जखेरातालमा जलविहार, चौधरीको चर्चा

नारायणी रजौरे

पूर्व–पश्चिम सिमानामा वन तथा जंगल, दक्षिणतर्फ चिक्की परेको मुसुन्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका–५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ । हिजोआज ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खान दैनिक दुई सयदेखि तीन सयजना आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जखेरा ताल संरक्षण समिति कर्मचारी ओमभगत चौधरीले जानकारी दिए ।

साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको तालवरपर वन–जंगल रहेको छ । सो तालको गहिराइ ६ फिट छ । तालको उत्तरतर्फ गणेश तथा पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर छ । यहाँ आउने पर्यटक डुंगा चढेर मन्दिरको दर्शन गर्ने गरेका छन् । तालको मुख्य आकर्षण वनभोज स्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत हो । तालमा डुंगा चढ्न पर्यटक निकै उत्साहित हुन्छन् । ‘एउटा मात्र डुंगा भएकाले पालो कुनुपर्ने हुन्छ,’ चौधरीले भने ।

तालमा डुंगा चढेर जलविहार गर्दा प्रतिव्यक्ति ५० रुपैयाँ तथा मन्दिर दर्शनका लागि २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । जखेरा तालको अवलोकन गर्न कोहपुरबाट आएकी कालिका रेग्मीलाई ताल अवलोकन गर्दा आनन्द लागेको बताइन् । शिक्षण पेसामा संलग्न रेग्मी आफूले यति ठूलो ताल होला भनेर नसोचेको सुनाइन् । ताल सफा राख्न स्थानीय जुट्नुपर्ने उनले सुझाइन् ।

तुलसीपुर उपमहानगरपालिका–१० पशुपति माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा विद्यार्थीसहित पुगेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शम्भु रेग्मीले विद्यार्थीको जखेरा ताल अवलोकन गर्ने पहिलो रोजाइ भएको बताए । एक हप्ताको शैक्षिक भ्रमणका लागि गएका थियौं, विद्यार्थीले जखेरा तालबाट सुरुवात गर्नुपर्छ भन्न थाले, त्यसैले यहाँ आएका हौं,’ उनले भने ।

तालको संरक्षण सम्बद्र्धन गर्न सके दाङको देउखुरी क्षेत्रको मुहार फेरिने रेग्मीले बताए । उनेले भने, ‘ताल त धेरै लोभलाग्दो रहेछ । तालछेउमा जाली, पर्यटकका लागि आवश्यक शौचालय तथा फोहोर व्यवस्थापन गर्नु जरुरी छ ।’ जखेरा ताल संरक्षण समिति उपाध्यक्ष रामसिंह केसीले ताल संरक्षणका लागि सबैले पहल गर्नुपर्ने बताए । उनले विगतका वर्षमा नागरिकको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रूपमा परिचित रहेको बताए ।

विगतका वर्षमा ताल जलकुम्भी झार र माटोले पुरिएको थियो । जिल्ला भू–संरक्षण कार्यालय, कृषि विकासलगायतका कार्यालय, संरक्षण समिति तथा स्थानीयको सहयोगले ताल संरक्षण गर्न सकिएको केसीले बताए । ताल अवलोकन गर्न आउनेका लागि आवश्यक शौचालय, खानेपानीको उचित व्यवस्था, फोहोर व्यवस्थापन, सुरक्षाका लागि तालछेउछेउमा जाली, पर्यटकलाई तालमा घुम्न डुंगाको पर्याप्त व्यवस्था हुन नसक्नु यहाँको समस्या रहेको उनको भनाइ छ । त

‘ताल विकासका लागि लमही नगरपालिकाले गुरुयोजना बनाएको छ,’ उनले भने । तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ । संवत् २०३० मा साबिकको सोनपुर गाविस हालको लमही नगरपालिका–३ का स्व. दीपु चौधरीको नेतृत्वमा सोनपुर, टिकुलीगढ, फल्कापुर र श्री गाउँका स्थानीय मिलेर खेर गइराखेको आकाशेपानी तथा वनक्षेत्रबाट बगिरहेको पानी संकलन गरी चुरे पहाडको फेदमा खाडल खनी ताल बनाइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार