होलीको हर्षौल्लास

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली बुधबार हिमाली एवम् पहाडी जिल्लामा हर्षाेल्लाससाथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु बुधबार परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदै छ ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो चाड प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा कामविशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्नेक्रम बन्द हुँदै गएको छ । फागुको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहोर पानी छ्यापेको देखिएन ।
विशेषगरी लोलामा पानी भरेर युवतीलाई एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिक रूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागुको अघिल्लो दिन पनि सहज रूपमा हिँडडुल गर्न सकेको ललितपुर महानगरबाट वसन्तपुर कार्यालयमा भेटिएकी मनिता महर्जनले सुनाइन् ।
यस चाडका अवसरमा बुधबार काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रंगीचंगी तुल्याउँदै त्यहाँ गाडिएको चीर विधिपूर्वक ढाली बाजागाजासाथ टुँडिखेल लगी जलाउँछन् । चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वाससाथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रंगीचंगी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।

बुधबार राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीं पनि नबिसाई ल्याइएको दस पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।

राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) ले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेकी छने ।
बुधबार फागु पूर्णिमाका अवसरमा राष्ट्रपति भण्डारीले जारी गरेको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस चाडले सबैमा नयाँ उमंग र हौसलासाथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेकी छन् ।
सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै राष्ट्रपतिले सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने बताइन् । होलीले अमूल्य संस्कृतिको संरक्षण र प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रहसमेत उनले शुभकामना सन्देशमा व्यक्त गरेकी छन् ।
सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुसी र हर्षाेल्लासपूर्वक रङमा रमाएर होली मनाउने प्रचलन रहेको सन्देशमा उल्लेख छ । होली बुधबार र बिहीबार नेपालभरि मनाइँदै छ ।

 

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादसाथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो चडसँग जोडिएको छ ।
त्यसैबेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ । यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए ।
राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धूवाँबाट शीतकालका अनेकौं रोगका कीटाणु निर्मूल हुने हुनाले यो चाडको आयुर्वेदिक महत्व पनि छ । फागुका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो चाड पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ । यस वर्ष पनि तराईमा बिहीबार होली मनाइँदै छ ।
यस चाडका उपलक्ष्यमा हिजोआज रमाइलोनिम्ति गाँजा, भाङ, जाँड–रक्सीजस्ता नशालु पदार्थ पिएर गुन्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा समेत लोला हिर्काउनेजस्ता विकृति पनि कम हुँदै गएको छ । यस दिन विशेषगरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रंगिएर बाजागाजासाथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् ।
यो चाडमा थकालीहरू रंगीबिरंगी पोसाकमा सजिएर स–परिवार भेला भई तीर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो चाडमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई मीठामीठा खानेकुरा खाई रमाइलो गरिन्छ ।

राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्रका नागरिक भाषा, कला, संस्कृतिले अत्यन्तै धनी रहेको बताएका छन् ।
उपराष्ट्रपति पुनले होलीका अवसरमा बुधबार एक शुभकामना सन्देश दिँदै काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली भेगमा फागु पूर्णिमाको दिन र तराई–मधेसमा भोलिपल्ट भव्य रूपमा मनाइने होलीले सम्पूर्ण नेपालीमा सुख, शान्ति, सद्भाव, समृद्धि र निरन्तर प्रगतिको कामना गरेका छन् ।
उपराष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको यस सुखद समयमा आउने यस चाडले सप्तरंगीजस्तै रंगीन नेपाली समाजलाई एकसूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास लिएको छु ।’
सप्तरंगी रंगजस्तै समृद्धिका विभिन्न आधारको तीव्र विकासका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई सार्थक बनाउन सबै नेपालीलाई प्रेरणा दिने विश्वाससमेत आफूले लिएको उनको भनाइ छ ।

फागु नेपाल र भारतलगायत अन्य देशमा पनि मौलिक तरिकाले मनाउने गरेको पाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो चाडमा आपसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रंगीचंगी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो चाड मनाइन्छ । यस चाडमा नयाँ लुगा र गहना लगाउने गरिन्छ ।
अमेरिकामा ‘होबो’ नामले मनाइने यो चाडमा मानिसहरू विभिन्नप्रकारका हास्यात्मक भेषभूषा लगाई प्रतियोगिता गरी विजयीलाई पुरस्कार दिइन्छ । यसैगरी, श्रीलंका र इन्डोनेसियाको जाभामा आगोको पूजा गरेर, म्यान्मार र थाइल्यान्डमा पानीको पूजा गरेर, बौद्ध मन्दिरमा भिक्षुलाई दान दिएर, जापान र इन्डोनेसियाको सुमात्रामा नयाँ अन्नलाई नाचगानसाथ स्वागत गरेर, चीनको युनानमा डाइनोसियस देवताको पूजा तथा नाचगान गरेर र इजिप्टमा हास्य, विनोद तथा नाचगान गरी मनाइन्छ ।

रैथाने संस्कृति जोगाउन सहृदयता फागु

फागु पूर्णिमाका अवसरमा सहृदयता समाज नेपालले ‘सहृदयता होली कार्यक्रम’ गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षण मौलिक सांगीतिक प्रस्तुुति रहने समाज अध्यक्ष बलराम प्रजापतिले बताए ।
मैथिली, भोजपुरी, थारु, नेपाल भाषा र नेपाली भाषामा कलाकारले होली विशेष प्रस्तुुति गर्नेछन् । समाज, युग निर्माण महिला समाज नेपाल र मैथिल युवा क्लबको संयुक्त आयोजनामा कार्यक्रम नयाँबानेश्वर शान्तिनगरस्थित ॐ शान्ति चोकमा हुनेछ ।
नेपालको रैथाने संस्कृति संरक्षणका लागि बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछ । कार्यक्रममा निःशुुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार