तेस्रो आँखा डटकम सहसम्पादकमा मनोज गिरी


काठमाडौं । तेस्रो आँखा डटकम सहसम्पादकमा मनोज गिरी नियुक्त भएका छन् । तेस्रो आँखा डटकम सञ्चालक समितिको हालै बसेको बैठकले समाजसेवी, खेलाडी तथा युवा व्यवसायीको परिचय बनाएका गिरीलाई सहसम्पादकमा नियुक्त गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङनिवासी उनले तेस्रो आँखा डटकमले विश्वास गरेर दिएको भूमिका निर्वाह गर्न प्रयासरत रहने बताए । ‘अबको जमाना अनलाइन म्यागेजिनको हो,’ उनले भने, ‘समयलाई पछ्याउने प्रयत्न गर्नुपर्छ । त्यसो गर्न सकियो भनेमात्रै न्यु मिडिया भनेर चिनिएको अनलाइन म्यागेनिजनको उपादेयता रहन्छ ।’

समाजसेवी छवि

समाजसेवी गिरीले हलेसी–धितुङ–रेग्मीटार जोड्ने सडकको ट्र्याक खोल्न महत्वपूर्ण भूमिका खेलेका थिए । सो सडकको ट्र्याक खोल्न त्यति सजिलो थिएन । कारण ? ‘हलेसीमा जग्गाको मूल्य आकासिएको थियो,’ उनले प्रस्ट्याए, ‘महँगो जग्गा सडकलाई दिन कोही तयार थिएनन् । नमान्नेलाई सहमति गराउनेमात्रै होइन, कागजसमेत गराएको थिएँ । मैले गरेको काम आफैंले भन्नुभन्दा तात्कालिक सडक निर्माण उपभोक्ता समिति अध्यक्ष र सदस्य ऐँसेलुर्खकका रामकुमार राई र महेन्द्र राईद्वयलाई सोध्दा थाहा हुन्छ । त्यतिबेला मेरो ९६ मिटर जग्गा सडकमा परेको थियो । त्यतिमात्रै होइन, डोजरमा म आफैं बसेर ट्र्याक खोलिएको थियो ।’

यसैगरी, उनकै पहलमा हलेसी गुफाअघि विश्रामस्थल निर्माण गरिएको थियो । विश्रामस्थल निर्माण गर्दा उनको चार लाख रुपैयाँमा खर्च भएको थियो । विश्रामस्थल निर्माणका लागि शिव पार्वती भजन कीर्तन समूहकी अध्यक्ष बिमला गिरी र कुलदीप गिरीले ५१ हजार १५१ रुपैयाँ सहयोग गरेका थिए । हलेसी विकास समितिले एक लाख रुपैयाँ दिने भने पनि अहिलेसम्म उपलब्ध गराइएको छैन ।

तेस्रो आँखा डटकम नवनियुक्त सहसम्पादक गिरीले हलेसी तुवाचुङ नगरपालिका र सडक बोर्ड नेपालको आर्थिक सहयोगमा हलेसीको सहकारीडाँडादेखि हलेसी मन्दिर आँगनसम्मको सडक निर्माण र मर्मतसम्भारसमेत गरेका थिए ।

खेलाडी/प्रशिक्षक

खेलप्रेमी मनोज गिरीले डेढ वर्षसम्म हलेसीमा निःशुल्क कराते सिकाएका थिए । त्यतिमात्रै होइन, छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जिल्ला छनोटका लागि दसजना खेलाडीलाई आफ्नै खर्चमा खोटाङ सदरमुकाम दिक्तेल पुर्याएका थिए । उनले आफूसहित जिल्लाबाट छनोट तीनजना खेलाडी क्षेत्रीयस्तरको प्रतियोगितामा सहभागी हुन सुनसरीको धरान पुगेका थिए ।


हलेसी सितोरिया कराते क्लब प्रशिक्षकसमेत रहेका उनी ऊँ शिवशक्ति युवा समूहका पूर्वअध्यक्षसमेत हुन् ।

पर्यटन प्रवद्र्धक

ऊँ शिवशक्ति युवा समूहको अध्यक्ष रहँदा उनले हलेसीको पर्यटन प्रवद्र्धनका लागि पर्यटन मन्त्रालयमा प्रस्तावना पेस गरेका थिए । उनले हलेसी गुरुयोजना निर्माणका लागि तात्कालिक संस्कृति मन्त्रालयमा समेत प्रस्तावना पेस गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार