्णु–छत्र राई कृतिबाट सम्मानित ग¥यो ।
लेख्न उत्साह जाग्यो । साहित्यिक पत्रिका निकाल्नेक्रम चलिरहेकै थियो । नयाँ आयाम कसरी पस्कने र पाठक तान्ने भन्नेमा उनी सचेत थिए । उनी र उनका साथीहरू साहित्यिक पत्रिका प्रकाशनमा स्थापित हुँदै गइरहेको बेला ‘मेन स्ट्रिम’ को मिडिया हाउसमा रिपोर्टिङ गर्ने पत्रकारले साहित्यिक पत्रिका निकाल्ने पत्रकार होइन भनिदिन्थे । मूलधारको तुलनामा पाठक दोब्बर बढी छ । प्रभाव गाउँगाउँ पुगेको छ । त्यसैले आफूलाई पत्रकार नै हो भन्ने दाबी गर्थे ।
धनकुटाकै जनविश्वास साप्ताहिकमा लेख लेख्न थालेका उनलाई द्वन्द्वकालमा खुलेर लेख्न सक्ने स्वतन्त्रता थिएन । राजतन्त्रविरोधी लेख ‘सिलिचुङ’ उपनाममा छापिन्थे । त्यसो हुँदा राज्य र विद्रोही पक्षले सोझै दुःख दिन सक्दैनथे । ‘सिलिचुङ’ उपनाममा लेखिएका लेख त्यतिबेला चर्चित थियो । समाचारका लागि प्रहरीकहाँ पुगेका बेला सिलिचुङ नाम गरेको लेखक को रहेछन् भनेर सोधिखोजी गर्थे ।
साहित्यकार झमक घिमिरेसँगको सहकार्यमा राजतन्त्रविरोधी आन्दोलनस्वरूप शिखा साहित्यिक अभियान चलाए । उनका पाठक, प्रशंसक उत्तिकै थिए । बढ्दै थिए । उनको लेखनलाई अग्रज लेखकले नजिकबाट नियाल्दै थिए ।
धनकुटाबाट प्रकाशित जनविश्वास साप्ताहिक प्रधानसम्पादक सञ्जयसन्तोषी राईले ‘साह्रो राम्रो लेख्नुहुन्छ, जनविश्वासमा काम गरौं’ भनेर अनुरोध गरे । साहित्यिक पत्रिकामा जम्दै गरेका उनले समाचार सामग्री प्रकाशन गर्ने साप्ताहिकबाट पाएको अनुरोधात्मक अवसर सहर्ष स्वीकारे । पत्रकारितासम्बन्धी ज्ञान नभए पनि उनलाई जनविश्वासमा सुरुमै सहसम्पादक बनाइयो ।
प्रेस चौतारी धनकुटा अध्यक्ष सिद्धराज राईले विद्यार्थी नेता होइन, पत्रकारको नेता बन्नुपर्छ भनेर उक्साए । त्यतिबेला प्रेस चौतारी जिल्ला अधिवेशन हुँदै थियो । सिद्धराज पुनः अध्यक्ष भए, उनी सचिव । राम्रो लेखनशैली, सीप भएका पत्रकारभित्र गनिने भएकाले उनलाई आफ्नो बनाउन केही न केही बहाना बनाएर उक्साउने थुप्रै थिए ।
धनकुटामा रहेर किरात राई पत्रकार संघको सांगठानिक रूपमा स्थापना गर्ने श्रेय पनि उनैलाई जान्छ । धनकुटामा रेडियो मकालु प्रसारण सुरु भयो । तीन/चार महिना तालिम लिनेले मात्रै काम पाउँथे । तर, उनलाई रेडियो व्यवस्थापन समूहले सुरुमै समाचार सम्पादक बनायो । तालिम नै नगरी समाचार पढेको, सम्पादन गर्दा उनलाई कत्ति पनि अप्ठ्यारो लागेन ।
पत्रकार र पत्रकारितामा अहिले पनि पारिश्रमिककै विषयमा ठुल्ठूला बहस चल्छन् । धनकुटाकेन्द्रित भएर काम गरेका उनलाई समाचार लेखेर पाएको पारिश्रमिकले एक÷एकथान डेस्कटप र डिजिटल क्यामेरा किन्दा जीवनभरिकै खुसी मिलेको थियो । समाचार लेखेर डिजिटल क्यामेरा किन्ने पत्रकार त्यतिबेला धनकुटामा उनीमात्रै थिए ।
पत्रकार राजेश राई नयाँ पत्रिका दैनिकको स्थापनाकालदेखि संवाददाता थिए । धनकुटाका सञ्चारमाध्यममा काम गर्दै गरेका उनको अनुभव राजधानीसम्म फैलने अवसर पायो । ती दिनहरूलाई विद्यार्थी राजनीतिबाट सुरु गरेको लेखनकार्यको दायरा फराकिलो बन्दै गएको अनुभूति गर्छन् । काम गर्न नपाइने भए पनि धनकुटाबाट राष्ट्रिय समाचार समितिका लागि समाचार पठाउँथे । राजधानीमा रहेका रेडियो, टेलिभिजनमा काम गर्थे । तीन÷चार महिनाको अन्तरमा राजधानी पस्दा एक लाख हाराहारी पारिश्रमिक लिएर धनकुटा फर्कन्थे ।
द्वन्द्वकालमा समाचार लेख्ने काम चुनौतीपूर्ण थियो । राज्य र विद्रोही पक्षको निशानामा परे पनि रिपोर्टिङ गर्न हिम्मत कस्नेमध्येका उनी एक थिए । इन्टरनेट सुविधा धेरै पछि मात्रै आएको थियो । सुरुमा फ्याक्सबाटै समाचार सम्प्रेषण गर्थे । निकै पछि धनकुटाको बीचबजारमा साइबर खुल्यो । कोठामा टाइप गरेर साइबरमा लाइन लागेर समाचार पठाउँथे । समाचार लेखनका सुरुका दिनमा बाइलाइन छाप्दाको खुसी अहिले पनि ताजै छ । अहिलेका पीडित पत्रकारलाई उनी सुझाउँछन्, ‘आफूले जे काम गरिरहेका छौ, त्यसबाट भरपूर रमाइलो लिन सक्नुपर्छ ।’
नयाँ पत्रिका दैनिकमा छापिएको समाचारलाई लिएर उनलाई मार्ने धम्की दिइयो । यो ०६३ को कुरा हो । ‘धम्की दिने समूहले निरन्तर खोज्न थालेपछि धनकुटा बस्न सकिनँ,’ उनले थपे, ‘धनकुटाबाट विस्थापित भएँ ।’ मेरा लागि काठमाडौं नयाँ ठाउँ थियो । भूगोल नयाँ । सम्बन्ध र विषय नयाँ । एकैचोटि काठमाडौंमा काम गर्नु उनका लागि चुनौतीपूर्ण थियो । उनी नयाँ पत्रिकामै ससर्त आबद्ध भए । १२ हजार मासिक तलब तोक्दै सम्पादकले भने, ‘तपाईंको परीक्षणकाल एक महिनाको हुनेछ । राम्रो गर्नुभयो भने तलब पनि बढ्छ । राम्रो गर्न सक्नु भएन भने बिदा पनि हुन सक्नुहुन्छ ।’
सम्पादकको सर्तले उनलाई राम्ररी निदाउन दिएन । सुरुमा मनोरञ्जनसम्बन्धी रिपोर्टिङ गर्न लगाइयो । उनका लागि त्यो बिट फापेन । ‘मनोरञ्जन बिटमा काम गर्ने रंगपत्रकारको आफ्नै सिन्डिकेट थियो,’ उनको भनाइ थियो, ‘समाचार किनबेच हुन्थ्यो । जिल्लाबाट आएको नयाँ मान्छे, उनलाई थाहा पत्तो थिएन ।’ सुरु–सुरुमा उनले लेखेका समाचार छापिएनन् । उनले सम्पादकसँग बिन्ती बिसाए, ‘लेखेको समाचार छापिँदैन । मलाई अर्को बिट दिनुहोस् ।’ त्यसपछि उनले फिचरमा जिम्मा पाए । फिचर डेस्कको हाकिम नारायण अमृत थिए । विनोदविक्रम केसी, संगीत श्रोता, दीपक सापकोटालगायतका काबिल लेखक फिचरमै काम गर्थे । सम्पादकको सर्त सम्झँदै उनले दिनरात काम गरे । सुरुका दिनमा दैनिक दुई/तीन फिचर छापिन्थे । दिनभरि समाचार खोज्ने, रातभरि लेख्ने र बिहान डेस्कलाई बुझाउँथे । बिस्तारै नयाँ पत्रिकामा जमे । फिचरबाट जिल्ला व्युरो प्रमुख भए । पछि फिचरकै जिम्मेवारी सम्हाले ।
०६९ मा नयाँ पत्रिका छोडेर सौर्य दैनिक पुगे । सौर्यमा तीन/चार महिनापछि तलबकै समस्या भयो । उनीसँगैको टोलीले सौर्य छाड्यो । सबै साथी नयाँ पत्रिकामै फर्के । तर, उनी फर्केनन् । पे्रस चौतारी बुटवल महाधिवेशनबाट केन्द्रीय सदस्य र विराटनगर महाधिवेशनबाट सचिव भइसकेका थिए । ०६६/०६७ मा किरात राई पत्रकार संघ महासचिव भए । संगठनका जिम्मेवारी लिएपछि जागिर छाडेर आफैं मिडिया चलाउने निचोडमा पुगे । र सुरु गरे, नयाँपेज डटकम । उनले नयाँपेज डटकम सुरु गर्दैगर्दा अनलाइन मिडिया कमै थिए । कर्पोरेट हाउसका अनलाइन संस्करणबाहेक अनलाइन खबर, रातोपाटी र सेतोपाटीको मात्रै नाम चलेको थियो ।
नयाँ पत्रिका दैनिकमा सिकेका सीप अनलाइनमा प्रयोग गरे । उनले फिचर र डिजाइनमा नयाँपन दिए । अनलाइनमा स्टोरी डिजाइन गरेर हाल्ने प्रयोग पहिलोपटक उनले गरे । त्यही फरकपनको कारण एलेक्साअनुसार तीन महिनामा नेपालको टप टेन अनलाइनमा पर्न सफल भयो । तर, संगठनको दौडधुपका कारण उनले त्यो गतिलाई निरन्तरता दिन सकेनन् । सुरुको गतिलाई विविध कारणले निरन्तता दिन नसकेको उनी स्वीकार्छन् । त्यसो त अहिले पनि नयाँपेज डटकम नेपालको पढिने अनलाइनमध्येमै पर्छ ।
नयाँ पत्रिका दैनिकमा उनले ब्रिटिस गोर्खाबारे लामो फिचर लेखे । फिचर पढेर गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) सभापति पदमबहादुर गुरुङ प्रभावित भए । कवि श्यामल र लेखक झलक सुवेदीले गेसोको पुरानो पत्रिका गोर्खा सैनिक आवाज मासिकमा काम गर्न सिफारिस गरे । सुरुमा पत्रकार सीताराम बराल र उनलाई जिम्मा दिइयो । एक अंकपछि बराल बाहिरिए । उनले भने निरन्तता दिए । सात वर्ष सम्पादक भएर ६० पेजको गोर्खा सैनिक आवाज सम्पादन गरे ।
गोर्खा सैनिक आवाजको पाठकमात्रै होइन, ग्राहकसमेत निश्चित थिए । कुनै बेला एकै महिनामा १० हजार अंक छापेको प्रसंग कोट्याउँदा उनी रोमाञ्चित हुन्छन् । गोर्खा सैनिक आवाज निकाल्नेक्रममा उनले गोर्खाबारे गहिरो अध्ययन गरे । गोर्खाजसँग जीवन्त सम्बन्ध भयो । ब्रिटिस गोर्खाबारे गहिरो ज्ञान आर्जन गरे । त्यसकैको बलमा ब्रिटिस गोर्खाको विषय समेटिएको पुस्तक तयार पारेका छन् । उमेरले पाका नभए पनि उनले हिँडेको बाटो र देखाएको उज्यालो सबैका लागि प्रेरणादायी छ । दुःखजेलो गरेर अध्ययन, पेसा र सांगठनिक जीवन एकसाथ अघि बढाएका छन् । उनको सक्रियता ईष्र्यालाग्दो छ । उनले समाजशास्त्र र आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । मूलधारका अनलाइनसँग प्रतिस्पर्धामा उत्रिएर अनलाइन पोर्टल चलाएका छन् ।
प्रेस चौतारी नेपाल केन्द्रीय महासचिवको जिम्मेवारी सम्हाल्ने शम्भु श्रेष्ठपछि प्रेस चौतारी नेपालको कार्यकारी भूमिकामा पुग्ने उनी दोस्रो आदिवासी जनजाति समुदायका नेता हुन् । कतिपयको नेतृत्वमा पुगेर पनि भूमिका कमजोर हुन्छ । तर, प्रेस चौतारीमा उनको भूमिका हस्तक्षेपकारी रहेको उनकै सहकर्मीहरू बताउँछन् । नीति निर्माणदेखि संगठन निर्माणसम्म उनको गहिरो प्रभाव छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार