लिची बेचेर २ करोड

केदार मगर

खोटाङ । रावाबेंसी गाउँपालिकाको दुई वडाका किसानले लिची बेचेर दुई करोडभन्दा बढी आम्दानी गरेका छन् । रावाबेंसी गाउँपालिका–१ कुभिन्डे र रावाबेंसी गाउँपालिका–२ खार्पाका किसानले यस वर्ष लिची बेचेर दुई करोड भन्दा बढी आम्दानी गरेका हुन् ।
कुभिन्डे र खार्पाका किसानले उत्पादन गरेको लिची जिल्लाबाहिरसमेत निर्यात भएको गाउँपालिकाले जनाएको छ । कुभिन्डे र खार्पामा यस वर्ष १ हजार ४८७ मेट्रिक टनभन्दा बढी लिची उत्पादन भएको जनाइएको छ ।
लिचीलाई प्रतिदानाका हिसाबले बेचिने भएकाले ४० देखि ४५ दानालाई एक केजी मान्दा प्रतिकेजी ३५ पर्ने किसानले बताएका छन् । कुभिन्डे र खार्पाको १७५ हेक्टर क्षेत्रफलमा लिची खेती गरिएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लाको चार सय हेक्टरमा लिची खेती गरिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । जिल्लाका रावाबेंसी गाउँपालिकाको कुभिन्डे र खार्पामा मात्र लिची उत्पादन हुने भएकाले स्थानीय किसानले लिचीबाट राम्रो आम्दानी गर्दै आएका छन् ।
कुभिन्डे र खार्पामा उत्पादित लिची दिक्तेल, बाक्सिला, ऐंसेलुखर्कलगायतका बजारमा खपत हुने गरेको छ । रावाबेंसी गाउँपालिकामा उत्पादित लिची उदयपुरको गाईघाट, कटारी, सप्तरी, ओखलढुङ्गा र सोलुखुम्बुसम्म पुर्याइन्छ ।
रावाबेंसी गाउँपालिकाका स्थानीयले कोसेलीका रूपमा काठमाडौं, धरान, विराटनगरलगायतका ठाउँमा कुभिन्डे र खार्पामा उत्पादित लिची पुर्याउने गरेका छन् । कुभिन्डे र खार्पामा उत्पादित लिची गाउँकै स्थानीयले खरिद गरेर बजारसम्म पु¥याउने गरेका हुन् ।
प्रतिबोट कम्तीमा १२० मा १०० वटाका दरले खरिद गरिने लिची बजारमा पुर्याएपछि प्रतिगोटा कम्तीमा दुई रुपैयाँमा बिक्री हुन्छ । एकजनाले एकपटकमा हजार दानाभन्दा बढी लिची बजार पुर्याउन सकिने किसानले बताएका छन् ।
कुभिन्डेका अधिकांश लिची किसान आफूले उत्पादन गरेको लिची आफैंले डोकोमा बोकेर बजार पुर्याउने गरेका छन् । आफैंले बोकेर बेच्दा ज्यालासमेत बच्ने भएकाले आफूले उत्पादन गरेको लिची आफैं बोकेर बेच्ने गरेको कुभिन्डेकी किसान रीता मगरले बताइन् ।
जिल्लाबाहिरबाट लिची आयात नहुने भएकाले स्थानीय लिची व्यवसायीले वर्षमा एकपटक राम्रो आम्दानी गर्दै आएका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जेठ पहिलो सातादेखि नै कुभिन्डेमा उत्पादित लिची पाइन्थ्यो ।
लिची उत्पादनलाई दृष्टिगत गर्दै कुभिन्डेलाई लिची पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना बनाइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । ‘कुभिन्डेमा लिचीका लागि राम्रो ठाउँ हो,’ प्रमुख निरौलाले भने, ‘गाउँपालिकाले कुभिन्डेलाई पकेट क्षेत्रका रूपमा विकास गर्ने कार्यक्रम अघि सारेको छ ।’
पछिल्लो समय लिचीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको विजयखर्क, याम्खा, राजापानी, दोर्पाचिउरीडाँडा, नेर्पा, खाल्ले, डुम्रेधारापानी, लामिडाँडा, हलेसीलगायतमा लिची खेती गरिएको छ । जिल्लाको सल्ले, अर्खौले, खाल्ले, डम्बर्खुशिवालय, मात्तिम, रतन्छा, बुइपा, इन्द्रेणीपोखरी, बतासे, दुबेकोल, छोरम्बु, च्यास्मिटार, डिकुवालगायतका किसानले समेत लिची खेती थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार