समाजसेवी श्यामचन्द्र

नवीन चाम्लिङ राई

ऐंसेलुखर्क (हलेसी), खोटाङ

 

समाजसेवा भनेको भगवान्को दोस्रो रूप हो भन्दा फरक नपर्ला । भगवान्को दोस्रो रूप धारण गर्न त्यति सजिलो छैन । यसको मतलब जोकोहीले चाहेर पनि समाजसेवा गर्न सक्दैनन् । हलेसी तुवाचुङ नगरपालिका–७ ऐंसेलुखर्क खोटाङका श्यामचन्द्र राई ऐंसेलुखर्कवासीका लागि भगवान्को दोस्रो रूपधारण गरेका छन् ।
राई ‘आफू राम्रो भए जगतै राम्रो’ भन्ने मान्यताका पक्षपाती हुन् । उनले ऐंसेलुखर्कमात्रै नभएर हलेसी तुवाचुङ नगरपालिकाका समाजसेवी भनेर फराकिलो परिचय बनाएका छन् । ‘सहयोग भनेको सकेको गर्ने हो,’ काठमाडौंको तीनकुनेमा रहेको रोयल बैङ्क्वेटमा भेटिएका समाजसेवी राईले भने, ‘दुःखमा परेकालाई चाहिएजति सहयोग गर्न नसके पनि सकेको सहयोग गर्नु र उदारभाव राख्नु पनि त सहयोग गरेजत्तिकै हो ।’
उनले आफ्नै हातले गाउँलेलाई सकेको सहयोग गर्दै आएका छन् । ऐंसेलुखर्कका स्थानीय श्यामचन्द्रको गुणगान गाउँछन्, ‘श्यामचन्द्र राईलाई नराम्रो मान्छे भन्ने सायदै भेटिएलान् ।’ गाउँमा कसैलाई समस्या परेको सुन्दा आफूलाई नै परेको अनुभूति गर्छन् । ‘अहिलेको जुगमा हामीले यस्तो सफा सोच–विचार भएको मान्छे पाउनु भनेको कम्ती खुसीको कुरा होइन,’ उनका छिमेकीले गर्व गरे, ‘गाउँमा श्यामचन्द्रजस्तो थुप्रै श्यामचन्द्रहरू जन्मनुपर्छ । अनि मात्रै गाउँको मुहार फेरिनेछ ।’
गाउँमा भइपरि आउने समस्यालगायत आर्थिक, भौतिक सहयोग गरेको दृष्टान्त प्रशस्तै छन् । आर्थिक अभावले बिरामीले थलिए पनि अस्पताल जान नसकेको अवस्थामा उनी आफैंले आर्थिक जोहो गरेर गाउँका बिरामीको उपचार गराएका थिए । आफूले मात्रै गरेर नहुने भएपछि घरपरिवारसँग मिलेर उनले अक्षयकोष स्थापना गरेका छन् ।

गाउँमा जोकोहीलाई समस्या परे समाजसेवी राई त्यत्तिकै बस्न सक्दैनन् । गाउँघरमा बिरामी परेकालाई उपचार गराउन आर्थिक समस्या नहोस् भनेर उनले ‘हिमालसेर राई–विष्णुमाया राई ऐंसेलुखर्क स्वास्थ्य कोष’ स्थापना गरेका छन् । समाजसेवी राईको परिवारले एक लाख रुपैयाँबाट कोष सुरु गरेका हुन् । एक लाख रुपैयाँबाट आउने ब्याजले ऐंसेलुखर्कका बिरामीको उपचारमा सहयोग गरिनेछ । ‘हाम्रो परिवारले एक लाखबाट अक्षयकोष सुरु गरेका छौं । कोषमा अझै केही रकम थपेर आपतमा परेकालाई सहज होस् भनेर रकम थप्दै लैजानेछौं,’ राईले खुसीको खबर सुनाए, ‘स्वास्थ्य कोषबाट आएको ब्याज खामाखा खार्चुङ समाजलाई दिइन्छ । संस्थाले सिफारिस गरेको बिरामीको प्रकृति हेरेर स्वास्थोपचारका लागि सहयोग गरिन्छ ।’

भाग्यमानी भान्जा
छविचन्द्र राई
श्यामचन्द्र राई साइनोले मेरो भान्जा पर्नुहुन्छ । उहाँ मेरो भगवान् हुनुहुन्छ । श्यामचन्द्र भान्जा र उहाँको जेठो दाइ अर्जुनले मेरो उपचारका लागि आर्थिक सहयोग नगरिदिनुभएको भए आज म यो संसारमा हुने थिइनँ ।
मलाई उहाँहरूको परिवारले नयाँ जीवन दिनुभएको हो । यो गुन म कहिल्यै बिर्सने छैन । बिर्सन सक्दिनँ पनि । मैले नयाँ जीवन पाएकोबारे मेरो परिवारका सबैलाई सुनाएको छु । म सधैं उहाँहरूलाई आशीर्वाद दिँदै आएको छु । उहाँहरूले राम्रो गर्नुभएको छ । दुःखी–गरिबका लागि उहाँहरूले सधैं सहयोग गर्दै आउनुभएको सुन्दै आएको छु । उहाँहरूलाई दिन पुगोस् । खान पुगोस् । यसरी नै समाजसेवा गरेर बाँच्न पुगोस् ।
आजभन्दा तीन वर्षअघि २०७३ सालमा म बिरामी परें । परिवारले उपचारका लागि मलाई ओखलढुंगा अस्पतालमा पु¥याए । मेरो शरीर पूरै सुन्निएको थियो । शरीरमा पानी जमेको रहेछ । धेरै दिनको अस्पताल बसाइपछि मेरो उपचार ओखलढुंगामा सम्भव नहुने भएकाले डाक्टरले काठमाडौं जान सल्लाह दिए ।
काठमाडौं गएर उपचार गराउने मेरो हैसियत थिएन । पैसाजति ओखलढुंगा अस्पतालमै सकियो । त्यसपछि मृत्युको दिन गनेर बस्नुको विकल्प थिएन । आफ्नो जीवनलाई माया मारिसकेको थिएँ । त्यतिबेला श्यामचन्द्र राई भान्जा र भान्जाको परिवारको साथ–सहयोग पाएँ । त्यही साथ–सहयोगले नयाँ जीवन पाएको हुँ । धेरै–धेरै धन्यवाद श्यामचन्द्र भान्जा र भान्जाको परिवारलाई ।

गाउँघरमा हुने शुभकार्यलगायत विभिन्न कार्यक्रममा बस्ने गतिलो साधन नहुनु अस्वाभाविक होइन । त्यही समस्या दृष्टिगत गर्दै उनले खामाखा खार्चुङ समाजको वार्षिकोत्सव (२०७६) मा ६० वटा प्लास्टिकको कुर्सी र एक हजार लिटर क्षमताको दुई खानेपानी ट्यांकी वितरण गरे । कुर्सी र ट्यांकी सहयोगस्वरूप पाएपछि स्थानीय हर्षित छन् ।
त्यतिमात्रै होइन, उनको परिवारले आमाबाबुको नाममा हिमालसेर राई–विष्णुमाया राई शैक्षिक अक्षयकोषसमेत स्थापना गरेका छन् । जगदम्बा प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै अक्षयकोष स्थापना गरिएको हो । आर्थिक अभावमा गाउँका विद्यार्थीको शैक्षिक यात्रा नरोकियोस् भनेर अक्षयकोष स्थापना गरिएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार