रुपाली होलीमा ८२ वर्षीय पूर्वसांसद

शेरबहादुर सिंह

भीमदत्तनगर । पूर्वसांसद गंगादत्त जोशी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा होली चाडको खेलमा पाइला मिलाइरहेको अवस्था भेटिए । ८२ वर्षीय जोशीमात्रै नभई, उनीसित डडेल्धुराको रुपालबाट भीमदत्तनगरमा बसाइँ सरेका धेरै वृद्ध फागूपूर्णिमाका अवसरमा आयोजित परम्परागत रुपाली होलीमा रमाए ।
वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रंगीन चाड होलीमा देशभरि रमाइलो भइरहेका बेला यहाँ विगत ५० वर्षदेखि रुपाली होलीले निरन्तरता पाइरहेको छ । ‘रुपाली होली कहिलेदेखि सुरु भयो भनेर तिथिमिति पत्ता लगाउन सकिएको छैन,’ पूर्वसांसद जोशीले भने, ‘आफ्नो परम्परा र संकस्कृतिको जगेर्ना गर्न युवा पुस्तालाई सहभागी गराउन होली रुपाली समुदायको घर–घरमा पुगेर मनाउँछौँ ।’
विक्रम संवत् २०१८ देखि हालसम्म कञ्चनपुर, कैलालीलगायत मुलुकका विभिन्न भागमा बसाइँ सरेका डडेल्धुराको भागेश्वर गाउँपालिका–२ रुपालका स्थानीय बसाइँसँगै त्यहाँको परम्परागत होलीलाई भव्य रूपमा मनाउँदै आएका भीमदत्तनगरका स्थानीय अर्जुनदेव जोशी बताउँछन् । ‘अनेकन चाडचाड र कला संस्कृतिबीचमा रुपाली होलीको आफ््नै लय, मान्यता र संस्कार छ,’ उनले भने, ‘अनुमतिविना र अपरिचितलाई जबर्जस्ती रङ लगाउने चलन छैन ।’
दशकौँदेखि भीमदत्तनगरमा रुपाली होली समिति गठन गरी एकादशीदेखि पूर्णिमासम्म होली मनाउने गरिएको छ । रुपाली समुदायले होली सबैको घरमा पालैपालो खेल्छन् । फागू पूर्णिमामा मनाइने होली आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको चाड हो । ‘देउडाजस्तै पाइलामा पाइला मिलाएर खेलिने रुपाली होलीमा भगवान् श्रीकृष्ण र रामको महिमा तथा चरित्रको गुणगान गाइन्छ,’ रुपाली होली समिति भीमदत्तनगरका सचिवसमेत रहेका जोशीले भने, ‘युवापुस्ता रुपाली होलीबाट टाढा छैन ।’ उनका अनुसार रुपाली समुदायले होली विशेष रूपमा मनाउने गरेको छ ।
होलीका बेला काम र अन्य हिसाबले बाहिरिएका पनि बिदा तथा समय मिलाएर घर फर्कन्छन् । नयाँ पुस्ताले रुपाली होलीको जर्गेना गर्नु जरुरी छ । भीमदत्त नगरपालिकाको जिमुवा, गोबरिया, निम्बुखेडा, भाषीलगायत क्षेत्रमा रहेका रुपालवासी अहिले समूह बनाएर परम्परागत होलीलाई निरन्तरता दिँदै आएका स्थानीय जयराम पनेरूले बताए ।
‘सुदूरपश्चिम प्रदेशमा समुदायपिच्छे होली खेल्ने र मनाउने तरिका फरक फरक छन्,’ चालीस वर्षदेखि निरन्तर रुपाली होली खेल्दै आएको पनेरूले भने, ‘रुपाली होली शक्ति र श्रद्धाको खेल हो ।’ आइतबार भीमदत्तनगरस्थित वैजनाथ मन्दिरमा पूजाअर्चना गरी सुरु भएको रुपाली होली पूर्णिमाका दिन सोही मन्दिरमा पुगी विर्सजन गरिन्छ ।
होली खेलेर संकलित रकम वैजनाथ मन्दिरको भौतिक पूर्वाधार निर्माणदेखि मर्मतसम्भारमा खर्च गरिँदै आएको समिति सचिव अर्जुनदेव जोशीले बताए । भीमदत्तनगर र आसपासका क्षेत्रमा २ सय ५० परिवार रुपाली समुदायको बसोबास छ । रुपालवासीको घरमा होली खेल्दा ढोलक र तबलाको धुनमा भगवान्का गीत गाएर घरैपिच्छे अबीर लगाई रमाइलो गरिन्छ । भर्खर बिहे गरेका र सन्तान जन्माएकाले होलीमा विशेष भोजन खुवाउने चलनसमेत रुपाली समुदायमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार