हलेसी, खोटाङ । सित्तैमा पाइयो भन्दैमा अलकत्रसमेत चपाउनु व्यावहारिक मानिन्छ कि मानिँदैन । मानिन्छ भन्ने सायदै भेटिएलान् । तर, हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीनिवासी कमल गिरीले सित्तैमा पाउँदा अलकत्र चपाएर गुन्द्रुककै झोलमा इज्जत फालेका छन् ।
प्रसंग हो– हलेसी लाँकुरी भन्ज्याङ–चुमाखु भन्ज्याङ ग्रामीण सडकको जालीको । सो सडकखण्डअन्तर्गत लाँकुरी भन्ज्याङदेखि सेलुवाखोलासम्म तीन ठाउँमा ‘ग्याबिङ वाल’ लगाउनुपथ्र्यो । ‘वाल’ लगाउन जिल्ला भूसंरक्षण कार्यालय खोटाङले १ सय ९ थान जाली उपलब्ध गराएको थियो ।
१ सय ९ थान जालीमध्ये नेकपा नेता हरिश्चन्द्र गिरीले ३८ थान जाली पाएका थिए । सडकमाथि पट्टि ‘वाल’ लगाउन नेता गिरीले ३८ थान जाली बुझेका थिए । हलेसी क्याम्पसका अध्यक्षसमेत रहेका नेता गिरीले आफैं हस्ताक्षर गरेर क्याम्पसका लागि ३१ थान जाली लिए । हलेसी लाँकुरी भन्ज्याङ–चुमाखु भन्ज्याङ ग्रामीण सडक निर्माण गर्दा क्याम्पसको मैदान धराप पर्ने भएकाले ‘ग्याबिङ वाल’ लगाउन जाली लिइएको थियो ।
सोही सडकअन्तर्गत सेलुवाखोलामा ‘ग्याबिङ वाल’ लगाउन हलेसी लाँकुरी भन्ज्याङ–चुमाखु भन्ज्याङ ग्रामीण सडक उपभोक्ता समिति सचिव इच्छाराम राईले ४० थान जाली बुझेका थिए ।
नेता गिरी र समिति सचिव राईले बुझेका जाली एकाएक हरायो । जाली हराएपछि खैलाबैला मच्चियो । हराएको जाली सोधीखोजी गर्नैपर्यो । खोधीखोजी गर्दै जाँदा जाली हलेसी बजार लाग्ने ठाउँमा निर्मित खेलमैदानमा प्रयोग गरिएको भेटियो ।
सडकको जाली खेलमैदानमा कसरी प्रयोग गरियो होला ? ‘कमल गिरीले दिएकाले हामीले खेलमैदानमा प्रयोग गरेका हौं,’ नेता हरिश्चन्द्र गिरीले खेलमैदान निर्माणमा संलग्नमध्येका एकले सुनाएको प्रसंग जोड्दै भने, ‘जाली रातारात हराउनुको रहस्य त्यसपछि थाहा पायौं ।’
विनाजानकारी जाली खेलमैदानमा प्रयोग गरिएपछि नेता गिरी र उपभोक्ता समिति सचिव राईले कमल गिरीसँग वास्तविकता बुझे । कमलले हरिश्चन्द्रलाई भूसंरक्षण कार्यालयबाटै ल्याएर फिर्ता गर्छु भनेका थिए भने राईलाई चाहिँ खेलमैदानको अध्यक्ष प्रमोद गिरी भएकाले उसैलाई सोध्नु भनेर पन्छिन खोजे ।
जाली अन्तै प्रयोग भएपछि सडक निर्माण अधुरो रहेको छ । पछिल्लोपटक जालीबारे प्रसंग कोट्याउँदा कमल गिरीले नेता गिरीलाई नगरबाट मागेर फिर्ता गर्छु लिने हो भनेका थिए । ‘हाम्रो जाली माछाकाँडे थियो,’ नेता गिरीको भनाइ छ, ‘नगरको जाली चारपाटे छ । त्यो कमसल हुन्छ । त्यसैले लिन मानेनौं ।’
एउटाका लागि प्राप्त जाली अर्को योजनामा त्यो पनि चोरीको शैलीमा लगेर प्रयोग गर्नु अचाक्ली हो । कमल गिरीका यस्ता अचाक्ली भनिसाध्ये छैन । समाचार पुष्टि गर्न कमल गिरीलाई पहिलोपटक टेलिफोन गर्दा भरे कल गर्छु भने । हलेसीमा निर्माण हुन लागेको बसपार्कका लागि जग्गा नापिरहेको छु भरे कल गर्छु भने पनि उनले टेलिफोन गरेनन् । समाचार पुष्टि गर्न दोस्रोपटक टेलिफोन गर्दा भीडभाडमा छु, एक्लै भएपछि कल गर्छु भन्ने उत्तर दिए ।
पटक–पटक पन्छिन खोजेपछि समाचार पुष्टि गर्न कमल गिरीको मोबाइल नम्बर ९८६२८१३५९० मा एसएमएस गरियो । एसएमएसको प्रतिउत्तरमा उनले लेखेका छन्, ‘जाली हामीले लिएकै हो । जाली हलेसी फुटबल ग्राउन्डमा लगाएको हो । यसको अध्यक्ष प्रमोद गिरी हुन् । जाली मैले मागेको हो । नगरबाट मागेर जाली फिर्ता गर्छु भन्दा उहाँहरूले भूसंरक्षणकै जस्तो चाहिन्छ भनेपछि अड्किरहेको छ ।’
जाली मागेर प्रयोग गरेको भनेर कमल गिरीले एसएमएसमा दाबी गरे पनि नेता हरिश्चन्द्र गिरी र उपभोक्ता समिति सचिव राईले मान्न तयार भएनन् ।
जालीको प्रसंग जोड्दै कमल गिरीले एसएमएसमा लेखेका छन्, ‘फेरि छाप्ने हो दाइ ? समाचार नछाप्दा हुँदैन र दाइ ?’
तुवाचुङ साप्ताहिकबाट