ह्वाइटहाउसतिर हल्लिँदा

दीपेन्द्र राई

ह्वाइटहाउसडाँडामा संगीतप्रेमी

चाल्नाखेलको खहरेचोकबाट ‘मेनरोड’ छाड्यौं । ‘मेनरोड’ बाट दायाँतिर लाग्यौं । दक्षिणकाली नगरपालिका–१ चाल्नाखेल खहरेचोक काठमाडौंबाट दायाँ लाग्दा साँझको ६ः३३ बजेको थियो । संवत् २०७६ वैशाख २७ गते शुक्रबारको घाम घर फर्किसकेको थियो । खहरेचोकबाट दायाँ लागेपछि उकालो बाटो आयो । हामी उकालो लाग्यौं । भूषण राई र नवीन चाम्लिङ राई अघि–अघि थिए । म पछ्याउँदै गएँ । खहरेचोकबाट उकालिएको हामी ६ः५७ मा ह्वाइटहाउसडाँडा चढ्यौं ।

झमक्क साँझ परिसकेको थियो । ह्वाइटहाउसडाँडामा रहेको ब्ल्यु माउन्टेन रिसोर्ट परिसर टेक्दा मेनेजर किशोर चाम्लिङको न्यानो आतिथ्य शब्दमा वर्णन गर्न सजिलो छैन । बाटो लाग्दा गर्मी अनुभूति भए पनि ह्वाइटहाउसडाँडा उक्लेपछि शीतल भयो । रिसोर्ट पुग्नासाथ कफि पियौं । कफिगफ सुरु भयो । कफिगफबाट सुरु भएको कुराकानी लम्बिँदै गयो । रिसोर्टकै रिसेप्सनको एकछेउमा बार्बिक्युको व्यवस्था मिलाइयो । बार्बिक्युमा भूषण राईले कला प्रदर्शन गरे । रिसोर्टसम्बद्धले समेत भूषणलाई सघाए । हामीले खानमात्रै सघायौं । सुख–दुःखका बात मार्दै जाँदा बेलाबेला पेट मिचीमिची हाँस्थ्यौं । ह्वाइटहाउसडाँडाको हाँसो बिछट्टै लाग्थ्यो ।

दक्षिणबाट देखिने ह्वाइटहाउसडाँडा

रात छिप्पिँदै गयो । सुखद शुक्रबार मनाउन डाँडा चढेकाको चहलपहल पातलियो । उपत्यकाको गर्मीले डाँडाको शीतल पाएपछि आराम गर्नेले मस्ती मारिरहेका थिए । चम्पादेवी जंगलको काखमा टुसुक्क बसेको ह्वाइटहाउसडाँडा सुनसान बन्दै गयो । हाम्रो कुराकानी जम्दै थियो । बार्बिक्युबाट अघाए पनि खाना खानैपर्ने भयो । यहाँबाट काठमाडौं झिलिमिली देखिन्थ्यो । नाङ्लोमा तारा राखेजस्तो देखिन्थ्यो काठमाडौं उपत्यका । त्यही झिलिमिली हेर्दै खाना खायौं ।

काठमाडौं उपत्यकाको धूवाँ, धूलो र कोलाहलबाट अलग्गिँदा आनन्दित थियौं । पूर्वको बिहानीसँगै सूर्योदय हेर्न छुट्ला भनेर सुत्ने तर्खर ग¥यौं । रिसोर्टका शयनकक्ष पाँचतारे होटलको भन्दा कमका थिएनन् । मध्यरातपछि निदायौं । सूर्योदय हेर्ने लोभ छँदै थियो । चराचुरुङ्गीको चिरबिरले बिहानै उठायो । काठमाडौं खाल्डोको जहींतहीं चराको गीत सुन्न पाइँदैन । यहाँ आइपुगेकाले चराले गाएको गीत सुन्न लोभ गर्दारहेछन् । बिहानै व्युँझेका नवीन चाम्लिङसमेत चराले गीत गाएको सुन्नै उठेको बताए । पूर्वको बिहानीसँगै यहाँबाट सूर्योदय हेर्दा इलाम श्रीअन्तुको झल्को दिन्थ्यो । बिहान–बिहान धूवाँ, धूलो र तुवाँलोरहित ं काठमाडौं उपत्यका त्यत्तिकै सुन्दर देखिन्थ्यो । मेनेजर चाम्लिङले सुनाए, ‘काठमाडौं उपत्यका सयमा सय प्रतिशत नै देखिने काठमाडौंको नजिकैको डाँडा भनेकै बोसनको ह्वाइटहाउसडाँडा हो ।’

ह्वाइटहाउसडाँडा सप्ताहान्त मनाउने ‘भर्जिन ल्यान्ड’ रहेछ । ह्वाइटहाउसडाँडा पुग्ने पुगिरहेकै छन् । संरचना बन्नेक्रम जारी छ । ह्वाइटहासडाँडा आइपुगेकालाई स्वागत गर्न ५६ रोपनी जमिनमा ब्ल्यु माउन्टेन रिसोर्ट बन्दै छ । कतिपय बनिसकेका छन् । बनेका संरचनामा अतिथि सत्कार गरिँदै छ । डाँडो आफैंमा सुन्दर छ । त्यसलाई झन् सुन्दर बनाउन रिसोर्टसम्बद्धले योजनाबद्ध योजना अघि सारेका छन् ।

 

ब्ल्यु माउन्टेन रिसोर्ट मेनेजर किशोर चाम्लिङ

‘डाँडामा रिसोर्ट खोलेर पैसा कमाउनु ठूलो कुरो होइन,’ ह्वाइटहाउसडाँडामा सञ्चालित ब्ल्यु माउन्टेन रिसोर्टका मेनेजर किशोर चाम्लिङले जानकारी गराए, ‘लगानीकर्ताले पैसा कमाउनुभन्दा स्थानीयलाई रोजगारी दिनु हाम्रो अभीष्ट हो ।’ कति सुन्दर विचार । त्यही सुन्दर विचारसहित व्यवसायी तेजबहादुर राईले रिसोर्ट खोलेका रहेछन् । रिसोर्टलाई सम्भाव्य अध्ययन बनाउँदै भोलि पाँचतारे होटल खोल्ने व्यवसायी राईको इन्द्रेणी योजना छ । उनको योजनाले मूर्त रूप पाउँदा स्थानीयले रोजगारी पाउनेछन् । अहिले पनि रिसोर्टमा काम गर्ने सबै स्थानीय नै हुन् ।

चम्पादेवी हाइकिङ जाने प्रस्थानबिन्दु मानिएको ह्वाइटहाउसडाँडामा निर्माणाधीन रिसोर्टको पश्चिम–दक्षिणपट्टि सुन्ताला, आँप, हलुवावेद, एबोकाडो, ओखर, आरू, आरूबखडा, कटुस रोपिँदै छ । कतिपय प्रजातिका फूलफूल रोपिइसकिएको छ । लगाइएका फलफूलले फल दिने समयसम्ममा ह्वाइटहाउसडाँडाको सुन्दरता थप्नेछ । फलफूल बगानमात्रै होइन, चिया बगानका लागि समेत काम धमाधम भइरहेको थियो । ‘रिसोर्ट परिसरमै फलफूल बगान र चिया बगान भएपछि यहाँ आइपुगेकाले आफ्नै हातले मौसमअनुसारको फलफूल आफ्नै हातले टिपेर खान पाउनेछन्,’ भूषण राईले खुसी व्यक्त गरे, ‘आफ्नै हातले टिपेर ग्रीन टी खान पाउँदा कसको मन नरमाउला ?’

दायाँबाट पंक्तिकार र नवीन चाम्लिङ राई

दक्षिणकाली नगरपालिका–१ बोसनमा रहेको ह्वाइटहाउसडाँडाबाट मिलेका दाँतजस्तै आँखैअगाडि हिमशृंखला देखिन्छन् । चराको गीत सुन्न पाइन्छन् । काठमाडौं उपत्यका धितमरुन्जेल नियाल्न सकिनेछन् । यहाँबाट नजिकै देखिने टौदहले आँखा पवित्र बनाउनेछ । रिसोर्टमा पाक्ने स्वदेशी तथा विदेशी परिकार जिब्रोमै झुन्डिनेखालका छन् । चौथोपटक ह्वाइटहाउसडाँडा पुगेका नवीन चाम्लिङले यसो भनिरहँदा मेनेजर किशोर चाम्लिङ मुसुमुसु हाँसेमात्रै । भूषण र मैले टाउका हल्लायौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार