दाङको घोराहीमा सानो रारा

रीता लामा

घोराहीमा कुवा, जरुवा र ट्युबेलको पानी सुक्दै गएको र सिञ्चाइ अभावमा आकाशेपानीका भरले उब्जनी नहुने भएपछि खेती गर्दा नोक्सानी बेहोर्नुपरेको गुनासा स्थानीयबाट अत्यधिक सुन्न थालिएको छ । बजार क्षेत्र भएको हुँदा जनसंख्या बढ्दै जानु तर पानीको मुहान सुक्दै जानुले घोराही र आसपासका क्षेत्र केही वर्षभित्रै मरुभूमि हुने संकेत देखिन थाल्यो ।
संवत् २०७१ मा तत्कालीन घोराही नगरपालिकाका कार्यकारी प्रमुख तुफानसिंह केसीेले एउटा उपाय निकाले, ‘वर्षात्मा तीन महिनासम्म लगातार आउने आकाशेपानी संकलन गरी हिउँदमा सिञ्चाइ गर्ने ।’ सोहीअनुरूप घोराहीका केही स्थानमा वर्षात्को पानी संकलन गर्न खाल्डा खनियो । सबैभन्दा पहिले घोराही–१३ मा रहेको ज्यामिरेमा रहेको पुरानो सिमसार क्षेत्रलाई पोखरी बनाई ठूलो भागमा फैलाइयो । वर्षात्मा जति पानी परे पनि अटाउन सक्ने बनाइयो ।
ज्यामिरे तालमा वर्षात्को पानी जम्मामात्र भएन, त्यसमा माछाका भुरा छाडियो । माछा मार्न डंगा व्यवस्थासमेत गरियो । तर, अहिले उक्त स्थान पानी सिञ्चाइका लागि मात्र होइन, माछापालनसँगै जिल्लाकै नमुना पर्यटकीस्थल बनेको छ । पोखरी निर्माण गरिएको छोटो समयमै यहाँ घुम्न आउनेको ताँती लाग्न थालेको छ ।
घोराही बजारबाट पाँच किलोमिटर दूरीमा रहेको ज्यामीरे दह जंगलबीचमा पर्छ । दहसम्मै सवारीसाधन चल्ने बाटो पुग्न सकेको छैन । आधा घन्टा पैदल हिँड्नुपर्छ । तर, दहमा तस्बिर खिच्न र डुंगा चढ्न दिनहुँजसो आन्तरिक पर्यटक जाने गरेका छन् । कृत्रिम तालकै कारण उक्त क्षेत्र निकै मनोरम र सुन्दर छ । जंगलबीचमा भएका कारण चराचुरुंगीको चिरबिर आवाजले त्यहाँ जाने जोकोहीलाई मोहित पार्छ ।
यस क्षेत्रका मानिस दैनिकजसो ज्यामिरे पुगेर तस्बिर खिचेको दृश्य फेसबुकमा देख्न पाइन्छ । विशेषगरी विद्यार्थी, विदेशबाट गाउँ फर्केका, कर्मचारी र व्यवसायी बिदाको मौका पारेर ज्यामिरेमा सपरिवार पुग्ने गरेको ताल संरक्षण गरिरहेको ज्यामिरे सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष दयाजी रोका बताउँछन् । यहाँका बासिन्दाले ज्यामिरेलाई अहिले सानो रारा वा राराको शाखा भनेर नाम दिन थालेको रोकाको भनाइ छ ।
कृत्रिम ताल पर्यटकीयस्थल बनेपछि त्यहाँका बासिन्दाको राम्रो आम्दानीको स्रोत पनि ताल बनेको हुँदा आफूहरूले तालको थप सुधारका लागि प्रयास गरिरहेको उनले बताए । सिञ्चाइ र पर्यावरण जोगाउनमात्र नभई, अहिले ताल राम्रो पर्यटकीयस्थल बनेको उनको भनाइ छ ।
युगौंदेखि प्राकृतिक रहे पनि यो ताल पछिल्लो समयमा पुरिँदै गएर निकै सानो भएको थियो । दुई वर्षअघि मात्रै तत्कालीन घोराही नगरपालिकाको अग्रसरतामा तालले पुनर्जीवन पाएको हो । ‘ज्यामुर’ शब्दबाट ज्यामिरे भएको तर्क स्थानीय संरक्षणकर्मी बलियो मान्छन् । ताल निर्माण समिति अध्यक्ष रहेर लामो समय काम गरेका घोराही–१३ का वडा सदस्य केशव गिरीका अनुसार मगर खाम भाषाको ‘ज्यामुर’बाट ज्यामिरे तालको नाम रहन गएको हो, जसको अर्थ छिपछिपे हिलो वा सिमसार क्षेत्र हुन्छ । उनका अनुसार खाम मगरभाषी भेडी गोठालाले तालमाथिको मौलाकोटमा जग्गा किनेर भेडा राख्ने गरेका थिए । उनीहरूले भेडालाई पानी खुवाउन त्यही तालमा ल्याउने गरेका थिए । भेडीगोठालाले नै यो ताल
(त्यतिबेला यति ठूलो ताल थिएन) लाई ‘ज्यामुर’ भन्दा ज्यामिरे भएको गिरीको तर्क छ ।

एक हजार १५ मिटर लम्बाइ, २५ देखि ३० मिटर गहिराइ र ५० देखि १५० मिटर चौडाइमा ताल फैलिएको छ । तालमा अहिले ३५ हजार करोड लिटर पानी सञ्चित छ । यसबाट निस्कने पानीले तीन वडाका बासिन्दाले सिञ्चाइ सुविधा पाएका छन् भने डुंगा राखेर पर्यटन प्रवद्र्धन गरिएको छ । लाइफ ज्याकेट लगाएर डुंगा चढ्नेको कमी छैन ।
आर्थिक वर्ष २०७२÷०७३ मा तत्कालीन घोराही नगरपालिकाको ३५ लाख, केन्द्र सरकारले नगरपालिकालाई पुरस्कार दिएको ५० लाख र स्थानीयको १५ लाख जनश्रम गरी एक करोड रुपैयाँमा ताल पुनःनिर्माण गरिएको हो । गत आर्थिक वर्षमा समेत ५५ लाख खर्च गरेर काम भएको थियो भने अहिले संघीय सरकारले ससर्त अनुदानतर्फ ताल संरक्षणका लागि बजेट पठाएको छ । त्यसो त बाह्रकुने, ज्यामिरे र मौलाकोटलाई जोड्न प्रदेश सरकारले पनि दुई करोड बजेट पनि छुट्ट्याएको छ ।
उपमहानगरले अहिले घोराहीको ज्यामिरेमात्रै नभएर वडा नम्बर १७ का ढिकपुर र गुलरिया, वडा नम्बर १६ को गंगटेमा कृत्रिम जलाशय निर्माण गरेको उपमहानगरका इन्जिनियर रामधन श्रेष्ठ बताउँछन् । उनका अनुसार वडा नम्बर १८ का गिठेपानी र सल्लाघारी, वडा नम्बर १२ को सिस्नेरीगटे, वडा नम्बर १८ का सल््लाघारी, डबरीलगायत करिब १२ स्थानमा कृत्रिम जलाशय निर्माण गरिएको छ । साथै पुराना पोखरीलाई थप निर्माण तथा मर्मत गरी सिञ्चाइका लागि पानी प्रशस्त बनाइएको उनको भनाइ छ ।
हिजोआज ज्यामिरे पर्यटकीयस्थल बन्दै गइरहेको छ । नयाँ बनाइएको जलाशयमा स्थानीयले सिञ्चाइ, माछापालन, तरकारी खेती, फलफूल खेती गरिरहेको उपमहानगरका प्रमुख नरुलाल चौधरीले जानकारी दिए । ‘सिञ्चाइ, व्यावसायिक टुरिजम, माछापालन, हाँसपालनका लागि हामीले कृत्रिम जलाशय निर्माण गरेका हौं,’ उनले भने, ‘मुख्य कुरा जलवायु अनुकूलनकै लागि हो ।’ गाउँमा रहेका कुवा, इनार, जरुवा, ट्युबेलको पानी नसुकोस् भनेर पनि कृत्रिम जलाशयमा उपमहानगरले लगानी गरेको उनले सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार