हलेसी । हलेसीमा खोटाङकै सस्तो कुखुराको मासु पाइन्छ । यसो भन्दैमा हलेसीका सबै मासुपसलमा नभएर लक्की पोल्ट्री फार्म एवम् फ्रेसहाउसले मात्रै सस्तोमा कुखुराको मासु बेच्दै आएको हो ।
‘फार्ममा कुखुराको उत्पादन क्षमता वृद्धि भएकाले कुखुराको मासुको मूल्य घटाएको हुँ,’ लक्की पोल्ट्री फार्मअन्तर्गतको लक्की फ्रेसहाउस प्रोप्राइटर सुवास राईले भने, ‘हलेसीका अन्य मासुपसलभन्दा मेरोमा चलेकोभन्दा केही सस्तो मूल्य निर्धारण गरेको हुँ ।’
व्यवसायी राईले ब्रोइलर कुखुराको मासु प्रतिकेजी २५० रुपैयाँमा बेच्दै आएका छन् भने जिउँदोको २०० रुपैयाँ तोकेका छन् । ‘कुखुरा उत्पादन क्षमता बढी भएपछि मासुको मूल्य घटाएको हुँ,’ राईले प्रस्ट्याए, ‘तर, अन्य समयमा पनि हलेसीका मासु व्यापारीभन्दा मैले सधैंजसो प्रतिकेजी २० देखि ३० रुपैयाँ कममा मासु बेच्दै आएको छु । प्रतिस्पर्धाको जमानामा यो मेरो व्यापारिक नीति पनि हो ।’
मासुको मूल्य केही कम गरेपछि कतिपयले कुखुरामा समस्या भएर त्यस्तो गरेको हो कि भनेर हल्ला चलाएका छन् । ‘त्यस्तो होइन,’ उनले चेतावनी दिए, ‘शंका लागे ल्याब टेस्ट गर्न अनुरोध गर्छु । मैले अस्वस्थ मासु बेचेको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार छु । व्यापार एक दिनमात्रै गरेर चल्दैन । त्यो मलाई राम्रो थाहा छ ।’
‘मासुको मूल्य घटबढ भइरहनु अस्वाभाविक होइन,’ उनको दाबी छ, ‘सुनजस्तै मासुको मूल्य पनि अस्थिर हुन्छ भनेर लोकलाई थाहा भएकै कुरा हो । त्यसो भए किन कोकोहोलो गरेका होलान् ?’
हलेसीमा अन्य मासु व्यापारीले प्रतिकेजी ३३० देखि ३५० रुपैयाँमा बेच्दा युवा व्यवसायी सुवास राईले प्रतिकेजी ३०० मा मासु बेच्ने गरेका थिए ।