बाँसको मादल


ओल्लोकिरात, माझकिरात र पल्लोकिरातमा यलम्बर बाजा प्रयोगमा ल्याइएको पाइन्छ । किरातीहरूको प्रथम कविला प्रमुख यलम्बर हुन् । उनको नामबाट निर्मित यो बाजा किरात राई समुदायमा त्यत्तिकै लोकप्रिय मानिन्छ ।

ओल्लोकिरात, माझकिरात र पल्लोकिरातमा बसोबास गर्ने गैरजनजातिले समेत यो बाजालाई ‘बाँसको मादल’ भनेर प्रयोगमा ल्याएका छन् । स्थानीय लोकगीतमा यो सहायक तालबाजाका रूपमा प्रसिद्ध छ ।

किरात राई बस्तीमा हुने चाडबाड, शुभकार्य तथा सांस्कृतिक कार्यक्रममा यो बाजा प्राथमिकतासाथ बजाइन्छ । बनाउन पनि सरल र सहज भएकाले यो समुदायको प्रायः घरघरमै देखिने यलम्बर बाजा पछिल्लो समयमा कमै मात्रामा प्रयोगमा ल्याइएको देखिन्छ ।

यलम्बर बाजाको नाम कसरी र कहिलेदेखि रहन गयो भन्ने सन्दर्भमा कवि तथा गीतकार श्रवण मुकारुङ भन्छन्, ‘किरातहरू जब शासक बने त्यही समयदेखि नै यो बाजाको अस्तित्व रहँदै आएको हो ।’ कवि तथा गीतकार मुकारुङको भनाइलाई आधार मान्ने हो भने यो बाजाको प्राचीनता अध्ययन अनुसन्धान गर्नलायक देखिन्छ । यलम्बर बाजा प्राचीन वाद्ययन्त्र हो या किरात राई समुदायका कविला प्रमुखको सम्मान अनि सम्झनास्वरूप सो बाजाको नाम राखिएको हो । यसको सत्यतथ्य खोजकै विषय बनेको छ ।

राई समुदायमा प्रचलित यो लोकबाजाको बनावट अनौठो र वैज्ञानिक मानिन्छ । अन्य बाजामा जस्तो यसमा कुनै धातु प्रयोग गरिएको हुँदैन । तसर्थ, यो बाजाको निर्माण धातु प्रयोगमा आउनुभन्दा पहिले नै भएको हो भन्न सकिन्छ ।

बाँसको दुई आँख्लाबीचको राम्रो गिँडबाट यलम्बर बाजा बनाइन्छ । त्यही बाँसको गिँडबाटै दुई तार निकालिन्छ र त्यसलाई बाँसकै धुँडीले दुवै छेउमा अड्याइन्छ । भालुबाँस वा ढुङ्ग्रेबाँसबाट बनाइने यसको बीचमा तीन इन्चजति प्वाल पारिन्छ भने प्वालको माथितिर पातलो बाँसकै टुक्राले छोपिन्छ । हेर्दा यो बाजा ढुंग्रोजस्तो देखिन्छ । एउटा सानो बाँसको चोइटा च्यापेर हातको औंलाले बजाएर मादलको जस्तै आवाज निकालिन्छ ।

यो बाजा मादलको तालमा बजाइन्छ । छरितोखालको भएकाले यो बाजा जहाँसुकै लगेर बजाउन सकिन्छ । सामूहिक रूपमा बजाउँदा यसको ध्वनि तड्कारो सुन्न सकिन्छ । गायिका बेनुका राई भन्छिन्, ‘नेपाली गीत–संगीतमा यलम्बर बाजा प्रयोगमा ल्याइनुपर्छ । अन्यले नभए पनि किरात राई समुदायका सङ्गीतकारले मात्रै भए पनि आफ्नो समुदायका आदिम तथा मौलिक लोकबाजा प्रयोगमा ल्याउने आँट गरेमा बाजाको संरक्षण, सम्बद्र्धनमात्रै होइन, नेपाली गीत–संगीतको मौलिकताको प्रवद्र्धन हुनेछ ।’

तुवाचुङ साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार