रचनात्मक राकेश

दीपेन्द्र राई

नाम : राकेश परियार ।
उमेर : २३ वर्ष ।
काम : स्वयम्सेवी पथप्रदर्शक ।

हलेसी तुवाचुङ नगरपालिका–७ हलेसी खोटाङनिवासी राकेश परियारको परिचय यत्ति हो । यही परिचयबाट चिनिन पाउँदा परियारलाई आनन्द लाग्छ । पुसको एक बिहान हलेसी गुफाबाहिर भेटिएका उनले सुनाए, ‘आनन्दले मानिसलाई बाँच्न सिकाउँछ । हाँस्न सिकाउँछ । बाँच्ने पाए त हाँस्न सकिन्छ । दुईदिने चोलामा आनन्दले बाँच्न सिक्दै छु ।’

कति सुन्दर विचार । विचारले मानिसलाई डो¥याउँछ । डोरिनुपर्छ पनि । हो, आनन्दले बाँचेका मानिसको जीवनशैली त्यत्तिकै लोभलाग्दो हुन्छ । लोभीपापीको समूहमा त्यस्ता मानिस जहिल्यै फरक देखिन्छन् । विशिष्ट लाग्छन् । त्यसैले उनको परिचय अरूकोभन्दा पृथक छ । बाँच्नेमात्रै होइन, सोच्ने शैलीसमेत फरक छ ।

त्रिधार्मिक स्थलका रूपमा परिचित हलेसी आइपुगेका विशिष्ट व्यक्तिले राकेश परियारलाई सोधीखोजी गर्ने गर्छन् । हलेसी आउँदा उनीहरूलाई परियारले पथप्रदर्शकको भूमिका निर्वाह गर्छन् । उनले अहिलेसम्म क–कसलाई हलेसी दर्शन गराए होलान् रु ‘धेरैलाई दर्शन गराएको छु,’ उनले सम्झे, ‘पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वप्रमुख दीप बस्न्यात, पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल, निर्वाचन आयोग प्रमुख डा। अयोधीप्रसाद यादव, लोकसेवा आयोग अध्यक्ष उमेश मैनालीलगायत धेरैलाई हलेसी दर्शन गराएको छु । अन्य धेरैलाई सम्झेको छु । सबैको नाम पत्रिकामा उल्लेख गर्न सकिँदैन होला ।’

एआईजी यादव अधिकारीलाई हलेसी दर्शन गराएपछि उनले स्वयम्सेवी पथप्रदर्शकको काम थालेका थिए । एआईजी अधिकारीलाई हलेसी दर्शन गराएपछि आजसम्म उनले त्यही काम गर्दै आएका छन् । हलेसीका व्यवसायी कुमार खत्रीले एआईजी अधिकारीलाई दर्शन गराउन राकेशलाई अवसर दिएका थिए । कामलाई पूजा गर्ने उनले हलेसी दर्शन गराएबापत पारिश्रमिक लिँदैनन् । तसर्थ, स्वयम्सेवी पथप्रदर्शक रूपमा परिचय बनाउन लागिपरेका छन् ।

‘हलेसी दर्शन गराएपछि विशिष्ट व्यक्तिले पैसा दिन्छन्,’ उनले प्रस्ट्याए, ‘तर, आजसम्म मैले लिएको छैन । पैसाका लागि मैले हलेसी दर्शन गराएको पनि होइन । पैसामात्रै होइन, आजसम्म कसैबाट उपहारसमेत लिएको छैन ।’

हलेसी दर्शन गराएपछि पारिश्रमिकस्परूप पैसा दिन खोज्नेको कमी छैन । ‘तर, म लिन्न,’ उनले भने, ‘विशिष्ट व्यक्तिसँग चिनजान र कुराकानी गर्न सबैले पाउँदैनन् । जुन अवसर मैले पाएको छु । त्यो अवसर मेरा लागि अर्ब कमाएभन्दा बढी लाग्छ ।’

कुरा सुन्दा आदर्शजस्तो लाग्नु स्वाभाविकै हो । उनी त्यही आदर्शमा रमाएका छन् । रमाएर बाँच्नेको संसार सुन्दर हुन्छ । त्यही सुन्दर संसारका लोभलाग्दो मनुवा हुन्– राकेश परियार । हलेसी आइपुगेका विशिष्ट व्यक्तिलाई दर्शन गराउन दुई घन्टा समय लाग्छ । उनले हलेसी गुफा, बसाहा गुफा घुमाउँछन् । हिन्दु, किरात र बौद्ध धर्मावलम्बीसँग जोडिएका हलेसीको किंवदन्ती सरल तरिकाले सुनाउँछन् । सुनुँसुनँ लाग्ने शैलीमा वर्णन गर्दा हलेसी आइपुगेका विशिष्ट व्यक्ति त्यत्तिकै मोहित हुन्छन् ।

त्यसैले होला, हलेसी दर्शन गरेर फर्केपछि पनि उनीहरू राकेशसँग सम्पर्कमा रहिरहन्छन् । ‘धन होइन,’ उनले थपे, ‘इष्ट कमाउनु पो ठूलो हो त ।’ हुनु पनि हो– धनभन्दा इष्ट कमाउन अप्ठ्यारो हुन्छ । धन भनेको हातको मैला हो । इष्ट भनेको दीर्घजीवी हुन्छ । जुन राकेश परियारले २३ वर्षकै उमेरमा कमाइरहेका छन् ।

‘त्यति धेरै पैसा मलाई किन चाहियो र रु,’ उनी एकाएक उज्यालो देखिए, ‘दुई छाक खान पुगेकै छ । त्योभन्दा बढी लोभ किन गर्नु ।’

हलेसीको आँगनमै हुर्के, बढेका उनी यहीं रमाएका छन् । हलेसीमा उनीजस्ता स्वयम्सेवी पथप्रदर्शक अरू छैनन् । ‘राकेशले विनापारिश्रमिक पथप्रदर्शको भूमिका निर्वाह गर्दा राम्रो भएन भनेर पिठपछि कुरा काट्नेहरू नभएका होइनन् । तर, उनी विचलित छैनन् । ‘विनापारिश्रमिक पथप्रदर्शकको भूमिका निर्वाह गर्दा मलाई आनन्द लाग्छ भने मैले गर्न पाउने कि नपाउने रु’ उनको तर्क थियो, ‘सकिन्छ भने तपाईं पनि स्वयम्सेवी पथप्रदर्शक बन्नूस् न ।’

अर्काको कुरा काटेर समय खेर फाल्नेसँग उनको कुनै गुनासो छैन । ‘जागिर गर्ने रहर भए सम्पर्क गर्नू है भन्छन्,’ हलेसी आइपुगेका विशिष्ट व्यक्तिले भनेको कुरा सुनाउँदा उनी झन् पुलकित देखिए, ‘त्यति भनिदिँदा मात्रै पनि आफूलाई संसारकै भाग्यमानी हुँजस्तो लागेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार