जनप्रतिनिधि–कर्मचारीका कारण संघीयता धरापमा


हलेसी (खोटाङ) ।  हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले स्थानीय सरकार गठनपछि जनप्रतिनिधि र कर्मचारीका कारण संघीयता नै धरापमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।
‘पत्रकार र सञ्चारमाध्यमले ऐनाको काम गर्नुपर्छ । समाजलाई सुशासनमा डोर्याउनुपर्छ,’ तुवाचुङ साप्ताहिकको प्रथम वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख राईले भने, ‘प्रत्येक नागरिकलाई पारदर्शी र जिम्मेवार बनाउन सधैं प्रयत्न गर्नुपर्छ ।’
पत्रकारले समाज जोड्ने काम गर्नुपर्छ । ‘एकठाउँमा उभ्याउने प्रयत्न गर्नुपर्छ,’ उनको भनाइ छ, ‘उसले समाज तोड्ने÷विखण्डित गर्ने होइन । द्वन्द्व सिर्जना गराउनुहुँदैन ।’ न्यूनतम मूल्य–मान्यता र धर्मभित्र रहेर सञ्चार कर्म गर्न उनले सञ्चारकर्मीलाई सुझाए । ‘त्यसले हामीलाई सच्चिने मौका दिन्छ । त्यसो नगर्ने हो भने जनताले अपेक्षा गरेको परिवर्तन सम्भव छैन । परिवर्तन र समृद्धिको आभास गर्न/गराउन सकिएन भने अनर्थ हुन्छ,’ उनले अनुरोध गरे, ‘हामीले निर्माण गर्ने दृष्टिकोण र ऐन–कानुनमा जनताको भविष्य निर्भर हुन्छ । हामीले गलत दृष्टिकोण र ऐन–कानुन नबनाऊँ, गलत ढंगले विकास निर्माण नगरूँ भनेर पत्रकारले सचेत गराउनुपर्छ । जनताको आवाज लेख्ने र बोल्ने भनेको मिडियाले नै हो । यहाँहरूसँग जनप्रतिनिधिले त्यो अपेक्षा गरेका छन् ।’
तुवाचुङ साप्ताहिकले गुनगानमात्रै होइन, अर्थपूर्ण प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । गुनगानले मानिसलाई अन्धकारतिर धकेल्नेछ । ‘हामीबाट भए/गरेका राम्रा नराम्रा कामबारे खुलेर लेख्नुहोस् । राम्रो काम गर्दा पुरस्कृत र सम्मानित भइँदोरहेछ भनेर तुवाचुङ साप्ताहिकको प्रथम वार्षिकोत्सवको अवसरमा पुरस्कृत र सम्मानित दृष्टान्ट काफी छ,’ उनको अपेक्षा छ, ‘जिल्लाका १० वटै पालिकाको अनियमितता ५० प्रतिशले घट्यो भनेर तुवाचुङ साप्ताहिक नै समाचार बन्न सकोस् ।’
नगरलाई आधारभूमि बनाएर प्रकाशित तुवाचुङ साप्ताहिकले जिल्लाका राम्रा नराम्रा गतिविधि लेखेर पाठकसमक्ष पुर्याउँदै आएको छ । ‘उसले थप जनशक्ति निर्माण गर्दै जानुपर्छ । जबसम्म समाजमा सशक्त पत्रकार जन्माउन सकिँदैन, तबसम्म समाजले समृद्धि हासिल गर्दैन । समाज अघि बढ्न सक्दैन,’ उनले सुझाए, ‘तसर्थ, प्रत्येक टोल–बस्तीमा पत्रकार जन्माउनुपर्छ । उसले आफ्नो टोल–बस्तीमा हुने राम्रा नराम्रा काम खुट्याएर समाचार लेखोस् । तर, पत्रकार र पत्रिका समाचार नबनोस् ।’

पत्रकार पूर्वाग्रही बन्न हुँदैन । ‘पूवाग्रही मानसिकता बोकेर खेदेको, खेदै गर्नेहरू पनि छन्,’ उनको ठम्याइ छ, ‘यसले राम्रो गर्दैन । प्रत्येक मानिसको निजी जीवन हुन्छ । निजी जीवनमा प्रत्यक्ष अप्रत्यक्ष असर पर्नेगरी पत्रकारले कलम चलाउनुहुँदैन ।’
तुवाचुङ साप्ताहिक प्रकाशन सुरु भएको वर्ष दिन पुगेको छ । उसले वर्ष दिनमा कत्तिका राम्रा र कतिपयको नराम्रा समाचार प्रकाशित गरेको थियो । पत्रिका प्रकाशन गर्दाको सुख–दुःख तुवाचुङ साप्ताहिक परिवारलाई थाहा होला । ‘तर, त्यो दुःखमा म पनि फसेको छु । पत्रिका प्रकाशन सुरु भएपछि मैले पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा आरोप खेप्नुपरेको थियो,’ उनले दुःखेसो पोखे, ‘पत्रिकाको सुरुका अंकहरूमा मेराबारे समाचार तथा आलेख प्रकाशित भए । नगरका बारेमा पनि छापिए । त्यतिबेला नगर प्रमुखले पैसा दिएर लेखायो भन्नेको कमी थिएन ।’
त्यसो भन्नेको मुख थुन्न सकिँदैन । तर, हाम्रो चेतनास्तर र मानसिकता सजिलै मापन गर्न सकिन्छ । ‘तुवाचुङले नेकपानिकट साथीहरूका बारेमा समाचार लेख्यो,’ उनले सुनाए, ‘त्यतिबेला पनि नगर प्रमुखले पैसा दिएर लेख्न लगाएछन् भन्ने सुनियो । त्यसपछि काँग्रेससम्बद्ध साथीहरूका बारेमा समाचार छापिए । फेरि भनियो– नगर प्रमुखले विभिन्न प्रतिशोध साँधेर लेख्न लगायो ।’
एक राजनीतिक कार्यकर्ता एक अनलाइन सञ्चालनमा रहेको दृष्टान्त पेस गर्दै नगर प्रमुख राईले सोधे, ‘त्यसो भएपछि निरपेक्ष समाचारको अपेक्षा कति गर्न सकिन्छ । व्यक्ति र राजनीतिक दलको निर्वाचनदेखि सबैखाले प्रचार–प्रसार मिडियाले गर्न थालेको छ । यसले राम्रो गर्छ र ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार