जहाँ ढुंगा–ढुंगामा देवताको वास छ

नवीन चाम्लिङ राई

सुन्दा पत्याउन गाह्रो हुन्छ । तर, जहाँ एउटा ढुंगाले इतिहास बोकेको छ । परापूर्वकालदेखि अहिलेसम्म खामाही ढुंगाको महत्व उत्तिकै छ । चाम्लिङ राई भाषामा खामाहीको अर्थ हुन्छ–तिम्रो रगत । परम्परागत मान्यताअनुसार यो किराती पुर्खाको चिनो हो । हलेसी तुवाचुङ नगरपालिका–७ ऐंसेलुखर्कमा खामाही ढुंगा रहेको छ । स्थानीय छेम्मा कोकु (हजुरआमा) ले मर्ने बेलामा यो ढुंगा तिमीहरूको पुर्खाको रगत हो भनेर आफ्नो सन्ततिलाई बताएकी थिइन् भन्ने भनाइ छ ।
‘खामाही ढुंगालाई सधैं सम्मान तथा पूजा गर्दा पुर्खा जिजुबाजेको आशिष लाग्नेछ । कहिल्यै नराम्रो काम नगर्नू,’ उनै हजुरआमाले भनेकी थिइन्, ‘यसकारण तिमीहरूले यसको पूजाआजा गरी सम्मान गर्नू । यसलाई सदा दाहिने पारेर हिँड्नू । तिमीहरू सदा सफल हुनेछौ । तिमीहरू कुनै युद्घमा हार्ने छैनौं ।’
हजुरआमाको त्यही आग्रहलाई मान्दै सोहीअनुरूप खामाही ढुंगामा पूजा तथा सम्मान गर्न थालेपछि स्थानीयले आइपरेका आपत–विपतदेखि कहिल्यै पनि हारेनन् रे । ऐंसेलुखर्कमा रहेको यो ढुंगालाई स्थानीयले त्यतिबेलादेखि सम्मान र पूजाआजा गर्दै आएका हुन् । यो ढुंगामा दैविक शक्ति रहेको स्थानीय बताउँछन् ।
सालिन्दा वैशाखे पूर्णिमा (उँभौली) मा स्थानीयले यो ढुंगाको पूजाआजा गर्छन् । त्यतिबेला भव्य साकेला सिली नाच्ने गरिन्छ । नाच्दा सिली चुके अशुभ हुने विश्वास रहेको छ । त्यसकारण सिली टिप्न नजान्नेलाई यहाँ नाच्न दिइँदैन ।
स्थानीय गंगाराज राईका अनुसार खामाही ढुंगालाई दाहिने पारेर हिँडेमा हाकेताकेको पुग्ने गर्छ । त्यसैले मान्छे अहिले पनि खामाहीलाई दाहिने बनाई ढोगेर हिँड्छन् । गाउँ छाडेर परदेशिनेहरू पनि यो ढुंगालाई दाहिने बनाएर हिँड्छन् । फूलपाती, अछेता चढाउँछन् ।
यो बाटो आउने–जानेले खामाही ढुंगालाई देब्रे बनाएर हिँड्दा चिताएको नपुग्ने, दुःख–बिमार हुने भक्तभोगीको अनुभव छ । ‘आजभन्दा सात/आठ वर्षअघि खामाही ढुंगामा मध्यराति बत्ती बल्ने गथ्र्यो,’ स्थानीय राईले सुनाए, ‘घर बनाउन सल्लेनीको जंगलमा एकरात बास बस्दा राति खामाही ढुंगामा बत्ती बलेको मैले देखेको थिएँ ।’
बलेको बत्तीलाई नजिकबाट देख्न नसकिने तर टाढाबाट भने प्रस्ट देख्न सकिन्थ्यो । उक्त ढुंगामा बत्ती बल्दा शुभ–अशुभको संकेत पनि देखाउने स्थानीय बताउँछन् । हरियो बत्ती बलेको वर्ष गाउँमा सुब्बेफाव्य हुने मान्यता रहेको छ ।
‘खामाही ढुंगा किरातीहरूको साया पनि हो । यो राईहरूको मुन्दुम गाउँदा पनि आउने गर्छ । साया भनेको ‘शिर’ हो,’ स्थानीय रामप्रसाद राई भन्छन्, ‘खामाही ढुंगा ऐंसेलुखर्कको साया भएर बसेको छ । यो ढुंगाले राम्रो नराम्रो जानकारी गराउँछ ।’
गाउँघरमा अशुभ हुन लागेमा खामाही ढुंगाले ठूलो हावाहुरी चलेकोजस्तो आवाज दिने गर्छ । त्यस्तो आवाज आएमा स्थानीयमा समस्या आउँछ, दुःख पर्छ । तर, बत्ती बलेमा शुभ हुने गर्छ । अशुभका संकेत दिँदा स्थानीय चिन्तित हुने गरेको राई बताउँछन् ।
बत्ती बलेको ढुंगाछेउ पुग्दा भने देख्न नसकिने तर खोटाङका छिमेकी जिल्ला ओखलढुंगा, सोलुखुम्बु, र उदयपुर जिल्लाबाट भने प्रस्ट देख्न सकिन्छ । कहिलेकाहीं ऐसेलुखर्कका स्थानीय ओखलढुंगा, सोलुखुम्बु र उदयपुर पुग्दा राति उठेर हेर्दा बत्ती बलेको देखिने स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार