९० हजारको तुवाचुङ साप्ताहिक पुरस्कार ६ जनालाई , पुरस्कृत तथा सम्मानितले के भने

हलेसी (खोटाङ) । हलेसी तुवाचुङ नगरपालिकालाई आधारभूमि बनाएर खोटाङबाट प्रकाशित तुवाचुङ साप्ताहिकले प्रथम वार्षिकोत्सवको अवसर पारेर चार विधामा ६ जनालाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार’ प्रदान गरेको छ ।
पत्रकारिता, समाजसेवा, साहित्य र खेलकुद विधामा पुरस्कृत हुनेमध्ये खोटाङलाई आधारभूमि बनाएर पत्रकारिता गर्दै आएका तीन पत्रकार रहेका छन् । तीन पत्रकारमध्ये दमन राई, केदार मगर र उत्तम चौलागाईं हुन् ।
राई नेपाल पत्रकार महासंघ खोटाङ, अध्यक्ष, मगर नेपाल पत्रकार महासंघ, प्रदेश पार्सद र चौलागाईं प्रेस युनियन खोटाङ, अध्यक्ष हुन् । जनही १५/१५ हजार रुपैयाँसहित पुरस्कृत राई नागरिक दैनिक, मगर नयाँ पत्रिका दैनिक र चौलागाईं कान्तिपुर टीभी खोटाङ प्रतिनिधि हुन् ।
समाजसेवी जनकराज राईलाई तुवाचुङ साप्ताहिक समाजसेवा पुरस्कारबाट पुरस्कृत गरिएको थियो । भूपू गोरखा सैनिकसमेत रहेका समाजसेवी राईले १३.२७ किलोमिटर दूरी रहेको होलेसुङ–जनकराज राई मार्ग निर्माणका लागि महत्वपूर्ण योगदान पु¥याएका थिए । १५ हजार रुपैयाँको समाजसेवी पुरस्कारबाट पुरस्कृत उनले पुरस्कार ग्रहणलगत्तै आफूले पाएको १५ हजारमा १५ हजार थपेर तुवाचुङ साप्ताहिक प्रकाशक/सम्पादक दीपेन्द्र राईलाई ३० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
साहित्यकार विक्रम चेतनशील राईलाई तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार प्रदान गरिएको थियो । पहिचानको पक्षमा साहित्यमार्फत आवाज बुलन्द गर्दै आएका साहित्यकार राईको ‘तुवाचुङ’ नामक गजलसंग्रह प्रकाशित छ । खस नेपाली, अंग्रेजी, चाम्लिङ राई र किरात लिपिमा प्रकाशित गजलसंग्रहका लागि उनलाई १५ हजार राशिको तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कार प्रदान गरिएको हो ।
सितोरियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री शेशुका राईलाई तुवाचुङ साप्ताहिक खेलकुद पुरस्कारबाट पुरस्कृत गरिएको थियो । म्युजिक भिडियो र नेपाली चलचित्रमा नायिकाको भूमिका निर्वाह गरिसकेकी खेलाडी राईलाई १५ हजार रुपैयाँको तुवाचुङ साप्ताहिक खेलकुद पुरस्कार प्रदान गरिएको हो । उनले थाइल्यान्ड, श्रीलंका, भारतलगायत विभिन्न देशमा रेफ्रीको भूमिका निर्वाह गरिसकेकी छन् ।
यसैगरी, समाजसेवी भूपेन्द्रकुमार राई, समाजसेवी श्यामचन्द्र राई र समाजसेवी तथा आध्यात्मिक गुरु नयनकुमार राईलाई तुवाचुङ साप्ताहिक सम्मान–२०७६ बाट सम्मानित गरिएको थियो । तुवाचुङ साप्ताहिकले प्रथम वार्षिकोत्सवको अवसर पारेर तीनैजना समाजसेवीलाई सम्मान गरेको तुवाचुङ साप्ताहिक कार्यकारी सम्पादक सयन्द्र राईले जानकारी गराए ।
हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई र नगर उपप्रमुख बिमला राईले पुरस्कृतलाई नगद, प्रमाणपत्र र सम्मानितलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर संयुक्त रूपमा सम्मान गरेका थिए ।

तुवाचुङ साप्ताहिकलाई ३० हजार
जनकराज राई
मेरो कामको मूल्यांकन गरेर पुरस्कृत गर्नुभएकोमा तुवाचुङ साप्ताहिक परिवारप्रति आभारी छु । समाजसेवामार्फत पुनः गाउँठाउँसँग जोडिएपछि मेरो कामको मूल्यांकन गरिदिनुभएकोमा धन्यवाद ।
तुवाचुङ साप्ताहिक समाजसेवी पुरस्कारबापत पाएको १५ हजारमा मेरो तर्फबाट १५ हजार थपेर तुवाचुङ साप्ताहिकको समृद्धिका लागि ३० हजार रुपैयाँ हस्तान्तरण गर्न पाउँदा हर्षले गद्गद् छु ।

तुवाचुङको काम प्रशंसनीय
भूपेन्द्रकुमार राई/समाजसेवी
समाजलाई समृद्ध र समुन्नत बनाउन तुवाचुङ साप्ताहिकले प्रशंसनीय काम गरेको देख्दा गौरव लागेको छ । प्रथम वार्षिकोत्सवको अवसर पारेर मलाई सम्मान गरेकोमा आभारी छु । म सम्मानित हुन कत्तिको योग्य थिएँ, थाहा छैन । तर पनि सम्मानित हुन पाउँदा समाजसेवाका लागि जिम्मेवारी थपिएको अनुभूति गरेको छु ।
भन्नेहरूले त तुवाचुङ साप्ताहिकले राजनीति गर्न थाल्यो भन्छन् । मेरो फरकमत छ । पत्रिकाले राजनीति होइन, समाज निर्माणका लागि लागिपरेको छ । यसले राम्रो कामको प्रशंसा र खराब कामको पत्तासाप गर्दै आएको पाएको छु । यो कामले निरन्तरता पाओस् ।

अध्यात्मबारे स्तम्भ लेख्ने रहर
नयनकुमार राई/आध्यात्मिक गुरु
तुवाचुङ साप्ताहिक प्रकाशन हुन थालेको वर्ष दिन हुँदै छ । उसले वर्ष दिनसम्म गरेको काम अनुकरणीय छ । प्रथम वार्षिकोत्सवको अवसरमा तुवाचुङ साप्ताहिक सम्मान–२०७६ बाट सम्मानित हुन पाउँदा गौरवान्वित छु । म सम्मान प्राप्त गर्न लायक थिएँ कि थिइनँ तर पनि सम्मान गर्नुभएकोमा हार्दिक धन्यवाद ।
तुवाचुङ साप्ताहिकमा अध्यात्मसम्बन्धमा स्तम्भ लेख्ने रहर छ । ठाउँ दिनु नै हुनेछ भन्ने आशा गरेको छु ।

पुरस्कारको अपमान हुन दिन्नँ
विक्रम चेतनशील राई/साहित्यकार
तुवाचुङ साप्ताहिक साहित्यिक पुरस्कारबाट पुरस्कृत हुन पाउँदा प्रफुल्लित छु । पुरस्कारको सम्मानमा लेखिरहनेछु । पुरस्कारको अपमान हुन दिने छैन ।
पत्रकारिता अप्ठ्यारो काम हो । अप्ठ्यारो काम गर्दै अघि बढेको देख्दा तुवाचुङ साप्ताहिक परिवारप्रति लोभिएको छु । अप्ठ्यारो कामलाई सजिलो बनाउने तपाईंहरूको कला रहरलाग्दो छ ।
आवाजविहीनका आवाज, हिँड्न नसक्नेको बैसाखी बनेपछि तुवाचुङमार्फत धेरैले राहत पाएका छन् । तर, कतिपय तुवाचुङसँग रिसाएका छन् । उनीहरू रिसाउँदा तुवाचुङ साप्ताहिक सफल बन्नेछ । राम्रो काम गर्दा पुरस्कृत र नराम्रो काम गर्नेलाई तिरस्कृत गरिँदोरहेछ । लोकलाई ज्ञात होस् ।

पत्रकार सधैं प्रतिपक्ष
दमन राई
तुवाचुङ साप्ताहिक सुरुदेखि पढ्दै आएको छु । उसले लेखेको कतिपय समाचारले जिल्लामै हल्लीखल्ली हुन्छ । पत्रकारले गलत काम भइरहेको छ भने देखाउने हो । त्यो काम तुवाचुङले गर्दै आएको छ । त्यसो भन्दैमा पत्रकारिता आलोचनामुक्त हुन सक्दैन । त्यसमा तुवाचुङ पनि अछुतो छैन ।
समाजमा हुने गलत कामको न्यूनीकरण र राम्रो कामको प्रोत्साहन हुनुपर्छ । पत्रकार निष्षक्ष र स्वतन्त्र रहने प्रयत्न गर्नुपर्छ । ऊ पूर्वाग्रही हुनुहुँदैन । मैले लेखेको समाचार मभन्दा विद्वत्वर्गले पढिरहेको छ है भनेर लेख्नुपर्छ ।
पत्रकारमा पनि समस्या छन् । समस्या छ भन्दैमा कसैलाई सिध्याउन नियतवश लेख्नुहुँदैन । वैचारिक हिसाबले हामी पनि कतै न कतै आस्था राख्छौं । एउटाले आफ्नो आस्थासँग सम्बन्धितलाई उकास्ने, अर्कोलाई सिध्याउने अभ्यास नभएका होइनन् । त्यसले कसैको भलो गर्दैन ।
पत्रकारले खोटाङका १० वटै स्थानीय सरकारबारे प्रश्न उठ्नेगरी समाचार लेख्न सकेका छैनौं । मिडियाको भूमिका प्रतिपक्षको हुनुपर्छ । त्यसो भए हाम्रो भूमिका कहाँनजिक छ । सोच्ने बेला आएको छ ।

सयौं वार्षिकोत्सव मनाउन पाऊँ
शेशुका राई/कराते खेलाडी
म यही ठाउँमा जन्में । अध्ययन र सिक्नेक्रममा गाउँठाउँबाट टाढिएँ । तसर्थ, गाउँठाउँमै अपरिचतजस्तै थिएँ । त्यस्तो अवस्थामा पुरस्कृत हुन पाउँदा गौरवान्वित छु । आवाज नहुनेको आवाज बनिरहेको तुवाचुङको यो कामले निरन्तरता पाओस् । तुवाचुङ साप्ताहिकको सयौं वार्षिकोत्सव मनाउन पाइरहूँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार