सार्वजनिक स्थलको पानी बेचेर मासिक ७० हजार

नवीन चाम्लिङ राई

ऐसेलुखर्क (हलेसी),  खोटाङ

 

देशमा राजा छैनन् । राजा नभए पनि पञ्चनेता कुम्भराज राई आफूलाई हलेसीका राजा ठान्छन् । आफूलाई स्वघोषित राजा ठान्ने पञ्चनेता कुम्भराज राईका एकपछि अर्को काला कर्तुत पर्दाफास भइरहेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ ऐंसेलुखर्कनिवासी पञ्चनेता राईको काला कर्तुत तुवाचुङ साप्ताहिकले क्रमशः लेख्दै जानेछ । यसपटक भने उनले सार्वजनिक जग्गाको पानी बेचेर गाउँलेलाई दुःख दिएको दुःखद कथा लेख्दै छौं । उनले हलेसी तुवाचुङ नगरपालिका–७ खार्तोखोमामा रहेको सार्वजनिक जग्गाको मुहानको पानी बेचेर कुस्त रकम कुम्ल्याएका छन् । सार्वजनिक जग्गामा पर्ने खोलाको मुहान आफ्नै हो भन्दै गाउँलेलाई धम्क्याएर हलेसीमा सञ्चालित होटल रोयलका प्रोप्राइटर प्रेम श्रेष्ठलाई मासिक ७० हजार रुपैयाँको दरले बेचेको रहस्य खुलेको छ ।

घरको धारामा पानी आउन छाडेपछि उपभोक्ताले पानीको मुहान मर्मतसम्भार गर्न जाँदा मुहानछेउमै ट्याङ्की राखेर अरूलाई नै पानी आपूर्ति गरेको भेउ पाए । कतिले आफ्नै आँखाले देखे । सार्वजनिक जग्गामा पर्ने मुहानको पानी बेचेको थाहा पाएपछि खानेपानी उपभोक्ताले विरोध गरे । प्रतिउत्तरमा कुम्भराज राईले थर्र्काए, ‘आफ्नो जग्गामा भएको मुहानको पानी बेच्न किन नपाउने ?’ सार्वजनिक जग्गामा रहेको पानीको मुहानबारे उनी जानकार भए पनि गाउँलेलाई गुमराहमा राख्ने असफल प्रयास गर्दै आए । उनलाई पानीको मुहान सार्वजनिक जग्गामा भएको पहिलेदेखि नै थाहा थियो । सार्वजनिक जग्गामा रहेको पानीको मुहान निजी बनाउन उनले गरेको दौडधुपको रोचक चर्चा पछि गर्दै गरौंला ।

पानीको मुहान नाप–जाँच गरिँदै छ भनेर भेउ पाएपछि उनी कान्छा छोरा पेसल राईसँग रातारात काठमाडौं पुगे 

पहिल्यैदेखि हामीले उपभोग गर्दै आएको पानी अहिले पनि उपभोग गर्न पाउनुपर्छ भन्दै खानेपानी उपभोक्ताले अनुरोध गरे । ‘सार्वजनिक जग्गामा पर्ने खोलाको पानी व्यक्तिलाई बेच्ने अधिकार कसैलाई हुँदैन भनेर स्थानीयले विरोध जनाए पनि राईले टेरपुच्छर लगाएनन् । त्यसपछि खानेपानी उपभोक्ता समिति, सल्लेनी–पोपेडाँडा–पिलोते सामुदायिक वन र आमउपभोक्ताको संयुक्त पहलमा नापी विभाग र वन विभागबाट सर्वे गरिनुपर्ने माग गरियो ।

नभन्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडा सदस्य नीरज बस्नेत, जिल्ला नापी कार्यालय खोटाङको फिल्ड प्राविधिक ओमप्रकाश यादव, इलाका वन कार्यालय हलेसीका फोरेस्टर मानबहादुर भण्डारी, हलेसी तुवाचङ नगरपालिकाका अमिनी महेश महरा, सल्लेनी–पोपेडाँडा–पिलोते सामुदायिक वन अध्यक्ष विनोद राईलगायत खानेपानी उपभोक्ताको उपस्थितिमा पानीको मुहानको नाप–जाँच गरियो । नाप–जाँच गर्दा पानीको मुहान सार्वजनिक जग्गामा परेको जिल्ला नापी कार्यालय खोटाङको फिल्ड प्राविधिक ओमप्रकाश यादवले बताए । नाप–जाँचपछि पानीको मुहान रहेको जग्गा कित्ता नम्बर २५५ सार्वजनिक खोलामा रहेको ठहर भएको हो ।

आफूलाई स्वघोषित राजा ठान्नेले मनपरी गर्न पाइन्छ ? मन परी गर्न खोज्दा ज्ञानेन्द्र शाह पूर्वराजामा सीमित हुनुपर्यो । पञ्चनेता कुम्भराज राईको आँखा कहिल्यै खुल्ला ? हुन त नामै कुम्भ । कुम्भकर्णको कथा तपाईं–हामीलाई थाहै छ । कुम्भकर्णको निद्रा अजीवको हुन्छ । तर, कुम्भराज राई कुम्भकर्णको अभिनयमात्रै गर्छन् । सुतेको मानिसलाई व्युँझाउन सजिलो हुन्छ । सुतेको अभिनय गर्नेलाई व्युँझाउन त्यति सजिलो छैन । कुम्भकर्णलाई व्युँझाउन सजिलो होला, कुम्भकर्णको अभिनय गर्नेलाई व्युँझाउन गाह्रो हुन्छ । गाह्रो हुन्छ भन्दैमा कुम्भबाट प्रताडितले उनलाई त्यत्तिकै छाड्नेवाला छैनन् ।

बिस्तारै रिचार्ज कार्ड, भान्छाका सामान माग्न थाल्नुभयो । त्यसपछि प्रेम म बूढो हुँदै गएँ, नुनतेल खाने पैसा दिनुपर्यो भनेर कुम्भराज राईले भन्नुभयो । मलाई पानी चाहिएको थियो । उहाँले त्यस्तो माग गरेपछि मैले नाइँ भन्नु कसरी ।

– प्रेम श्रेष्ठ

सार्वजनिक जग्गामा रहेको पानी बेचेर मोटो रकम असुल्नसमेत बाँकी नराख्नेलाई ऐन कानुनअनुसार पाता कस्न स्थानीय जुर्मुराएका छन् । पानीको मुहान नाप–जाँच गरिँदै छ भनेर भेउ पाएपछि उनी कान्छा छोरा पेसल राईसँग रातारात काठमाडौं पुगे । वास्तविकता खुलेपछि समाजमा मुख देखाउन लाज हुने भएकाले उनी काठमाडौं भागेको स्थानीयले मुखै खोलेका छन् ।

पानी बेचेर पैसा कुम्ल्याएको कथा यसरी सुरु हुन्छ । पैसाका लागि काइते काम गर्न कुनै आइतबार नपर्खने उनले यसरी नै सम्पत्ति जोडजाड गरेका हुन् भन्नेको कमी छैन । हलेसीमा पानीको समस्या छ । चार/पाँच वर्षअघिको कुरा हो । कुम्भराज राईले खेर गइरहेको पानी उपभोग गर भनेर होटल रोयलका प्रोप्राइटर प्रेम श्रेष्ठलाई सुझाए । नभन्दै श्रेष्ठले त्यसै गरे । ‘पानी प्रयोग गरेबापत पैसाको सम्झौता भएको थिएन,’ श्रेष्ठले टेलिफोनमा भने, ‘बिस्तारै रिचार्ज कार्ड, भान्छाका सामान माग्न थाल्नुभयो । त्यसपछि प्रेम म बूढो हुँदै गएँ, नुनतेल खाने पैसा दिनुपर्यो भनेर कुम्भराज राईले भन्नुभयो । मलाई पानी चाहिएको थियो । उहाँले त्यस्तो माग गरेपछि मैले नाइँ भन्नु कसरी । एक धारा पानी खेर गइरहेको प्रयोग गर भन्नेले सुरुमा पानीको पैसा नतोके पनि मैले बारम्बार पठाएको सामानको एकमुष्ट हिसाब गर्दा अहिले मासिक बुझाइरहेको रकमको आधाउधी त हुन्छ नि ।’

प्रतिघन्टा ८ सयका दरले चार वर्षका लागि पानी बेचेको भनिएको छ । वास्तविकता के हो भन्ने तुवाचुङ साप्ताहिकको प्रश्नमा श्रेष्ठले सुनाए, ‘समय तोकिएको थिएन । प्रतिघन्टा ८ सयका दरले भन्दा पनि मिटरमा नापेर पैसा बुझाउँदै आएको थिएँ । पानी पैसा भनेर कुम्भराज राईलाई मासिक ७० हजार रुपैयाँसम्म बुझाएको थिएँ ।’

नगरपालिकाको उपप्रमुखको नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भएको छ । त्यहीं उजुरी गर्दा हुन्छ । समितिले यथार्थ बुझेर कारबाही अघि बढाउँछ ।  

–अधिवक्ता नारायणदास राई

आफूले प्रेम श्रेष्ठबाट रिचार्ज र भान्छाका सामान नलिएको कुम्भराज राईको दाबी छ । राईले भने, ‘मैले पैसा पनि लिएको छैन । कुराकानीको अन्त्य–अन्त्यमा मैले प्रेम श्रेष्ठसँग पैसा लिएको हुँ । तर, अरूले भनेकोजति होइन ।’ सार्वजनिक जग्गाको पानी बेचेको प्रसंगबारे कुम्भराज राईसँगको टेलिफोन वार्ता तुवाचुङ साप्ताहिकसँग सुरक्षित छ । यो समाचारसँग सम्बन्धित अडियो तथा भिडियोसमेत तुवाचुङ साप्ताहिकसँग सुरक्षित छन् ।

काइतेका काम गरेर कुम्भले सम्पत्ति जोडेको चर्चा ऐंसेलुखर्कमात्रै होइन, हलेसी क्षेत्रमै चर्चा चलेको छ । ‘सोझो औंलाले घ्यु आउँदैन । घ्यु निकाल्न औंला बाङ्गो गरेको उदाहरण सार्वजनिक जग्गाको पानी बेचेर कुस्त रकम कुम्ल्याएका प्रसंगबाट प्रस्ट हुन्छ । त्यस्तै काम गरेर त होला काठमाडौंमा दुई, उदयपुरको गाईघाट र दिक्तेलमा एक/एकवटा घर ठड्याएका छन्,’ नाम नबताउने सर्तमा एक स्थानीयले भने, ‘गाउँबाहेक अन्य ठाउँमा पनि जग्गा थुप्रै जोड्न सफल भएका छन् । सम्पत्ति आर्जन गर्न जस्तोसुकै जालसाजी काम गर्न पछि नपर्ने उनको सम्पत्ति छानबिन हुनुपर्छ ।’

सार्वजनिक जग्गाको पानी बेच्नुका साथै कुम्भराजले वडास्तरीय बजेटसमेत दुरुपयोग गर्नुका साथै चरम श्रम शोषणसमेत गरेका छन् । सार्वजनिक सम्पत्तिमा रजाइँ गर्ने बानी परेका उनले सुरुमा हलेसी तुवाचुङ नगरपालिका–७ तल्लो ऐंसेलुखर्कवासीलाई पानी दिन्छु भन्दै ट्याङ्की बनाउन श्रमदान मागे । सार्वजनिक जग्गाको पानी पहिल्यैदेखि आफ्नो दाबी गर्दै आएका उनले तल्लो ऐंसेलुखर्कवासीलाई हुकुमी शैलीमा भने, ‘हलेसीको वाङ्छु लामाले पानी माग्न आको आकै छ । म उसलाई दिन्न । त्यो पानी मेरो हो । म तिमीहरुलाई पनि उपभोग गर्न दिन्छु । ट्याङ्की त बनाऊँ । वडाभागी बजेट ८५ हजारमा तिमीहरुले थप श्रमदान गर । भञ्ज्याङमा एउटा धारा छोडेर तिमीहरुको गाउँमा लानू । पानी खानू ।’

कुम्भको कुरा सुनेर पानी खान पाइने आसमा तल्लो ऐंसेलुखर्कवासीले उपभोक्ता समिति गठन गरी पानी ट्याङ्की बनाए । पाइप बिछ्याए । वर्ष दिनपछि धारामा पानी आउन छाड्यो । धारामा पानी नआएपछि कुम्भलाई सोधीखोजी गर्दा पत्ता लाग्यो । पैसाको लोभमा उनले पानी बेचेछन् । कुम्भले गाउँलेलाई भने, ‘मैले पानी प्रेमलाई बेचिसकें । साह्रै गाह्रो भयो भने तिमीहरूले राति र प्रेमले दिनमा मिलाएर आधा–आधा पानी लिनू नि त ।’ आधा भए पनि पानी पाइन्छ भने ठिकै छ भनेर गाउँले राजी भए । तर, पानी पूरै खरिद गर्ने सहमति गरेका पे्रम श्रेष्ठले सो प्रस्ताव मानेनन् । पूरै पानी आफूलाई चाहिने र अरूलाई पानी नदिनू भनेर प्रेमले कुम्भसँग अड्डी कसेपछि ऐंसेलुखर्कवासीले पानी पाएनन् ।

मेरोबारे फेसबुकमा नानाथरी लेखेको छ रे । अब के गर्नुपर्छ मैले जान्या छु । हाम्रो गाउँको कृष्णे, काइसे, लाइसे, चेवाने, चर्मिला, मीठा, सुमित्रालगायत थुप्रैले कमेन्ट पनि गरेको छ रे । मैले सबै कुरा बुझ्दै छु । हेरौंला ।

–कुम्भराज राई

कुम्भराज राईको काला कर्तुत चाल पाएपछि स्थानीय रुष्ट भए । स्थानीय सुरेश राईले सुनाए, ‘के गर्नु आफ्नै गाला, आफ्नै लपेटा भनेजस्तो हुन्छ । तर, फटाहालाई फटाहा नै भन्नुपर्छ । गाउँलेमाथि अन्याय भएको छ । पानी उपभोग गर्न पाइने आश्वासनमा गाउँले मिलेर खानेपानी ट्याङ्की बनाउने, सामान ढुवानी गर्ने, पाइप बिछ्याउनेलगायत सम्पूर्ण काम गर्यौं । यससम्बन्धी माइन्युटसमेत गरिएको छ । सुरुमा केही समय पानी दिएजस्तो गर्यो । पछि हामीले खानेपानी सर्लक्कै कटाएर बेचिदिएछन् ।’

‘कुम्भराजबाट गल्ती भएकै हो । त्यो पानी मेरै हो भनेको थियो । हामीले पत्यायौं,’ स्थानीय कम्पसेर राईले भर्खरै बसेको खानेपानी उपभोक्ता समिति भेलाको विगत कोट्याउँदै भने, ‘तर, सार्वजनिक पो रहेछ । त्यसबेला माथिल्लो र तल्लो ऐंसेलुखर्कवासीले नै त्यो पानी उपभोग गर्ने निर्णय भएको थियो । कुम्भराजले हलेसीमा घर बनाउनु छ । एउटा धारा लैजान्छु भनेर लगेको हो । बेच्नलाई ढाँटेको पो रहेछ ।’

के गर्नु आफ्नै गाला, आफ्नै लपेटा भनेजस्तो हुन्छ । तर, फटाहालाई फटाहा नै भन्नुपर्छ । गाउँलेमाथि अन्याय भएको छ । पानी उपभोग गर्न पाइने आश्वासनमा गाउँले मिलेर खानेपानी ट्याङ्की बनाउने, सामान ढुवानी गर्ने, पाइप बिछ्याउनेलगायत सम्पूर्ण काम गर्यौं । यससम्बन्धी माइन्युटसमेत गरिएको छ । सुरुमा केही समय पानी दिएजस्तो गर्यो । पछि हामीले खानेपानी सर्लक्कै कटाएर बेचिदिएछन् 

–स्थानीय सुरेश राई

सार्वजनिक सम्पत्तिमा तर मार्न पल्केका उनले गत स्थानीय तह निर्वाचनमा आफ्नो समर्थकलाई भोट नदिएकै कारण ऐंसेलुखर्क सल्लेनीका बासिन्दालाई छानीछानी पानी कटौती गरेको कुकृत्यसमेत सार्वजनिक भएको छ । निर्वाचनमा उनको समर्थकलाई भोट नहालेकै कारण आफू सार्वजनिक पानी उपभोग गर्नबाट वञ्चित हुनुपरेको स्थानीय कुमारसेर राईले दुःखेसो पोखे ।

सार्वजनिक जग्गाको पानीमा हालीमुहाली गर्न पाएकोमा उनको फुर्तिफार्ती चर्कै देखिन्थ्यो । हलेसीमा निर्माणाधीन सुख्खा क्षेत्रको पानी मलाई चाहिँदैन । म आफैं पानीको मालिक हुँ भन्दै हलेसी सुख्खा क्षेत्रका उपभोक्ताले बुझाउनुपर्ने प्रतिधुरी २५ सय आर्थिक दायित्व बुझाउन अस्वीकार गरे । गाउँलेको घाँटी सुकाएर सार्वजनिक जग्गाको पानी बेच्नु सामाजिक अपराध मानिन्छ । सार्वजनिक जग्गाको पानी बेच्नेलाई नेपालको कानुनअनुसार सजाय गर्नुपर्ने स्थानीयको माग छ । सार्वजनिक जग्गाको पानी बेच्नेलाई के कारबाही होला ? ‘सर्वप्रथम जिल्ला प्रशासन कार्याल खोटाङमा उजुरी गर्नुपर्छ,’ अधिवक्ता नारायणदास राई सुझाए, ‘तर, नगरपालिकाको उपप्रमुखको नेतृत्वमा तीन सदस्यीय न्यायिक समिति गठन भएको छ । त्यहीं उजुरी गर्दा हुन्छ । समितिले यथार्थ बुझेर कारबाही अघि बढाउँछ ।’
काइते काम गरेर पैसा कमाएका उनले ‘मसँग प्रशस्त सम्पत्ति छ । कम्युनिस्टले बाँडेको वृद्धभत्ता बहिष्कार गरेको छु’ भन्दै घमण्ड गर्दै हिँड्ने उनले सम्पत्तिको धाक दिनुको तुक नभएको भन्दै स्थानीयले चर्चा गर्न थालेका छन् ।

स्थानीय तह निर्वाचनमा उनको समर्थकलाई भोट नहालेकै कारण आफू सार्वजनिक पानी उपभोग गर्नबाट वञ्चित

         –स्थानीय कुमारसेर राई

तुवाचुङ साप्ताहिकसम्बद्ध एक पत्रकारले कुम्भको काला कर्तुतबारे सामाजिक सञ्जालमा ‘स्टाटस’ लेख्दा ‘लाइक’ र ‘कमेन्ट’ गर्नेलाई काठमाडौंबाट हलेसी फर्केपछि ठीक पार्ने धम्कीसमेत दिएका थिए । समाचार स्रोतका अनुसार उनले गाउँको नातामा भाइ पर्ने चंखराज राईलाई फोन गरेर दीपेन्द्र भन्ने को रै’छ चिन्या छ ? मैले चिन्न पाको छैन । तिनले मेरोबारे फेसबुकमा नानाथरी लेखेको छ रे । अब के गर्नुपर्छ मैले जान्या छु । हाम्रो गाउँको कृष्णे, काइसे, लाइसे, चेवाने, चर्मिला, मीठा, सुमित्रालगायत थुप्रैले कमेन्ट पनि गरेको छ रे । मैले सबै कुरा बुझ्दै छु । हेरौंला ।

यस्ताको छाला तारेर स्थानीय उपभोक्ताले नुन र चुक छर्नुपर्छ 

–देवराज पुमा

आफूले बेचेको पानीबारे चासो राख्दै पानी त सार्वजनिक जग्गामा परेछ, ठिकै छ । तर, मेरो जग्गानजिकै परेकाले एक धारा त भाग पाउँछु होला नि ? कसलाई भन्नुपर्ने हो ? कि मैले मुद्दा हाल्नुपर्ने हो ? भन्दै कुम्भराज राईले विश्वासिलो गाउँलेलाई सोधेका थिए । स्मरण रहोस् गाउँभरि पानीको हाहाकार हुँदा कुम्भराज राईको घरको धारामा बिहान ६ देखि बेलुका ६ बजेसम्म पानी आउँथ्यो ।

कुम्भराजबाट गल्ती भएकै हो । त्यो पानी मेरै हो भनेको थियो । हामीले पत्यायौं

स्थानीय कम्पसेर राई

कुम्भराज राईको काला कर्तुत छताछुल्ल भएपछि गाउँमा तरंग छाएको छ । आफ्नै ठाउँमा पानीको मुहान भएर पनि यतिन्जेल खानेपानी अभावमा काकाकुल बाँच्नुपरेका स्थानीय आक्रोशित बनेका छन् । यस्तालाई हदैसम्मको कारबाही हुनुपर्ने माग राख्दै सामाजिक सञ्जाल फेसबुकमा जनक चाम्लिङ लेख्छन्, ‘सुरुदेखि अहिलेसम्मको हिसाब–किताब नगरपालिका र जनप्रतिनिधिले लिन सक्नुपर्छ । निजको सम्पत्ति अनुसन्धान गरी भ्रष्टाचार गरिएको सम्पत्ति नगरपालिकामा जम्मा गरिनुपर्छ ।’ काला कर्तुत बाहिरिएपछि सामाजिक सञ्जालमा राईको विरोधमा धेरैले टीका–टिप्पणी गरेका छन् ।

कुम्भराज राईले गरेको कुकृत्यबारे देवराज पुमाले आक्रोश पोख्दै फेसबुकमै लेखेका छन्, ‘यस्ताको छाला तारेर स्थानीय उपभोक्ताले नुन र चुक छर्नुपर्छ ।’

सुरुदेखि अहिलेसम्मको हिसाब–किताब नगरपालिका र जनप्रतिनिधिले लिन सक्नुपर्छ । निजको सम्पत्ति अनुसन्धान गरी भ्रष्टाचार गरिएको सम्पत्ति नगरपालिकामा जम्मा गरिनुपर्छ 

–जनक चाम्लिङ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार