च्यास्मिटार

चित्रकुमार सुवेदी

उज्यालो नहुँदै
कुवा, धारो खोज्न हिँडेका गाग्रीहरू
काठमाडौं र धरानबाट
झन्डावाला कार आइपुग्दासमेत
घर आइपुग्दैन
दूधकोसी बगेर सुनकोसी बगेर
भारदहको पुल तरिसक्दा
गाग्रीको पानीभन्दा
पसिनाको धारा धेरै बगाएर
बल्लतल्ल घर आइपुग्छ
च्यास्मिटारे आमाहरू
भोकको कुरै नगरौं
थकानको कुरै नगरौं
घाँस, दाउरा र मेलापात
अँध्यारो अनुहार लाएर
उराठ मनले
रुन्चे स्वरमा गुनासो गर्छ
च्यास्मिटार
म कस्तो अभागी
पानीमा खुट्टा डुबाएर
रात दिन पानीमाथि उभिएर
एक थोपा पानी मुखमा हाल्न नपाई
सदीयौंदेखि बाँच्नु परिरहेछ
मिनरल वाटरले
हातमुख धुँदै र खाँदै
चुठ्दै र खुट्टा पखाल्दै
छातीबाट कुदिरहेको छ
सरकारी गाडी
बोतलको पानीले नुहाएर
सबै नेपाली सुखी भएको
सबै नेपाली समृद्ध भएको
घर–घरमा बिजुली र खानेपानी
आफ्नो सफलताको कथा
पेस गरिरहेछन् जनप्रतिनिधि
तिर्खाले मुख प्याक–प्याक पार्दै
लामबद्ध भएर सकिनसकी
गाइरहेछन् राष्ट्रियगान विद्यार्थी
सुसाएको सुसाएकै छ दूधकोसी
सुसाएको सुसाएकै छ सुनकोसी
धेरै भोट झरिसकेको छ
पानीको नाममा
तर
दुवैतिर बडेमानको कोसी बगाएर
काकाकुलझैं
तिर्खाएको तिर्खाएकै छ– च्यास्मिटार
कहिले पिउन पाउँछ ?
दूधकोसीको पानी च्यास्मिटारले
सुनकासीको पानी च्यास्मिटारले ।

नेर्पा, खोटाङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार