रोग निको नभए छारिमाला जाऊँ

एमिला राई

धितुङ (खोटाङ) । ‘म आमाको गर्भबाटै भगवान्देखि रुचाइएकी थिएँ,’ माता तारादेवी राईले सुनाइन्, ‘तर, ईश्वरलाई चिन्न नसक्दा र नबुझ्दा साह्रै दुःख पाएँ ।’
‘धरानबाट हलेसी आउनुभएको दुर्गा मातालाई भेटेपछि प्रक्रियागत ढंगले भगवान्को पूजा गर्ने विधि थाहा पाएँ,’ माता राईले खुसी व्यक्त गरिन्, ‘उहाँकै सल्लाहमा विधि पुर्याई पूजा गर्नेक्रममा सात वर्षसम्म मन्दिरमा साउन र माघ महिनामा पूजा गरें । गुफा बसें । श्रीस्वस्थानी माताको पूजा गरी दूधकोसीमा सालिन्दा साङ्गे गरेपछि ममाथि माताले बास गर्नुभयो ।’
उनले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङको गराबु पुछारमा छारिमालामा श्री ॐ सन्तोषी माता मन्दिर स्थापना गरेकी छन् । ‘सालिन्दा माघमा श्रीस्वस्थानी पूजा गरी दूधकोसीमा साङ्गे गर्न थालेपछि लगातार माताले बास गर्नुभयो । सपनामा मात्रै होइन, मनमा बसी थुप्रै भगवान्का नारायणरूपी शिला देखापर्न थाल्नुभयो,’ श्री ॐ सन्तोषी माताको मन्दिर स्थापनाबारे माताले सुनाइन्, ‘श्री जगदीश्वर महादेव, गणेश, सन्तोषी माता, भगवती देवी, शिवकालीलगायत सम्पूर्ण भगवान्को शिला पटक–पटक भेटेपछि सन्तोषी माताको मन्दिर स्थापना गरेकी हुँ ।’
सन्तोषी माताको मन्दिरको गेटमा शिवकाली मन्दिरसमेत रहेको छ । ‘पहिले माताको शरण परी मन्दिर प्रवेश गर्नुपर्छ,’ मन्दिर प्रवेश र पूजाआजा विधिबारे उनले जानकारी गराइन्,
‘फलफूल, फूलमाला, अबिर, अछेताले पूजाआजा गर्नुपर्छ । पशुपक्षीको बलि दिनुुहुँदैन ।’ जुनसुकै भगवान्लाई फूलमालालगायतले पूजाआजा गर्दा पुण्य कमाइने उनको विश्वास छ ।
स्थानीय भीम कटवाल, निर्मला राई, गजुरमान राई र पूर्णमाया राईको एउटै भनाइ छ, ‘श्री सन्तोषी माताको मन्दिरमा सत्यता छ ।’
स्थानीय कुमारी राईले थपिन्, ‘खुट्टा नचलेर एक वर्षसम्म चर्पी जान नसक्ने भएकी थिएँ । सन्तोषी माताको मन्दिरमा भाकल गरेपछि साथीहरूको सहारामा बिस्तारै मन्दिर पुगी पूजाआजा गरेपछि हलेसीसम्म हिँडेर जान थालेकी छु ।’
‘म बिरामी भएपछि बाँच्न सक्दिनँजस्तो लागेको थियो,’ झापाका सुरेश लिम्बूको भनाइ थियो, ‘उपचारका लागि हस्पिटल धाउँदाधाउँदा हैरान भइसकेको थिएँ । कहिल्यै निको भएको होइन । तर, माता तारादेवीसँग झापाको अर्जुनधारा मन्दिरमा भेटेपछि उहाँद्वारा स्थापित सन्तोषी माता मन्दिर आई पूजा गरी माताको उपचार पाउनासाथ निको भएँ । आजसम्म सन्चै छु ।’
पूर्णिमा, पञ्चमी, एकादशी र विशेषगरी असोजमा दुर्गा भवानीको नौदिने पूजामा श्री सन्तोषी माताको मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार