पत्रकारसँग होइन, आफैंदेखि डराऊँ

हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख बिमला राईले पत्रकारसँग नभएर आफू आफैंदेखि डराए पुग्ने बताएकी छन् । तुवाचुङ साप्ताहिकको प्रथम वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उपप्रमुख राईले भनिन्, ‘मचाहिँ पत्रकारसँग होइन, आफैंदेखि सचेत छु ।’
‘एउटा परिवारमा जोकोही बदमास भयो भने ऊ पत्रकारसँग डराउने हो कि, उसले गर्नुपर्ने भूमिकाप्रति डराउनुपर्ने हो,’ उनको बुझाइ छ, ‘पत्रकार र पत्रकारितालाई हाउगुजी मान्नुहुँदैन । पत्रकारले आफ्नो धर्म निर्वाह गर्छ । म परिवारदेखि सचेत छु । मतदाताप्रति सचेत छु ।’
तुवाचुङ साप्ताहिकले स्थानीय सरकारलाई सहयोग गरेकोमा खुसी व्यक्त गर्दै उनले आह्वान गरिन्, ‘हामीले गरेको कमीकमजोरीलाई समेत औंल्याइदिनुहोला ।’
सञ्चारमाध्यम प्रवद्र्धनका लागि सकारात्मक उनले रंगीन आवरणमा प्रकाशित तुवाचुङ साप्ताहिक ‘ब्ल्याक एन्ड ह्वाइट’ प्रकाशन सुरु भएकोमा दुःख व्यक्त गरिन् । ‘नगरको नीति कार्यक्रममा स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने उल्लेख छ । त्यसो भन्दाभन्दै पनि रंगीन पत्रिका ब्ल्याक एन्ड ह्वाइटमा प्रकाशित हुँदा स्थानीय सरकारले पत्रिकालाई सहयोग नगरेकाले, तुवाचुङ साप्ताहिक परिवारले धान्न नसकेकाले पत्रिका यो अवस्थामा आइपुग्यो,’ उनले भनिन्, ‘पत्रिकाको आवरणभन्दा खुराक प्रधान कुरा हो भन्नुहुन्छ भने म सहमत छु । होइन, पत्रिका प्रकाशनका लागि गाह्रै भएको हो भने स्थानीय सरकारले सोच्नैपर्ने हुन्छ ।’
नगर उपप्रमुख राईले तुवाचुङ साप्ताहिक विमोचन समारोहमा पत्रिकाको स्तरीयतालाई कायम राख्नुपर्ने सुझाएकी थिइन् । उनले भनिन्, ‘रंगीन कलेबरको पत्रिका पढ्न आफैंमा आनन्द लाग्दोरहेछ । त्यसभित्रको खुराक त छँदै छ ।’
तुवाचुङको प्रयासमा होस्टेमा हैंसे गर्न प्रतिबद्ध उनले तुवाचुङ साप्ताहिकको दीर्घायुको कामना गरेकी छन् । ‘तुवाचुङ साप्ताहिक संस्था हो । संस्था स्वस्थ रहोस् । सकेको सहयोग गर्ने नै छौं,’ उनले पुनः प्रतिबद्धता व्यक्त गरिन्, ‘सकेको सहयोग गरौंला भन्दाभन्दै पत्रिका ब्ल्याक एन्ड ह्वाइटमा आइसकेको छ । तर पनि नगरले गर्न सक्ने सहयोग गर्ने नै छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार