काम गरेको पारिश्रमिक माग्दा कानको जालो फुट्नेगरी कुटपिट


हलेसी (खोटाङ) । काम गरेको पारिश्रमिक माग्दा हलेसी तुवाचुङ नगरपालिका–७ ऐंसेलुखर्कनिवासी सचिन राई कुटिएका छन् ।

ऐंसेलुखर्ककै पेसल राईले सचिन राईलाई निर्घात कुटपिट गरेका हुन् । तुवाचुङ जायजुम संरक्षण समिति भवनको पुरानो प्लास्टर भत्काउने (चिपिङ) गरेको कामको पारिश्रमिक पटक–पटक माग्दा अन्ततः कानको जालो फुट्ने राई कुटिनुपरेको थियो ।

सचिन राई कुटिनुका कारण सोध्न पेसल राईको मोबाइल नम्बर ९८६१६१४०८७ मा पटक–पटक टेलिफोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् । पछिल्लोपटक उनको मोबाइलमा टेलिफोन गर्दा ‘म उनको भाइ हुँ । दाइ मोबाइल चार्ज गरेर बाहिर निस्कनुभएको छ’ भन्नेले रिसिभ गरेका थिए । पेसल राई तुवाचुङ जायजुम संरक्षण समितिअन्तर्गत निर्माण समितिको कोषाध्यक्ष हुन् । काँग्रेस महासमिति सदस्य दिनेश राईका भाइ हुँ भन्ने पेसलको फुर्तिफार्ती चर्चा गरिसाध्ये छैन ।

पेसल राई तुवाचुङ जायजुम संरक्षण समिति महासचिव दिनेश राईका कान्छा भाइ हुन् । समिति महासचिव राईले आफूलाई काम लगाएको सचिन राईले टेलिफोनमा सुनाए । ‘मैले काम गरेको पैसा बाराम्बार पेसल राईलाई मागें । बारम्बार पैसा माग्दा पेसलले आलटाल गर्दै गए,’ उनले दुःखेसो पोखे, ‘त्यस दिन पनि मैले उनकै घरमा पैसा माग्दा वास्तै गरेनन् । वास्ता नगरेपछि घर फर्कंदै थिएँ । पेसल राईले बाटोमै एक्कासि कुट्न थाले । ज्यान बचाउन भाग्दा लालबहादुर राईको घरमा भीमकेशर राईले समेत हातपात गरे । पेसलले भने कुट्नसम्म कुटे ।’

राईद्वयले निर्घात कुटपिट गर्दा सचिन राईको बायाँ आँखा र खुट्टामा चोट लागेको छ भने देब्रेकानको जालो फुटेको छ । उपचारका लागि हलेसी स्वास्थ्यचौकी पुगेका उनलाई ओखलढुंगा रेफर गरिएको थियो । ओखलढुंगाबाट सचिनले टेलिफोनमा भने, ‘चिकित्सकले कानको जालो फुटेको भनेका छन् । १० दिनका लागि औषधि लेखिदिएका छन् । त्यसपछि पनि निको भएन भने उपचारका लागि काठमाडौं जानुपर्छ अरे ।’

काम गरेको पैसा माग्दा कानको जालो फुट्नेगरी कुटपिट गर्न मिल्छ भनेर सोध्दा भीमकेशर राईले भने, ‘हामीले सचिनलाई कुटेका छैनौं । कानको जालो फुट्नेगरी कुटेको भनेर अफवाह फैलाइएको हो । मेडिकल रिपोर्टले बोल्नुपर्छ । त्यत्तिकै त्यसो भन्न पाइँदैन ।’

भीमकेशर राई सचिनका काकाससुरा हुन् । ‘काम गरेको पैसा नपाएपछि सचिनले पेसललाई नदिने भए नदे, नदे । खा, खा भन्न थाले,’ भीमकेशरले भने, ‘त्यसो भन्दै सचिनले पेसललाई ढुंगा हान्न खोजे । मैले त्यसो गर्न हुँदैनमात्रै भनेको हुँ । कुटेको छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार