केदार लाफा
आँखाजस्तै आकार । लम्बाइ ३२ मिटर । बीचमा ब्रिज डाइनिङ । दायाँबायाँ पानीको फोहोरा । ब्रिज डाइनिङको माथिबाट सेन्सर बिजुलीबत्ती र डिजिटल बोर्ड ।
संवत् १८३० मा भुमराज राईले निर्माण गरेको पोखरीलाई यसरी आधुनिकता दिइएको हो । पोखरीमा पाइपबाट ल्याइएको शुद्ध पानी प्रयोग गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष दिनेश राईले जानकारी गराए । अध्यक्ष राईका अनुसार पोखरीमा रंगीन माछासमेत छाडिनेछ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रहेको महुरेगढीमा आँखा आकारको पोखरी निर्माण गरिएपछि पोखरी हेर्ने र सेल्फी खिच्नेको सानोतिनो भीड लाग्न थालेको छ ।
ऐतिहासिक एवम् पर्यटकीयस्थल महुरेगढीमा पोखरी निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको केन्द्रबिन्दु बन्ने वडाध्यक्ष भीम राईको बुझाइ छ । ‘यसअघि पनि महुरेगढीमा आन्तरिक तथा बाह्य पर्यटकको भीडभाड लाग्थ्यो,’ वडाध्यक्ष राईले भने, ‘संसारमै नभएको पोखरी निर्माण गरेपछि पर्यटक आवागमन बढ्न थालेको छ ।”
महुरेगढीबाट हिमशृंखला, तराईका लोभलाग्दा फाँट र लालीगुराँस हेर्न आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ । महुरेगढी आउने पर्यटकलाई थप मनोरञ्जन दिलाउँदै नगरपालिकाको आन्तरिक आयस्रोत वृद्धि गर्ने उद्देश्यले अन्य ठाउँको भन्दा पृथक पोखरी निर्माण गरिएको हो ।
मध्यपहाडी लोकमार्ग र सगरमाथा राजमार्गको संगमस्थल महुरेगढीमा सालिन्दा साउन २ गते ठूलो मेला लाग्छ । हलेसी तुवाचुङ नगरपालिकाको सिमानानजिक पर्ने महुरेगढी समुद्री सहतदेखि २,२०० मिटर उचाइमा रहेको छ । महुरेगढीमा निर्मित पोखरीआसपासमा वनभोज स्थललगायतका भौतिक संरचनासमेत निर्माण गरिने जनाइएको छ ।
नगरपालिकाको ४३ लाख र स्थानीयको आठ लाखबराबरको जनश्रमदान गरी ५१ लाख रुपैयाँ लागतमा आँखापोखरी निर्माण गरिएको हो । ऐतिहासिक स्थलमा पोखरी निर्माण गरिनुले पर्यटकीयस्थलको थप शोभा बढेको बताइन्छ । आँखापोखरीमा नगरको समग्र वस्तुस्थिति झल्कने तस्बिर राख्ने तयारी गरिएको छ ।