महादेवबेंसी पुगेर मेयर राईले भने– हामी सबैलाई बधाइ

तेस्रो आँखा संवाददाता

महादेवबेंसी (खोटाङ) । ‘हामी सबैलाई बधाइ,’ दूधकोसी–काभ्रे ट्रान्समिसन लाइनको शिलान्यासपछि हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘निकै महत्वाकांक्षी आयोजनाका रूपमा हेरिएको हलेसी तुवाचुङ नगरपालिकाको एकमात्र विकल्पका रूपमा रहेको खानेपानी आयोजना मानिएको वृहत् सुख्खा क्षेत्र दूधकोसी लिफ्टिङ आजोजना निर्माणकार्यले गति लिएको छ ।’

काकाकुल नगरवासीले अब छिट्टै खानेपानीको चरम समस्याबाट मुक्ति पाउने मेयर राईले दाबी गरेका छन् । ‘यो आयोजना छनोट प्रक्रियादेखि अहिलेसम्म सबैखाले सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद,’ उनले अनुरोध गरे, ‘आयोजना निरन्तरताका लागि सबैलाई अनुरोध गर्छु । निर्माण कम्पनी महादेव दिवा खिम्तीका साथीहलाई धेरै–धेरै धन्यवाद ।’

दूधकोसीको पानी लिफ्टिङ गरेर नगरवासीको घर–घरमा पुर्याउन दूधकोसी–काभ्रे ट्रान्समिसनको मेयर राई र उपमेयर बिमला राईले शिलान्यास गरेसँगै निर्माणकार्यले तीव्रता पाएको छ ।

राष्ट्रिय योजनाअन्तर्गत एक अर्ब ३३ लाख रुपैयाँमा चरणबद्ध निर्माणाधीन काम अघि बढेको हो । दूधकोसी–काभ्रे ट्रान्समिसन शिलान्यास गरिएको इनारको काम पूरा भएपछि दूधकोसीको पानी त्यहाँ जम्मा गरिन्छ । संकलित पानी प्रशोधन गरी लिफ्टिङ गरेर नगरभित्र वितरण गरिनेछ ।

हलेसी तुवाचुङ नगरपालिकाको सातवटा वडामा खानेपानी पुर्याउन अभिप्रायसहित महादेव दिवा खिम्ती जोइन्ट भेन्चरले पहिलो चरणअन्तर्गत काम गरिरहेको छ । पहिलो चरणमा ६ ठाउँमा मोटरहाउसका लागि विद्युत् विस्तार, पम्प स्टेसनसम्म पुग्ने सडक निर्माण पूरा भइसकेको छ ।

यसैगरी, तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाको लुलिमाबेंसी–भुम्जुडाँडाको ट्रान्समिसन लाइनको काम सुरु भइसकेको छ । लामा कन्ट्रक्सनले नगरपालिकाको १, २, ३, ४ नम्बर वडामा पानी पुर्याउने जिम्मेवारी पाएको छ भने ५, ६ र ७ नम्बर वडामा सगरमाथा रमण जेभीले काम पाएको हो । नगरका ८, ९, १० र ११ नम्बरलाई समेत समेट्ने प्रयास जारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार