पानीका लागि २६५ पटक लडाइँ

दिनेशराज भुजू

पानीको महिमा ठूलो छ । सृष्टि र अस्तित्व पानीमै अडेको छ । वैज्ञानिकहरूको भनाइ छ, ‘पृथ्वीको पहिलो जीव साढे तीन अर्ब वर्षपहिले समुद्रको तातोपानीको मुहानतिर भएको थियो ।’ मानिस दुई लाख वर्षपहिले आएका हुन् । मानिस जहाँबाट देखापरे पनि उसको सभ्यता नदीकिनारमै विस्तार भयो । विश्वका प्रमुख सभ्यता मध्यएसियाको मेसोपोटामिया, अफ्रिकाको नाइल, दक्षिण एसियाको इन्दस र गंगामैदान, चीनको ह्वाङ हो नदीछेउ विकास भएका थिए । त्यसैले मानिस विभिन्न ग्रहको अनुसन्धानमा लाग्दा पानी भेट्टाउन व्यग्र हुन्छन् । चन्द्रमाको ध्रुवीय टुप्पोमा जम्मा भएको हिउँबाट कसरी पानी निखन्न सकिन्छ भनेर नासाका वैज्ञानिक लागिरहेका छन् । सबैलाई थाहा छ– चन्द्रमामा बस्ती विस्तार गर्दा पृथ्वीबाट पानी ओसार्न सम्भव हुँदैन ।
मानव शरीरको ६० प्रतिशत पानीले ओगटेको हुन्छ । ७२ केजी तौलको वयस्क शरीरमा ४२ लिटर पानी हुन्छ । उनको शरीर अर्बौंको संख्यामा रहेको कोसले बनेको हुन्छ । ती प्रत्येकलाई पानी नभई हुँदैन । त्यसैले बेलाबेला उसलाई पानीको प्यास लाग्छ । पानी अभावमा छटपटाउँछ । शरीरबाहेक मानिसका सबै क्रियाकलापनिम्ति पानी नभई हुँदैन । बालीनाली वा वन–जंगल, मत्स्यपालन वा पशुपालन, खाद्य पकवान वा सरसफाइ, कलकारखाना वा उड्ने, गुड्ने साधन पानीविना असम्भव छ । मानिसको जीवन निर्वाहनिम्ति प्रतिदिन ४५ लिटर पानी आवश्यक पर्छ ।
सन् २०२५ सम्ममा विश्वको आधा जनसंख्याले पानीको हाहाकार झेल्नुपर्ने लख काटिएको छ । पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । सम्भवतः बाह्य ग्रहका मानिसले हामीलाई पृथ्वीवासी नभनी जलवासी भन्दा हुन् । तर, हामीले प्रयोग गर्ने पानी धेरै छैन । यदि पृथ्वीमा भएभरको पानीलाई चलनचल्तीको एक घैंटो मान्ने हो भने हामीलाई उपलब्ध पानी फ्रेस वाटर भनेको एक अञ्जुलीमात्र हुन आउँछ । बग्नु पानीको प्रकृति हो । धोइपखाल्ने वा घोल्नु उसको चरित्र हो । जलचक्रका कारण ऊ फेरि–फेरि शुद्ध बन्छ । तर, मानिस पानीमाथि आफ्नो नियन्त्रण खोज्छ, जुन कलहका कारण बन्न जान्छ ।
पाँच हजार वर्षको मानवइतिहासमा पानीकै निम्ति अभिलिखित २६५ लडाइँ भइसकेको अनुसन्धानकर्मी बताउँछन् । यो सालाखाला २० वर्षमा एउटा लडाइँ हो । एकथरी विद्वान्हरूका अनुसार बुद्धको गृहत्याग पानीसित जोडिएको लडाइँ थियो ।
बुद्ध शाक्य वंशका राजकुमार थिए । उनको नाम सिद्धार्थ थियो । दरबारका सुख–सुविधा अनि राजा बन्ने अवसर त्यागेर उनी वनबास गए । यद्यपि, उनको गृहत्याग ज्ञानको खोजीनिम्ति बन्यो । यसको पृष्ठभूमिका विषयमा भने विद्वान्हरूको धारणा फरक पाइन्छ । डा. भीमराव अम्बेडकरका अनुसार सिद्धार्थको गृहत्याग पानीको राजनीति र युद्धसित जोडिएको छ । अम्बेडकरले भारतको संविधान लेखे । उनी बुद्ध दर्शनका उपासक अनि ठूला अन्वेषक बने । अम्बेडकरद्वारा लिखित ‘दी बुद्ध एन्ड हिज धम्म’ मा सिद्धार्थ गौतमले कुन परिस्थितिमा गृहत्याग गरे भन्ने विषयमा तर्कपूर्ण विस्तृत व्याख्या गरिएको छ ।
शाक्य वंशको राज्य कपिलवस्तुमा थियो । यो कोलीयसित जोडिएको थियो । दुई राज्यलाई रोहिणी नदीले छुट्ट्याएको थियो । शाक्य र कोलीय दुवैले रोहिणीको पानीबाट आ–आफ्ना खेतमा सिञ्चाइ गर्थे । तर, कसले पहिले र कति भन्ने विषयमा दुईबीच सालिन्दा विवाद हुन्थ्यो । यसैक्रममा कुनै वर्ष विवाद चुलिएर आपसमा मारपिट चल्यो । त्यसले गम्भीर रूप लियो । शाक्य सेनापतिले कोलीयविरुद्ध युद्ध घोषणा गर्ने हेतुले संघमा प्रस्ताव ल्याए । उनीहरूको संघ एकप्रकारले संसद्जस्तो मानिन्थ्यो । राजकुमार सिद्धार्थ पनि संघ सदस्य थिए । उनले प्राकृतिक स्रोतका रूपमा रहेको पानीकै लागि मारकाट गर्नु नपर्ने बरु कोलीयसित आपसी सल्लाहमा पानी उपयोग गरी सधैंका लागि युद्ध टार्न सकिने बताए । सेनापतिले लडाइँमा अग्रसर हुनु, क्षेत्रीय धर्म भएको ढिपी कसे । सिद्धार्थले धर्मको सिद्धान्तअनुसार शत्रुताले शत्रुतालाई नष्ट गर्दैन र शत्रुतालाई केवल मित्रताले मात्र समन गर्न सकिने दार्शनिक तर्क दिए । ती दुईको कुरा किल्कुलै फरक थियो । जुन छलफलबाट टुंगो लाग्न सकेन । अतः दुई प्रस्तावमा छिनोफानो गर्न संघमा मतदान गरियो । सेनापतिले बहुमत प्राप्त गरे ।
संघको नियमानुसार अल्पमतमा परेका राजकुमार सिद्धार्थलाई तीन विकल्पमध्ये एक छान्नुपर्ने बाध्यता आइलाग्यो । पहिलो– सेनापतिको कुरामा सहमति जनाएर युद्धमा भाग लिने । दोस्रो– मृत्युदण्ड या निर्वासनमा जाने । र, तेस्रोमा समाजबाट बहिष्कृत हुँदै परिवारका सदस्यको जायजेथा हरण गराउन राजी हुने । उनले पहिलो विकल्प स्वीकार्ने कुरै भएन । तेस्रो विकल्पमा उनको तर्क थियो, ‘परिवारको दोष नभएकाले उहाँहरूलाई सजाय किन दिलाउनु ।’ उनले दोस्रो विकल्प रोजे । उनी भने, ‘मलाई फाँसी दिनोस् वा देशनिकाला गर्नुहोस् । म खुसीसाथ स्वीकार्छु ।’
संघमा अनेक तर्क–वितर्क भयो । सेनापति सिद्धार्थलाई मृत्युदण्ड दिएर त्यसको दोष लिन चाहँदैनथे । पुनः छलफलपछि निर्वासनमा पठाउने निधो भयो । यो नै राजकुमार सिद्धार्थको गृहत्यागको आधार बन्यो । ज्ञान प्राप्तिको मार्ग बन्यो ।
नेपालमा ६ हजारभन्दा बढी नदीनाला छन् । कतिपय बस्तीको सीमांकन तिनै नदीबाट गरिएका छन् । कुनै नदीछेउको गणराज्यमा २५ सय वर्षअघि बुद्धको जन्म भयो । प्राकृतिक स्रोतका रूपमा रहेको पानी प्रयोगमा आपसी लडाइँ होइन, मिलेर प्रयोग गर्दा दिगो रहने मान्यताका लागि उनले आफ्नो जीवन दाउमा राखे ।
मुलुक संघीयतामा गइसकेको छ । पहिचानको सवालबाहेक प्राकृतिक स्रोत खासगरी पानी बाँडफाँटको मुद्दा उठ्नेछ । पहाडमा सालिन्दा खडेरीका कारण बस्ती उठ्दै छन् । मधेसमा बाढीको प्रकोप बढ्दो छ । पानी र बाढीको निहुँमा धमिलो पानीमा माछा मार्नेले झगडाको डढेलो लगाइदिने सम्भावना प्रबल छ । यसकारण प्राकृतिक स्रोत कलह होइन, बुद्धले सिकाएजस्तै आपसी छलफलबाट टुंगो लगाउँदा सबैको हित हुनेछ । अन्यथा स्रोतका लागि हुने झै–झगडाको दुष्परिणामले हामीलाई फर्किनै नसक्नेगरी भड्खालोमा हाल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार