धेरैको व्यवसाय डामाडोल पार्ने पत्रकार


तीन वर्ष (२०६८ देखि ०७१) सम्म लोकमणि राईले ३० भन्दा बढी खोजी तथा गहन समाचार लेखे । तिनै समाचारका कारण उनले व्यावसायिक पत्रकारले पाउने ठूला पुरस्कार र सम्मान पाउन सफल भए ।
राईले सिम्पानी माध्यमिक विद्यालय खोटाङबाट ०५६ मा एसएलसीसम्मको अध्ययन पार लगाए । दैनिक दुई घन्टा हिँडेर विद्यालय धाउने उनले प्रथम श्रेणीमा एसएलसी पास गरे । एसएलसीपछि अपवादबाहेक उनका सबै साथी वैदेशिक रोजगारीमा मध्यपूर्व खाडी मुलुक र मलेसिया हान्निए । उनीचाहिँ केही जोर कपडा र केही सय रुपैयाँ बोकेर उच्च शिक्षाका लागि काठमाडौं पसे । उनी आमसञ्चारका धेरै विद्यार्थीका लागि आदर्श बनेका छन् ।
‘आज खोजी पत्रकारिताको कक्षामा सरले तपाईंको समाचार पढाउनुभयो’ भन्दै चिन्दै नचिनेका कलेजस्तरीय विद्यार्थीले फोन गरेर तारिफ गर्दा र भेट्दा उनलाई ज्यादै आनन्द लाग्छ । उनलाई विद्यार्थीभन्दा धेरै सर्वसाधारणले भेट्छन् ।
राई वृहत्तर सामाजिक हितका लागि काम गर्ने पत्रकार हुन् । उनले सार्वजनिक हितमा असर नगेरसम्म व्यक्तिकेन्द्रित समाचार कहिल्यै बनाएनन् । समाचार बनाउनुपरे पनि उनले व्यक्तिविरुद्ध कहिल्यै लेखेनन् । बरु प्रवृत्तिविरुद्ध लेखे । उनको १० लाखभन्दा बढी मान्छेलाई ठगेको अवैध नेटवर्क मार्केटिङ व्यापारीसम्बन्धी समाचार होस् या दूधमा अक्सिटोसिन हर्मोनको प्रयोगसम्बन्धी समाचार होस्, अथवा तरकारी बजारका बिचौलियासम्बन्धी समाचार नै किन नहोस्, सबै सार्वजनिक हितमा केन्द्रित छन् । उनी व्यक्तिभन्दा प्रणाली रूपान्तरणका लागि लेख्छन् ।
तिनै समाचारका कारण उनले आर्थिक पत्रकारले पाउने सबैभन्दा प्रतिष्ठित पुरस्कार सेजन अवार्र्ड प्रधानमन्त्रीको हातबाट दुई–दुईपटक (०६९ र ०७० मा) पाए । पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै कान्तिपुर मिडिया ग्रुपले पनि उनलाई त्यतिबेला एक्ट्राअर्डिनेरी पर्फमेन्स अवार्डले सम्मान गर्यो । लोकमणि राई ऊर्जा क्षेत्रका जानकार आर्थिक पत्रकार हुन् । त्यही क्षेत्रमा खोजी समाचार लेखेबापत बेलायत सकारले नेपालमा सञ्चालन गरेको खोजी पत्रकारिता प्रतिस्पर्धामा उनले जितेपछि बेलायतको सिटी युनिभर्सिटीमा खोजी पत्रकारिता प्रशिक्षण लिने मौका पाए ।
अंग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा पत्रकारितामा स्नातक राईको जटिल विषयलाई सरल तरिकाले प्रस्तुत गर्न सक्नु खुबी हो । सिद्धान्त र विधि विश्वविद्यालयमा सिकाइन्छ, जुन राईले पनि पढे । तर, खोजी पत्रकारिता प्रशिक्षकका रूपमा राई कौशल कसरी विकास गर्ने भन्ने व्यावहारिक पाटो सिकाउँछन् । उनी कुन खोजी समाचारको योजना कसरी बनाउने, कुन विधि कहाँ र कसरी प्रयोग गर्ने, प्रमाण जुटाउन कसलाई कसरी विश्वासमा लिने, घटनास्थल र परिस्थितिलाई कसरी प्रमाणका रूपमा प्रभावकारी ढंगले ‘डकुमेन्टेसन’ गर्ने भन्ने विषयमा प्रशिक्षण दिन्छन् ।
नेपालमा धेरै पत्रकार मारिएका छन् । पिटिएकामात्रै छैनन्, लखेटिएका पनि छन् । खोजी पत्रकारिता गरेर धेरैको व्यवसाय डामाडोल पारिदिएका राईले भने कसैबाट धम्कीसमेत पाएनन् । उनले मारिएका, पिटिएका र धम्की पाएका पत्रकारबारे अध्ययन गरे । उनी भन्छन्, ‘अधिकांश पत्रकार कुनै न कुनै पार्टीका कार्यकर्ताका रूपमा नियतवश लेखिरहेका थिए । कार्यकर्ता नभए पनि कसैविरुद्ध नियतवश लेखेर आफ्नो स्वार्थ पूरा गरिहेका थिए ।’
राईले कहिल्यै त्यस्तो गरेनन् । उनले समाचार छाप्नुपूूर्व दोषीलाई दोष स्वीकार्न लगाएका छन् । कुन परिस्थितिमा कहाँनेर कमजोरी भयो भनेर कुरा राख्ने मौका दिएका छन् । त्यही भएर समाचारका कारण रातारात भाग्नुपरेका र सजाय भोगेर जेलबाट निस्केकासँग पनि उनको सम्बन्ध व्यावसायिक रूपमा यथावत् छ । पत्रकारका रूपमा उपलब्ध हुने सम्पर्क, सूत्र दुरुपयोग गर्ने, समस्यामा परे उनीहरूसँग पैसा सापटी माग्ने, बेलाबेला सुखद सप्ताहन्तको आस गर्ने र कुनै कारण चित्त नबुझे उसैविरुद्ध लेखिदिने प्रवृत्तिले पत्रकार पिटिने, मारिने उनको बुझाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार