वर्ष दिन विनापारिश्रमिक काम गर्ने गोरखापत्रको सहसम्पादक

असल चरित्र

‘पत्रकार भइएला वा भइन्छ भन्ने जीवनमा कहिल्यै सोचिएको थिएन,’ कुराकानी गर्नुको उद्देश्यबारे जानकारी गराएपछि आनाकानी गर्दै सुरुवातमै भने, ‘तर, हामीजस्ता अधिकांशको जीवनमा यस्तै हुन्छ कि के हुने भन्ने कुराको निर्धारण आफूले रोजेअनुसार होइन, परिस्थितिले निर्माण गरेअनुसार हुन्छ । म त्यही परिस्थितिवश बनेको पत्रकार हुँ । अहिले नै त्यस्तो सुनाउन र लेख्नलायक के होला र ?’
किरात राई पत्रकार संघ संस्थापक सदस्य हुँदै दोस्रो अधिवेशनबाट संघको अध्यक्षसमेत बनेका राजेश चाम्लिङ राईले आफ्नो पत्रकारिता यात्राबारे व्याख्या गर्दै यसरी बताए कि जहाँबाट पसेर हामीले जीवनको एउटा नयाँ पाठ पढ्न सक्छौं । विशेषतः त्यस्ता मानिस जसले भविष्यमा आफू के बन्ने भनेर सोच्ने मौकै पाउँदैनन् वा पाए पनि लक्ष्य पुग्ने स्रोत–साधन भेटाउँदैनन् । चाम्लिङ त्यस्तै आमनेपालीमध्ये एक प्रतिनिधि पात्र हुन् ।
नेपालको कुल जनसंख्याको करिब २.५ प्रतिशत हिस्सा ओगट्ने किराती राई समुदायबाट सयौंको संख्यामा पत्रकार उत्पादन भएका छन् । देशमा आदिवासी जनजातिको जनसंख्याले करिब ३७ प्रतिशत हिस्सा ओगटे पनि राज्यका विभिन्न निकायमा झैं पत्रकारितामा पनि उनीहरूको प्रभावशाली उपस्थिति कमै छ । पछिल्लो दशक नेपाली राजनीतिमा आएको हलचलसँगै पत्रकारितामा पनि जनजातिको उपस्थिति बढ्दै गएको छ । चाम्लिङ तिनै पछिल्लो पुस्ताका एक प्रभावशाली पत्रकारमध्येका एक हुन् ।
बाल्यकालको राजनीतिक माहोल
चाम्लिङको जन्म साबिक बुइपा गाउँ विकास समिति–४ खोटाङमा भएको हो । उनले २०३९ मा धर्तीमा पाइला टेक्दै गर्दा देशमा पञ्चायती व्यवस्थाले अन्तिम सास फेर्दै थियो । बहुदल र निर्दलबारे राजनीतिक छलफल चलिरहने परिवारमा उनको जन्म भएको थियो । ‘मेरो घर गाउँको बीचमा थियो । सायद त्यसैले पनि होला, प्रायः मानिस हाम्रोमा भेला भइरहन्थे । अनि राजनीतिक गफगाफ चलिरहन्थ्यो,’ उनी सम्झन्छन्, ‘ती गफ कुन समयमा भएका हुन् पत्तो छैन । तर, म यस्तो कुरा चाख मानीमानी सुन्थें ।’
गफ गर्नेहरू काँग्रेसलाई गाली गर्थे । कलियो उमेरका ती सम्झना स्मरण गर्दै चाम्लिङ भन्छन्, ‘सुरुमा मलाई काँग्रेसको विरोध गरेको सुन्दा रिस उठ्थ्यो । किनकि काँग्रेस र कम्युनिस्ट भन्ने के हो मलाई थाहै थिएन । पार्टी भनेकै काँग्रेस हो भन्ने सुनेको थिएँ । पछि कुरा गर्नेले विभिन्न तर्क गर्दै गरिबका लागि कम्युनिस्ट ठीक हो भन्ने पुष्टि गरेपछि कम्युनिस्ट पो राम्रो रै’छ भन्ने लाग्यो ।’
विविध राजनीतिक माहोलमा हुर्किंदै जाँदा उनमा नेतृत्वात्मक मानसिकता विकसित भयो । साइँला काका परशुराम राईको ‘गाइडलाइन’ पाएर १२ वर्षदेखि त उनले संगठित रूपमा राजनीतिमै प्रवेश गरे । विद्यार्थी संगठनको जिल्ला सहसचिवसम्म बने ।
गाउँका बिहे, भोजभतेर वा हरेक सामाजिक काममा उनी अग्रस्थानमा रहेर सरिक हुन्थे । गाउँमा रहेको सांस्कृतिक कार्यक्रममा उमेरले आफूभन्दा पाकाको नेतृत्व गर्दै अघि बढे । फलतः गाउँका अधिकांशले उनलाई सम्मान गर्थे । स्थानीयस्तरमा हुने कविता, हाजिरीजवाफलगायत अन्य विविध खेलकुद प्रतियोगितामा उनी नेतृत्व गर्न पुग्थे । भन्छन््, ‘यही पृष्ठभूमिका कारण पत्रकारिता अध्ययनका लागि मलाई उचित ठानियो । किनकि मेरो आफ्नै चाहना भने पत्रकार बन्ने थिएन ।’
अचानकको पत्रकारिता यात्रा
चाम्लिङ विगत एक दशकयता मूलधारको पत्रकारितामा क्रियाशील छन् । ०६५ मा गोरखापत्र दैनिकमा छैटौँ तहको समाचारदातामा सेवाप्रवेश गरेका उनी अहिले आठौँ तहका सहसम्पादक बनेका छन् । ०७४ भदौमा भएको नेपाल पत्रकार महासंघको २५औं अधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को निवर्तमान संस्थागत सचिव हुन् भने प्रेस सेन्टर नेपालको सचिव छन् ।
त्रिभुवन विश्वविद्यालयबाट ०६८ मा पत्रकारितामा स्नातकोत्तर गरेका उनको काठमाडांै प्रवेश र पत्रकारिता यात्रा संयोगमात्रै थियो । ‘गाउँको एक गरिब परिवारमा हुर्किएको मजस्तो मानिस काठमाडौं बसेर पढ्ने साहस गर्दैनथे,’ राजधानीमा चिनिने पत्रकारमध्ये एक उनले भने, ‘म पनि काठमाडौं बसेर पढ्छु भनेर यता आएको होइन । काठमाडौं बसाइ र पत्रकारिता अध्ययन दवै संयोगले नै भयो ।’
एसएलसी पढाइ सकेपछि जागिर खान भन्दै गाउँ छाडेका उनको मामा सिन्धुपाल्चोकको चौतारामा एक बोर्डिङ स्कुलका शिक्षक थिए । गाउँमा आउँदा मामाले एसएलसी पास गर्नासाथ जागिर त ‘त्यसै लगाइदिन्छु’ भन्थे । मामाको यही भनाइ आत्मसात् गर्दै एसएलसी सकेर जागिर खाँदै पढ्ने सोचसाथ सिन्धुपाल्चोक पुगे । चौतारा पुग्दा मामाले वर्णन गरेजस्तो स्थिति थिएन । उनले जागिर पाउनु त परै जाओस्, मामासँग बस्ने स्थिति पनि पाएनन् । उनी काठमाडौं फर्केर रत्नराज्य लक्ष्मी क्याम्पस भर्ना भए ।
क्याम्पसमा पत्रारिता पढाइ पनि उनले आफैं रोजेका होइनन् । ‘त्यसबेला कुन विषय पढेपछि के हुन्छ भन्ने खासै थाहा थिएन । म खासमा मानविकी भन्नेचाहिँ पढ्दै पढ्दिनँ बरु शिक्षा संकाय पढेर शिक्षाविद् बन्छु वा कमर्स पढ्छु भन्ने थियो,’ उनले क्याम्पस भर्ना गर्दाको स्मरण गर्दै भने, ‘तर, गणितमा कमजोर थिएँ । मामाले गणितमा कमजोर मान्छेले कमर्स नपढ्नु भन्नुभयो । अनि के पढ्ने त भन्दा यो मानविकीअन्तर्गत अंग्रेजी र पत्रकारिता लिनू । पत्रकारिता पढेपछि आइए सकिनासाथ पत्रिकामा यता लेख्दा पनि हुन्छ, उता लेख्दा पनि हुन्छ । जागिर पाइहालिन्छ । कस्तो ट्यालेन्ट पनि भइन्छ भन्नुभयो ।’
भर्ना फाराम भर्दासम्म पनि उनमा पत्रकारिता पढ्ने इच्छा थिएन । अंग्रेजी त झन् उनी हेर्नै चाहँदैनथे । बरु साहित्यमा रुचि भएकाले नेपाली साहित्य र अर्थशास्त्र पढ्ने चाहना थियो । तर, फाराम भर्न गएको बेला पनि त्यस्तै रमाइलो भयो । क्याम्पसमा फाराम भर्न गएको बेला गाउँकै दाइ सुरेश राई भेटिए । सुरेश उनले विद्यार्थी संगठनमा काम गर्दा साह्रै ट्यालेन्ट नेता भनेर प्रचारित र सम्मानित उनकै छिमेकी गाउँका नेता थिए ।
‘ए, तिमी पनि यहीं पढ्न लागेको ?’ भाइको फाराम भरिदिन आएका सुरेशले भने, ‘हजुर दाइ उनले जवाफ फर्काए ।
अनि के विषय लिने ?
‘खोई के लिने के लिने ?’ उनीहरूबीच यस्तै संवाद हुँदाहुँदै हातमा फाराम लिएर मामा आइपुगे ।
‘ए सम्धी पनि हुनुहँदोरहेछ त ?’ सुरेशले भने ।
‘हजुर सम्धि भान्जाको फाराम भरिदिउँ भनेर,’ मामाले जवाफ फर्काए ।
‘अनि कुन–कुन विषय राखिदिन लाग्नुभयो ?’
‘खै मैले त पत्रकारिता पढ्नू भनेको ?’
‘लु, पत्रकारिता पढ्ने भए अंग्रेजी लिँदा राम्रो ।’
‘होइन, सक्दैन होला,’ मामाले शंका जनाए ।
‘ह्या के नसक्नु ? मिहिनेत अलि गर्नुपर्छ । यत्रो ट्यालेन्ट मान्छेले सकिहाल्छ नि ।’
यस्तै–यस्तै संवादबीच डम्बर मामा र सुरेश दाइले उनको भविष्य फाइनल गरिदिए । ‘ह्वाट इज योर नेम ?’ भन्दा अन्य वाक्य कमै जान्ने उनी अन्ततः अंग्रेजी साहित्य र पत्रकारिताको विद्यार्थी भए । जसलाई पछ्याउँदै आज उनी एक जल्दाबल्दा पत्रकार बनेका छन् ।
वर्ष दिन विनापारिश्रमिक काम

 

 

०५६ मा पत्रकारिता पढाइ थालेका उनले ०५८ देखि व्यावहारिक रूपमा पत्रकारिता सुरु गरे । उनको पहिलो पत्रकारिताजन्य आलेख भने औपचारिक रूपमा कुनै मिडियामा आबद्ध नभई नै नेपाल समाचारपत्र दैनिकमा प्रकाशित भएको थियो । ‘लिम्बू जातिको विवाह प्रणालीबारे लेखिएको उक्त सामग्री प्रकाशित गर्न अग्रज पत्रकार राजकुमार दिक्पालले सहयोग गर्नुभएको थियो,’ उनी सम्झन्छन्, ‘उहाँ त्यसबेला साधना मासिकमा काम गर्नुहुन्थ्यो । मेरो लेखका लागि फोटो पनि उहाँले नै दिनुभएको थियो ।’
उक्त लेखको पारिश्रमिकबापत उनले कर कटाएर ४ सय ७५ रुपैयाँ प्राप्त गरेका थिए । जीवनमा आफूले कमाएको पहिलो कमाइ सम्झँदामात्रै पनि उनी रोमाञ्चित हुन्छन् । ‘पैसा पाएपछि कम्ती खुसी लागेन । म पनि पत्रकार भएँ भन्नेजस्तो भयो,’ उनले प्रफुल्लित हुँदै आफ्नो कथा बेलिविस्तार लगाए, ‘पैसा लिएपछि राजकुमार दाइलाई भेट्न गएँ । फोटोको कति रुपैयाँ दिउँ दाइ ?’ भन्दै उनले सोधे । राजकुमार दिक्पालले ‘हा–हा–हा केको पैसा ? पर्दैन । यो भाइका लागि मेरो सहयोग हो भन्ने जवाफ दिए ।’
दिक्पाल दाइप्रति मेरो मनमा कम्ती सम्मान जागेन । त्यो कुरा म शब्दमा व्याख्या गर्न सक्दैनन् । खासमा उनलाई त्योभन्दा अगाडि एक अग्रजकहाँ लेखका लागि फोटो माग्न जाँदा सुरुमै पैसा मागेको झल्को थियो । ‘उनीबाट ८० रुपैयाँमा फोटो त किनेर ल्याएँ,’ उनले दुःखेसो व्यक्त गरे, ‘तर, उक्त फोटोका लागि लेखिएको लेख कहीं कतै प्रकाशित भएन । फोटो त्यत्तिकै खेर गयो । दिक्पाल दाइले फोटोको पैसा लिन नमान्दा साँच्चिकै उनीप्रति सम्मान जागेको थियो ।’ यस्तो उत्साहपछि उनलाई पत्रकारितामा प्रवेश गर्दा मामाले भनेजस्तै साँच्चै ‘यता लेख्दा पनि पैसा, उता लेख्दा पनि पैसा’ हुन्छजस्तो लागेको थियो । तर, समय र परिस्थिति त्यति सहज थिएन । र, अहिले पनि छैन । उक्त लेख प्रकाशितपछि उनले अन्य पत्रिकामा पनि लेख्ने कोसिस गरे । तर, कसैले पत्याएनन् । जागिर त कतै पाउने सम्भावना थिएन । यसबीचमा केही समय जनएकता साप्ताहिकमा काम गरे । त्यहाँ कहिलेकाहीं सम्पादकले खाजा खुवाउनेबाहेक एक पैसा पाएनन् । हुँदाहुँदै ०५८ मा समता भन्ने साप्ताहिक पत्रिकामा काम गर्न थाले । एक वर्षसम्म काम गर्दा त्यहाँ चियाबाहेक खाजासमेत आफैंले खान पथ्र्यो ।
‘फेरि म कस्तो अनुभवहीन र अव्यावहारिक भने आफूले चिने–जानेको भन्दा कसैसँग चिनजान बढाउन नखोज्ने÷नसक्ने । जुन एउटा पत्रकारका लागि साह्रै नराम्रो गुण हो,’ उनले आफ्नो कमजोरी सुनाए, ‘उक्त पत्रिकाको प्रकाशक राधा बुढाथोकी थिइन् । जोसँग मैले एक वर्ष काम गर्दा मुस्किलले दुई÷तीनपटकमात्र बोलें हुँला । नत्र म सिधै कार्यालय जाने सम्पादक प्रभुनारायण बस्नेतको माध्यमबाट काम गर्न गएको हुनाले उनीसँग कुरा गर्ने काम गर्ने फर्कन्थें । तलबको कुरा मैले कहिल्यै कसैसँग गरिनँ । यसकारणले होला सायद पत्रिकामा एक वर्ष काम गर्दा पनि एक पैसा पाइनँ ।’
यस्तो बेहाल भएपछि उनले पत्रकारिता छाडे । र, शिक्षण पेसा अँगाले । ०५९ देखि ०६३ सम्म मध्यपुर ठिमीको एक विद्यालयमा पढाए । तर, उनको मनमा पत्रकारितामोह नराम्रोसँग पसिसकेको थियो । उनी अब हृदयदेखि नै पत्रकारितामा समाहित हुन चाहन्थे । हातमुख जोड्न र काठमाडौंमा टिकिरहन तलब आउनुपथ्र्याे, पत्रकारिताबाट तलब आउँदैनथ्यो ।
‘म आठ वर्षको हुँदादेखि वैदेशिक रोजगारीक्रममा साउदी जानुभएको बुवाले ०५६ देखि ०५९ सम्म त जसोतसो धान्नुभयो । त्यसपछि सम्भव भएन/थिएन,’ उनले सम्झे, ‘अब बाबुको कमाइ खाँदै बस्नु मलाई लाज लाग्न थाल्यो । त्यसैले कमाइ सुनिश्चित नहुँदासम्म पत्रकारितामा फर्कने चान्सै थिएन ।’
झन्डै डिप्रेसन
मनमा एउटा चाहना छ, बाहिर अर्कै गर्नुपर्छ । इच्छा एउटा छ तर बाँच्न अर्कै गर्नुपर्छ । यस्तो परिस्थितिमा बाँच्ने मानिस संसारमा साह्रै दुःखी हुन्छन् । जुन अमिर खानको ‘थ्री इडियट्स’ ले साह्रै मीठो गरी पस्केको छ । चाम्लिङको जीवनमा पनि यही नियम लागू भयो । अचानक पत्रकारितामा प्रवेश गरे पनि त्यसभित्रको केही ‘खासखास’ कुराले उनलाई तानेको थियो । मुख्यतः पत्रकारिता पेसा अँगाल्दा पाइने स्वतन्त्रता, आफूलाई मनमा लागेको कुरा लेख्न पाइने अवसर उनका लागि जीवनकै ठूलो सिकाइ थियो ।
साहित्यिक प्रवृत्तिका उनी आफूलाई प्रायः स्वतन्त्र रूपमा हिँडडुल गर्न मन पराउँथे । कुनै कार्यालयमा १०÷५ को ड्युटी गर्नु उनका लागि साँच्चिकै सजायँजस्तो लाग्थ्यो । त्यसैले खान, बस्न राम्रै पुग्ने तलब भए पनि शिक्षणमा उनको दिल खुसी हुन सकेन । पत्रकारिताको भोक मार्न बीचमा इन्द्रकुमार राई, राजु एन राईलगायतसँग मिलेर एक साहित्यिक त्रैमासिक पत्रिका पनि चलाए । इन्द्र प्रधानसम्पादक र उनी कार्यकारी सम्पादक भएको उक्त पत्रिका तीन अंक निस्किएर बन्द भयो ।
‘कहिलेकाहीं कार्यक्रममा सहभागी हुँदा पत्रकार देख्थें,’ उनले मनमा एउटा र बाहिर अर्कै कुरा बोकिहिँड्दाका ती दिनहरू सम्झँदै भने, ‘मलाई यति खुसी लाग्थ्यो कि आहा जीवन त उनीहरूको पो साँच्चै रमाइलो छ त । कार्यक्रममा सहभागी भयो । कुरा सुन्यो, बुझ्यो अनि त्यसैको समाचार बनायो । जागिर थाप्यो । कति राम्रो । जीवन त यस्तो पो हुनुपर्छ त ।’
यस्ता अनेकन कुरा सोच्दासोच्दै उनलाई झन्डै डिप्रेसन भएको थियो । आईए पास गर्न चार वर्ष लागेपछि ०६० मा उनी स्नातक तहमा भर्ना भए । बिहान पाँच बजे उठेर ठिमीबाट बसमा आरआर क्याम्पसमा तीन पिरियड पढेपछि ८ः३० मा हतार गर्दै मिनीबस चढेर ९ः३० मा ठिमी अनि १५ मिनेटभित्र खाना खाइसकेर मुखसमेत राम्ररी चुठ्न नपाई १० बजे पढाउन स्कुल पुग्नुपथ्र्यो । उफ, पेट पाल्न र काठमाडौंमा टिक्नकै लागि यस्तो धपेडीमा परेपछि उनी निराश हुँदै गए । अब पत्रकारितामा फर्किन सकिन्न क्यारे भन्ने निश्चितजस्तै भयो ।
स्नातक तहको अन्तिम वर्षको परीक्षा थियो । साथी जेबी विश्वकर्मा र लोकमणि राईसँग ‘कम्बाइन स्टडी’ गर्न भनेर भेला भएका थियौँ । ‘म एकोहोरिएछु,’ उनले अगाडि भने, ‘मेरो कुरा गराइ र व्यवहार देखेर साथीहरूले चिन्ता गरे । लौ अब जसरी हुन्छ पढाउन छाडेर पत्रकारिता सुरु गर्नू । बरु थोरबहुत के हुन्छ हामी सहयोग गरौंला । हाम्रो सम्पर्क भएको ठाउँमा जागिर पनि खोजौँला भने । पत्रकार हुन नपाएकोमा मेरो हालत त्यस्तो पनि भएको थियो ।’
दोस्रो इनिङ

जे पर्ला–पर्ला भनेर उनले शिक्षण पेसा छाडे । स्नातक तहको पढाइ सकिन लागेको थियो । त्यसैले उनको मनमा ठूलो आशा जाग्यो । स्नातक पास गरेपछि त यो जागिर छाडे पनि कहीं न कहीं ‘सेटल’ भइएला । यसबीचमा भोगीराज चाम्लिङ, प्रकाश राई र तिलक चाम्लिङसँग छुट्टै टीम बन्यो । तीनैजना शिक्षण पेसा सँगसँगै थोरबहुत पत्रकारितामा पनि क्रियाशील थिए । चाम्लिङ आफैं थोरबहुत पत्रकारितामा क्रियाशील थिए । तर, पूर्णकालीन हुन नसक्नुको पीडा थियो ।
चारजनाबीच पटक–पटकको छलफलपछि मासिक पत्रिका निकाल्ने सहमति बन्यो । अन्ततः सबैले छँदाखाँदाको जागिर छाडेर ०६४ मा मियो मासिक प्रकाशन थाले । जसले मुख्यतः आदिवासी जनजाति समुदायको मुद्दालाई गम्भीर प्राज्ञिक बहसमा लैजाने प्रयत्न गरेको थियो । तर, उनीहरूको त्यो हिम्मतिलो कदम लामो समय टिकेन । पत्रिका करिब ६ महिनामात्र चल्यो । स्नातकको नतिजा त आयो तर उनी फेल भए । आफैं कमाउँदै खाँदै गर्नुपर्ने पत्रिकाबाट सबैको जीविकोपार्जन गर्ने योजना बनेको थियो । तर, त्यसबाट पैसो आउने सम्भव थिएन ।
‘ओहो, त्यो पत्रिका चलाउँदाको दुःख वर्णन गर्ने हो भने अर्कै उपन्यास बन्छ,’ चाम्लिङ सम्झन्छन्, ‘यद्यपि, हामीले हिम्मत गरेका थियौं ।’ त्यसबेलाको एउटा घटना उनले कहिल्यै नबिर्सनेगरी दिमागमा बसेको छ । उनीहरूबीच ख्यालठट्टा चल्दा काठमाडौंमा टिक्न अग्रजले गरेको संघर्षको कथा पनि काम लाग्दोरहेछ । यसै सिलसिलमा एक दिन उनले भनेछन्– हाम्रो गाउँका कवि जसराज किराती र देवराज ढकालले पहिले काठमाडौंमा भोकभोकै हिँड्थे रे । एक दिन त हिँड्दाहिँड्दै देवराज अचानक टक्क अडिएछन् । अनि जसराजले सोधेछन्– होइन एहोई किन रोकिएको ? देवराजले भनेछन्– होइन पख न जेठा, यहाँ कस्तो मीठो खाजाको बास्ना आइरहेको छ । एकछिन सुघौं । नखाए पनि खाएजस्तै हुन्छ । जसराज र देवराजको घटना उनीहरूको जीवनमा पनि लागू भयो । ‘पत्रिका चलाउनेक्रममै एक दिन सम्पादक भोजीराज चाम्लिङ र म बागबजार हुँदै पत्रिका डिजाइन गर्न डिल्लीबजार जाँदै थियौँ,’ उनले भने, ‘हामीलाई ज्यादै भोग लागेको थियो । खाजा खाने पैसा थिएन । यस्तैमा मैले जसराज र देवराजको कथा भन्दै थिएँ । स्वाट्ट मःमः को बास्ना आयो । हामीले त्यही अनुभव ग¥यौं, जो जसराज र देवराजले गरेका थिए ।’ त्यसबेला भोगीराजले भनेको कुरा उनको दिमागमा अझै ताजा छ । भोगीराजले भनेका रहेछन्, ‘पछि ठूलो मान्छे बनियो भने त यो साह्रै मीठो कथा बन्छ हगि ? केही गर्न सकिएन भने पनि छोरानातिलाई सुनाउनुपर्छ ।’ उनीहरूले त्यस्तो कठिन घडीमा पत्रिका चलाएका थिए ।
हुन त पत्रिका थोरै समयमै बजारमा चर्चित बन्यो । त्यसमा प्रकाशित चाम्लिङको ‘सेनामा जातीय टुकडी’ भन्ने तत्कालीन शाही सेनाको संरचनाबारे खोजपूर्ण आलेखले मिडिया बजार निकै तताएको थियो । पत्रिका ६० प्रतिशतसम्म बिक्री हुन्थ्यो । जुन बिक्रीदर समकालीन पत्रिकाको दाँजोमा निकै माथि हो । तर, बलियो सम्पर्क सञ्जाल र घरानियाँ सम्बन्ध नहुँदा फरक धारको मुद्दा स्थापित गर्ने प्रयास गरिरहेको सो पत्रिका बन्द भयो ।
यता भएको जागिर पनि चट, ठूलो उत्साहसाथ प्रकाशन सुरु पत्रिका पनि बन्द । उनी निराशाको भुमरीमा परे । अनि कोटेश्वरको एक इन्स्टिच्युटमा कोरियाली भाषा पढ्न थाले । बाँकी बाटो नदेखेपछि उनी पैसो कमाउन दक्षिण कोरिया जाने निधोमा पुगे ।
मानिसको जीवनमा स–साना कुराले ठूलो अर्थ राख्छ । कतिपय अवस्थामा त त्यसले बाटो नै मोडिदिन्छ । उनको जीवनमा पनि त्यस्तै घटना घट्यो । कोरियाली भाषा पढ्न सुरु गरेको दुई महिना नपुग्दै स्नातक तहको अन्तिम वर्षका लागि दोस्रोपटक दिएको परीक्षामा उनी उत्तीर्ण भए । ठूलो हिम्मत जाग्यो । जाबो बीए पास गरेर पनि के विदेश जानु, जेसुकै होस् आफ्नै देशमा लडिन्छ÷बसिन्छ ।
यसबीचमा १० वर्षे माओवादी जनयुद्ध शान्ति सम्झौतामार्फत टुंगिएको थियो । यहीबीच गोरखापत्र दैनिकमा स्थायी जागिर आह्वान भयो । उनले दर्खास्त हाले । सयजना प्रतिस्पर्धीलाई उछिन्दै उनी परीक्षामा सफल भए । सरकारी पत्रिकामा काम सुरु गरे ।
नेपाली पत्रकारिताबारे थोरै कुरा
नेपाली मिडिया जति व्यावसायिक र प्रतिस्पर्धी बन्दै गइरहेको छ, त्यति नै संख्या पनि थपिँदै छ । नयाँ प्रविधि र नयाँ सोचका कारण नेपाली मिडियाले प्रजातन्त्र प्राप्तिको दुई दशकभित्रै ठूलो छलाङ मारेको छ । तर, अझै धेरैजसो मिडिया आर्थिक रूपमा सबल छैनन् । सीमित विज्ञापन बजार र तीव्र प्रतिस्पर्धाका कारण औंलामा गन्न सकिने मिडिया हाउसबाहेक बाँकीले टिक्न संघर्ष गरिरहनुपरेको छ । यस्तो परिस्थितिमा राजेश चाम्लिङजस्ता सरकारी मिडियामा काम गर्ने केही पत्रकारको सेवा–सुविधा भने लोभलाग्दो छ ।
सरकारी मिडियालाई व्यावसायिक कोणबाट फरक ढंगले व्याख्या गरिन्छ । तर, चाम्लिङ पत्रकार आफैंले आँट गर्ने हो भने अहिलेको स्थितिमा सरकारी र निजी मिडियामा त्यत्रो ठूलो व्यावसायिक अन्तर नहुने बताउँछन् । ‘जतिसुकै व्यावसायिक भनिएका निजी मिडिया पनि विज्ञानदाता वा निश्चित स्वार्थ समूहको चंगुलमा कुनै न कुनै ढंगले फसेकै हुन्छन्,’ उनी थप्छन्, ‘हो, सरकारी मिडियाका केही बाध्यता हुन्छन् । तर, अहिलेको प्रजातान्त्रिक युगमा सरकारको स्वामित्व रहेको सञ्चारगृह भन्दैमा सरकारले जे भन्यो त्यही मान्नुपर्छ भन्ने बाध्यता छैन । विशेष परिस्थितिबाहेक अन्य अवस्थामा हामीले पूर्ण व्यावसायिक अभ्यास गर्न नपाउने अवस्था छैन ।’
मिडिया आफैंमा ‘आवाजविहीनको आवाज’ मानिन्छ । यसले स्वतन्त्र भएर सरकार र नागरिकबीच ‘साँघु’ को काम पनि गर्छ, सरकारको गलत कामलाई निगरानी गर्दै ‘वाचडग’ को भूमिका निर्वाह पनि गर्छ÷गर्नुपर्छ भन्ने मान्यता छ । यही नै व्यावसायिक पत्रकारिता वा मिडियाकर्मीको मूल जिम्मेवारी हो । के नेपाली मिडियाले त्यो भूमिका निर्वाह गर्न सकेको छ त ?
मिडियाबारे अध्ययन अनुसन्धान र प्राज्ञिक बहसमा पनि सहभागी भइरहने चाम्लिङ भन्छन्, ‘वास्तवमा पहिलो कुरा मिडिया स्वतन्त्र हुन्छन् भन्ने मूल मान्यता नै गलत हो । किनकि विश्वका कुनै पनि मिडिया स्वतन्त्र हुँदैनन् । यी सबैको पक्षधरता हुन्छ । हो, मिडियाले तथ्य बोल्न, लेख्न वा देखाउन सक्छ । तर, निष्पक्ष र स्वतन्त्र कहिल्यै हुँदैन ।’ उनको लामो व्याख्याअनुसार नेपाली मिडिया पनि त्यसबाट अछुतो छैन । त्यसैले यसले नेपाली समाजको विविधता स्वीकार्दैन । पहिचानको मुद्दालाई ‘जातीयता’ सँग जोड्नु यसैको एक उदाहरण भएको उनको ठहर छ ।
पत्रकारितामा लागेपछि पाएका तीता–मीठा प्रतिक्रिया, प्रलोभन र धम्कीका भाषा उनले पनि अनुभव गरेका छन् । उनले ०६३ मा लेखेको मिडिया ‘गेटकिपिङ’ शीर्षाकृत आलेख त्यसबेला त्यत्तिकै चर्चित बनेको थियो । यही लेखबाट प्रभावित भएर गोपाल किरातीले उनलाई विशेष ‘भेट’ पनि गरेका थिए । ‘त्यस्तो चर्चा गर्नलायकको घटना खासै छैन । अझ धेरै त भोग्नु बाँकी नै छ,’ दैनिक पत्रिकाको १० वर्षे अनुभव सुनाउँदै उनले भने, ‘तर, नेपाली राजनीति, शक्तिकेन्द्र र सत्तासम्बन्धबारे थुप्रै रमाइला अनुभव सँगालेको छु । जुन कुनै बेला सविस्तार लेख्नेछु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार