होलीमा उच्छृङ्खल देखिए पक्राउ


काठमाडौं । रङको चाड होलीलाई संस्कृतिअनुसार आपसी शुभकामना साटासाट गरेर शान्तिपूर्ण बनाउनका लागि नेपाल प्रहरीले विशेष प्रचारात्मक अभियान चलाएको छ ।
काठमाडौं उपत्यकामा विगत चार दिनदेखि हरेक प्रहरी इकाइमार्फत समुदायसँग मिलेर प्रचार–प्रसार अभियान चलाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी र समुदायले संयुक्त अभियानमार्फत प्रचारात्मक र्यालीसहित माइकिङ, मोबाइल गस्ती गरेर सचेतना जगाएको थियो । तर, उच्छृङ्खल देखियो भने कारबाही हुने उनले चेतावनी दिए ।
यो वर्ष काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा चैत ६ गते र तराईमा चैत ७ गते होली मनाइँदै छ । भित्री मधेसका कतिपय जिल्लामा भने होली दुवै दिन मनाउने गरिन्छ । रङ दलेर होली आपसमा भाइचारासाथ खुसी मनाउँदै सद्भाव साटासाट गर्ने चाड हो । तर, पछिल्लो समयमा बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ््याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधि देखिने गरेको छ । यस्ता विकृतिले कतिपयको लडेर त कतिपयको आपसी विवादका कारण मृत्यु नै भएका घटना छन् ।
अहिले जिल्ला प्रहरी कार्यालयलाई घटना भएपछि पक्राउ गर्नुभन्दा घटना हुन नदिनका लागि विभिन्न कार्यक्रम गरी सचेतना अभियान सञ्चालन गर्न निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले घटना हुन नदिन सुरुमै प्रचारात्मक कार्यक्रममार्फत सचेत बनाउँदै संस्कृति र परम्पराअनुसार होली खेल्न अनुरोध गरिएको छ । चाडका दिन कुनै उच्छुङ्खलता देखियो भने पक्राउ गरी कारबाही गरिने बताए ।
समुदाय र प्रहरीको संयुक्त अभियान जारी रहेकाले विगतको भन्दा घटना न्यूनीकरण हुने विश्वास गरिएको उनको भनाइ छ । यसपटक काठमाडौंमा मात्रै १०७ स्थानमा चेक प्वाइन्ट राखेर होलीलाई शान्तिपूर्ण बनाइएको प्रहरीले जनाएको छ ।
होलीको दिन बुधबार सादा पोसाकमा दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । काठमाडौंको वसन्तपुर, टँुडिखेल, सामाखुसी, टोखा, महाराजगन्जलगायत १८ स्थानमा होली कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट विभिन्न संघ–संस्थाले अनुमति लिएका छन् । सो क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक बोगटीले इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, पानी खन्याउने, अमर्यादित गतिविधि गरेको पाइएमा अभद्र व्यवहारअन्तर्गत कानुनी कारबाही हुने उल्लेख गरे ।
‘सबैलाई मेरो विनम्र अनुरोध छ । होलीलाई संस्कृतिअनुसार शान्तिपूर्ण तवरले मनाइदिनुहोला,’ बोगटीले थपे । यस्ता गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालयमा अथवा प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिनसमेत आह्वान गरिएको छ ।
काठमाडौं उपत्यकाको तीन जिल्ला हेर्ने महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले होली केन्द्रित गरेर सुरक्षा योजना बनाएको जानकारी दिंँदै शंकास्पद क्षेत्रमा विशेष निगरानीका साथै सुरक्षाकर्मीसमेत थप गरिएको बताए । उनले होलीमा अवाञ्छित गतिविधि नहोस् भनेर काठमाडौं, ललितपुर र भक्तपुरमा समुदायसँग समन्वय गरी सचेतना अभियान सञ्चालन गरिएको जानकारी दिए ।
७७ जिल्लाले तीन दिनदेखि नै होली विशेष सुरक्षा योजनाअन्तर्गत प्रचारात्मक कार्यक्रम अघि बढाएको र मापसे चेकजाँचदेखि अवाञ्छित गतिविधि निगरानीमा प्रहरी कर्मचारी थपेर सुरक्षा मजबुत बनाइएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए । उनका अनुसार सादा पोसाकका प्रहरी, घुमुवा प्रहरी र गस्ती टोलीसमेत बढाइएको छ ।
हिरण्यकश्यपु नामक राक्षसले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रह्लादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र होलिकाले प्रह्लादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रह्लादलाई केही नभएको किंवदन्तीअनुसार त्यसैको खुसियालीमा आपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।

होलीमा ७७ स्थानमा ट्राफिक जाँच

ट्राफिक प्रहरीले होली चाडमा हुने दुर्घटनालाई ध्यानमा राखेर उपत्यकाका ७७ स्थानमा विशेष जाँच गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली चाडलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ७७ स्थानमा विशेष जाँचको व्यवस्था मिलाएको हो । प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले मादक पदार्थ खाएर जथाभावी सवारी चलाउने, मोटरसाइकलमा तीनजना राख्ने, तीव्र गतिमा चलाउने, ठूलो आवाज निकालेर सवारी साधन चलाउनेलाई कारबाही गर्न विशेष जाँचको मिलाइएको बताए ।
‘होलीलाई दुर्घटनारहित र मर्यादित बनाउन ५०० भन्दा बढी ट्राफिक प्रहरी खटाउन लागेका थियौं,’ उनले भने । बिहान सातदेखि बेलुका सात बजेसम्म गर्ने सो कामका लागि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा अनुगमन, १९ वटा मोबाइल टोली र मोटरसाइकलमा ट्राफिक प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।
सवारी साधन प्रयोग गरी लोला हान्नेलाई नियन्त्रणमा लिई कारबाही गर्नुका साथै होलीमा कारबाही परेका सवारी साधनलाई अनिवार्य कक्षामा सहभागी हुने व्यवस्था गरिएको महाशाखाका प्रमुख पन्तले बताए । होलीमा गत वर्षमात्र २२ दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी एक गम्भीर तथा १७ घाइते भएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार