एक यस्तो पात्र,
जो….
सर्बसाधारण जसरी जन्म लिन्छ
पालनपोषण गज्जबले हुन्छ
उत्तम बिद्यालयबाट शिक्षा हासिल गर्छ
सानैबाट आफुलाई एक विशिष्ट सोच्छ
हो त्यही पात्र,
अब……
जवान भएर खुला आकाश मा पंख फिंजाउछ
अहमपना र अहंकारलाई शिरोपर गर्छ
प्रकृति नियमलाई पाठ सिकाउछ
रातलाई दिन, दिनलाई रात पारेर निदाउछ
घर, गाउँ, चोक,गल्ली हुँदै….
समाजलाई ओपन च्यालेन्ज दिन्छ
खेल्छेस् ! म को हुं थाहा छ ?
भन्दै ङ्यार्र ङ्यार्र गर्छ
बाउबाजेले जिन्दगीभर कमाएको,
ईमान, इज्जत
आफ्नो अभद्र गालीसंग साट्छ
हो यतिबेला,
कमजोर मनोबलहरु…….
त्यो पात्रको ङ्यार्र ङ्यार्रसंग आकर्षित हुन्छन्
रातदिनको संगतले, भौभौ गर्दै भुक्न सिक्छन्
रहन सहन, हिंडाई, लवाई खवाई कपि गर्छन्
हाईस्कुल र कलेज बंक गरेकोमा जित महशुस गर्छन्
पढाईलाई ब्रेक मारेको भन्दै पार्टी गर्छन्
भबिस्यको सुन्दर सपना चुरोटको धुवांसंग साट्छ्न्
अति भएसि, समय जुर्मुराउछ….
पागलजस्तै हांस्दै ताली पड्काउछ
औंला ठडाउन थाल्छ “नालायक” हरुलाई
अनि खिज्याउन थाल्छ सबैलाई
सबका सब नालायक ! नालायक ….
हरामखोर… निकम्मा नालायक !
बलियो पात्र जन्माउने अभिभावक
नालायक ! टुलुटुलु हेरिरहने समाज
नालायक ! बलियो पात्र
नालायक ! भौ भौ गर्ने मनस्थिति
नालायक ! कमजोर मनोबल