‘उत्पीडितले निर्णायक विद्रोह गर्नुपर्छ’

सार्क युथ फेडेरेसन, नेपाल युथ फेडेरेसनको नेतृत्व गर्नुभएका प्रकाश विकल्पले युवा नीति सुधार समिति सदस्य र नेपाल नेसनल प्लानिङ हाई लेभल स्टेट कमिटीमा रहेर पनि काम गर्नुभएको थियो । हिजोआज सामाजिक क्षेत्रमा सुशासन महासंघको नेतृत्व गरिरहनुभएका उहाँ यसका अलावा गतिशील राजनीतिक दललाई मद्दत गर्नुका साथै लेखनकार्यलाई समेत निरन्तरता दिँदै आउनुभएको छ ।
सांग्रिला बुक्सले हालै प्रकाशनमा ल्याएको ‘देश किन बनेन’ पुस्तक बेस्ट सेलिङमै परेको छ । सोही पुस्तकबारे नयाँबानेश्वर काठमाडौंमा रहको उहाँकै कार्यालयमा भेटिनुभएका प्रकाश विकल्पसँग असल चरित्रले गरेको ६ प्रश्न ।

‘देश किन बनेन’ क–कसका लागि र किन ?

देश किन बनेन आमनेपालीका लागि हो । जो नेपाल र नेपालबाहिर बसिरहनुभएको छ । र, किन पढ्ने भन्ने विषयमा नेपालको सामाजिक संरचना र गडबडी कहाँबाट सुरु भएको थियो, सिष्टम डेभलपमेन्टदेखि हाम्रो सामाजिक, राजनीतिक, आर्थिक पक्षको संरचना कहाँबाट बिग्रेको हो भन्ने जान्न सघाउ पु¥याउँछ । नेपाल किन बनेन भनेर जान्न–बुझ्नका निम्ति र ज–जसले विज्ञान, गतिशीलता, सामाजिक रूपान्तरणलाई मन पराउनुहुन्छ, उहाँहरू सबैले यो पुस्तक पढ्नुपर्छ ।

सामाजिक विभेद, वर्गीय असमानता, जातीय अनि लैंगिक विभेद भोगिरहेका आमनागरिक तथा पाठकले यस पुस्तकबाट के अपेक्षा गर्ने ?

विभेदसम्बन्धी मैले यसै पुस्तकको अध्याय तीनमा पनि लेखेको छु । त्यसबाट भन्न खोजिएको मूलभूत कुरा विकास भनेको परिणाम हो, विकास हुनका लागि पनि कारण हुनुपर्छ । त्यसो हो भने हामीले विकास र समृद्धि हासिल गर्ने कारण तयार गरिसकेका छैनौं । किन सकेका छैनौं भन्दा मूलभूत रूपमा हेर्दा सामाजिक, लैंगिक, वर्गीय, जातीय र क्षेत्रीय रूपमा जुन उत्पीडन र विभेद छ, यसले नेपालको विकासमा साँच्चिकै नकारात्मक भूमिका खेलेको छ । उत्पीडनबाट समाजलाई पूर्ण मानवतामा लैजाने वातावरण सिर्जना गर्नुपर्छ । सामाजिक विभेद र उत्पीडन अन्त्य नगरी देश विकासका कुरा गर्छौं भने अनर्थ हुनेछ । कोरा कल्पनामा सीमित हुनेछ । यसले पाठक र आमनागरिकलाई दिने मूलभूत सन्देश भनेको उत्पीडनमा परेको समूह, वर्ग, लिंग, जाति र क्षेत्रलाई राज्यले विश्वासमा लिएर उनीहरूको स्वाभिमान उठाउनुपर्छ । होइन भने उत्पीडितले निर्णायक विद्रोह गर्नुपर्छ भन्ने हो ।

रूढीवादी मान्यता पछ्याइरहेको वर्तमान समयमा विज्ञानलाई अन्तिम सत्य मान्ने जनमत निर्माण गर्न पुस्तकले कस्तो वकालत गर्छ ?

यसमा मुख्यतः दुई कुरा हुन्छन् । एउटा खराब मान्छेको बोलवालाले देश बन्दैन । अर्को इमानदार, सत्य र सही मान्छे निष्क्रिय भए भने पनि देश बन्दैबन्दैन । तर, यो पुस्तकचाहिँ इमानदार र सही मान्छेको सक्रियता, हस्तक्षेप बढाउनुपर्छ भन्ने हिसाबमा लेखिएको हो । यसले नेपाली समाजविज्ञानलाई मान्नुपर्छ भन्ने वकालत गर्छ । विज्ञानलाई मान्नु भनेको सत्यलाई मान्नु हो । सत्यलाई मान्नु भनेको आफ्नो आँखाअगाडिको यथार्थलाई मान्नु हो ।
हिजो कोरा कल्पनामा ऋषिमुनिले लेखेका दर्शनलाई दर्शन मानेर अब देश बन्दैन । तथ्य अगाडि जे छ, त्यसलाई मान्नुपर्छ । विज्ञान भनेको गतिशीलता हो । गतिशील हुन सकेमा हरेक पदार्थ ऊर्जामा रूपान्तरण हुन्छ । शक्तिमा रूपान्तरण हुन्छ । ती चीजमा नेपाली समाज जानुपर्छ । यथास्थितिवादी रूढीवाद, धार्मिक दृष्टिकोणबाट माथि उठेर गतिशील, मानवता र समानतामा आधारित एउटा वैज्ञानिक जनमत निर्माण गर्नुपर्छ भन्ने कुरामा पुस्तकले वकालत गरेको छ ।

पुस्तकले ‘देश किन बनेन’ भन्ने विषयमा मात्र अध्ययन र समीक्षा गर्छ कि, देश कसरी बन्छ भन्नेतिर पनि ध्यानाकर्षण गराउँछ ?

हामी कसरी गरिब भयौं भन्ने कारण जान्यौं भने कसरी धनी बन्ने भनेर जानिराख्न पर्दैन । यो पुस्तकले हामी कसरी गरिब भयौं भनेर उजागर गरेको छ । सँगसँगै यसको अन्त्यतिर हामी कसरी विकासतर्फ जान सक्छौं ? विश्वका विभिन्न देशले छोटो समयमै कसरी विकास गरे ? तिनीहरूले समृद्धि कसरी हासिल गरे ? अब नेपालले समात्ने बाटो के हो ? देश कसरी बन्छ ? भन्ने विषयमा पर्याप्त मात्रामा किनमात्रै होइन, कसरी भन्ने प्रश्नको पनि पुस्तकले जवाफ दिन्छ ।

प्रकाश विकल्पलाई आमनागरिक तथा आमपाठकले के भनेर कसरी चिन्ने ?

विज्ञानमा विश्वास राख्ने एक गतिशील युवा, जो आज जति भइरहेको छ, त्यतिमै सन्तोष नमान्ने, नयाँ–नयाँ परिणाम र खोजमा उत्सुक अनि निश्चित समयमा देशले विकास र समृद्धि हासिल गर्नुपर्छ भन्ने इच्छुक र जागरुक युवा हो भनेर बुझिदिए लाख हुनेछ ।

मात्रै तीन शब्दमा भनिदिनुस् न, देश किन बनेन ?

वर्गीय असमानता, धार्मिक उल्झन, विकृत शासन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार