हराउँदै होलीको रौनक

गोपालप्रसाद बराल

बर्दिवास । रङ, अबिर र उमंगको चाड होलीको पहिलो दिन पनि महोत्तरीसहितका मिथिला क्षेत्रमा रौनक हराउँदै गएको छ । चाडको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि यहाँ होली आए नआएको पत्तै पाइन छाडेको स्थानीय बताउँछन् ।
श्रीपञ्चमीदेखि नै अबेर रातिसम्म गुञ्जने जोगिरा (फागुविशेष गीत) सुन्न छाडिएको छ । वसन्त उत्सव मनाइएसँगै मृदंग, हारमोनियम र डम्फु (जोगिराका वाद्यवादन) का तालमा प्रत्येक रात मिथिलाका बस्ती–बस्तीमा गाइने जोगिरा हराउँदै गएपछि चाडको मौलिकता हराएको बूढापाकाको भनाइ छ ।
श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गवैया (गायक) का समूहले गाउने गीतले दिने होली चाडको सन्देश सुन्न छाडिएपछि चाड आएको पत्तै पाइन छाडिएको महोत्तरीको भंगाहा–४ का पुराना जोगिरा गवैया ७५ वर्षीय रामनन्दन महतोले बताए । ‘एक जमाना थियो, हामी जोगिरा गाउन थालेपछि डेढ महिनासम्म पूरै बस्ती उमंगमा हुन्थ्यो,’ उनले भने, ‘अब जोगिरा सुन्न मन व्यग्र हुन्छ ।’
‘फागु चाड त आए पनि आएको भान नै पर्दैन,’ बर्दिवास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतोले दुःखेसो पोखे । पुराना जोगिरा गवैया धेरैजसोको मृत्यु भएको र कतिपय बुढ्याइँले घरको कुनामा थन्किएसँगै नयाँ पुस्ताले यो संस्कृतिबारे चासो नदिएपछि लोपकै अवस्थामा पुगेको ७० वर्षीय बालेश्वर ठाकुरले बताए ।
‘किनका के हाथ में कनक पिचकारी, किनका के हाथ में अबिर झोरी ? रामजी के हाथ में कनक पिचकारी, सीयाजी के हाथ में अबिर झोरी । जोगिरा…सररर ।’ अर्थात् कसको हातमा सुनौला पिचकारी र कसको हातमा अबिरको झोली छ ? भन्ने प्रश्नमा ‘रामजीके हातमें कनक पिचकारी, सीयाजी हातमें अबिर झोरी । हो खेलैय होली’ श्रीरामका हातमा सुनौलो पिचकारी र सीताजीको हातमा अबिर झोली । खेलौं है होली, गवैया समूहले सवालजवाफ शैलीमा गाइने जोगिराका यी स्वर सुन्न छाडिएपछि चाडको रौनक हराएको पाका मैथिल (मिथिलाका बासिन्दा) बताउँछन् ।
तिथिमिति सम्झना नराख्नेका लागि पनि होली आउन लागेछ भन्ने सन्देश दिने मृदंग, हारमोनियम र डम्फुका तालमा सुनिने जोगिरा लोप भएको आँखाभरि हेरिरहँदा मन अड्याउन सकस पर्ने गरेको गौशाला नगरपालिका–१२ का लक्ष्मी महतोले बताए । होलीमा हास–परिहास, ठट्टा गरिनेबीच गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव र उसको संयुक्त प्रतिबिम्ब हुने जोगिरा सुन्न छाडिएपछि यो चाड आउँदै गरेको छनक नै हुन छाडेको नेपाली कांग्र्रेस भंगाहाका नगर सभापति ७० वर्षीय रूपनारायणसिंह थारूले बताए ।
संस्कृतिको सम्झनामात्र नभई, त्यो प्रतिको समर्पणभाव, भक्तिका लयमात्र नभई रतिराग, दुःख र जीवनका तीता अतीत बिर्साउने रउस र अबिर एवम् रंगको महिमा एकसाथ सुन्न पाइने जोगिरा लोप हुँदै गएपछि होलीको रौनक पनि घटेको स्थानीय पाका मैथिलको भनाइ छ ।
गवैयाले ठट्टा भावका जोगिराका यी हरफ गाउँदा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु चाडको सौन्दर्य स्वात्तै घटेको पुराना जोगिरा गवैयाले बताए ।
जोगिरा गीतमार्फत हुने ठट्टाले दिने मनोरञ्जन र कोठाभित्र लुकेर बसेकी नवयौवनालाई शृंगारिक गीतका भावले आउँदो होरीमा फागु खेल्न आउने चुनौतीपूर्ण निम्ता दिने यस्ता स्वर सुनिन छाडेपछि आफ्नै ठाउँ बिरानोजस्तो लाग्ने गरेको एकडारा गाउँपालिका भटौलियाका विजयकुमार कर्ण बताउँछन् । सामाजिक छुवाछूत, उचोनिचो जात र भिन्नभिन्न धर्म–संस्कृतिप्रति परहेज गर्नेहरू पनि एक अर्काेलाई अंकमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली चाड मिथिला संस्कृतिको धरोहर मानिन्छ ।
जोगिरामा कामोत्सव भाव, वीर रस, आफ्नो परम्परागत संस्कृतिप्रतिको गौरवबोध, अध्यात्मिक पक्ष र धार्मिक परम्पराप्रतिको समर्पण, मायाप्रेम, ऊर्जा संस्कृतिको प्रचुरता, परम्पराको निरन्तरता र उमंगको भाव एकसाथ भेट्टाइने पूर्वउपसचिव ७८ वर्षीय कृष्णचन्द्र झाले बताए । आउने दिनमा मैथिल युवाले यहाँको मौलिक संस्कृति जगेर्नामा ध्यान दिन सकेमात्र मिथिला संस्कृति र सभ्यताको पहिचान संरक्षण हुन सक्ने शिक्षण पेसाबाट अवकाश लिएका भंगाहा–७ मेघना थगोरहन्नाका ६२ वर्षीय चन्द्रनारायण चौधरी थारूको नयाँ पुस्तालाई सुझाव छ ।
मिथिलामा श्रीपञ्चमीसँगै जोगिरा सुरु हुने र मिथिला माध्यमिकी परिक्रमाको आठौँ दिन महोत्तरीकै कञ्चनवन (भंगाहा) मा रामसीताले अबिर खेलेको सम्झनामा यात्रीले रामजानकीलाई अबिर अर्पित गरी प्रसादस्वरूप एक–अर्कालाई लगाइदिएपछि रङ अबिरको फागु चाड विधिवत् सुरु भएको मानिने परम्परा रहँदै आएको छ । पहाड र भित्री मधेसमा बुधबार र मिथिला क्षेत्रमा बिहीबार फागु चाड मनाइँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार