बस्नेतगाउँ–दुङ्देलो सडक सम्पन्न गर्न १२ लाख आवश्यक

तेस्रो आँखा संवाददाता

बस्नेतगाउँ (हलेसी) । हलेसीको बस्नेतगाउँ–दुङ्देलो सडक निर्माण सम्पन्न गर्न कम्तीमा १२ लाख रुपैयाँ आवश्यक पर्ने भएको छ । सडक निर्माणका लागि विनियोजित आठ लाख रुपैयाँले आधा काम सम्पन्न भएको युवा नेता सर्वधन बस्नेतले जानकारी गराए ।

‘निर्माणाधीन सडक सम्पन्न हुँदा २५ घर प्रत्यक्ष लाभान्वित हुनेछन्,’ नेता बस्नेतले भने, ‘तर, हलेसी आइपुगेका आन्तरिक तथा बाह्य पर्यटक यही भएर मञ्जुश्री गुफा जाने फर्कने भएकाले बस्नेतगाउँ–दुङ्देलो सडकको महत्व बढेको हो ।’
चार मिटर चौडाइ रहेको सडकमा वाल लगाइएको छ भने दुवैतर्फ बिम र बीच–बीचमा क्रस बिम राखिएका छन् । यसका साथै ढलान पनि गरिएको छ ।
खोटाङ निर्वाचन क्षेत्र विकास कोष प्रदेश नम्बर १ अन्तर्गत सांसद राजन राईले बस्नेतगाउँ–दुङ्देलो सडक निर्माणका लागि आठ लाख रुपैयाँ विनियोजन गरेका थिए । विनोद बस्नेत अध्यक्ष, हंक बस्नेत उपाध्यक्ष, दीपेन्द्र बस्नेत सचिव, तारा कार्की कोषाध्यक्ष र थिरबहादुर बस्नेत, प्रमोद गिरी, संगीता बस्नेत, सीता बस्नेत, रत्न बस्नेत सदस्य रहेको समितिले बजेटले भ्याएसम्मको सडक निर्माण सम्पन्न गरेका हुन् ।

‘विकास र समृद्धि बाजा बजाएर आउने होइन,’ युवा नेता सर्वधन बस्नेतले बजेटले भ्याएसम्मको सडक निर्माण सम्पन्न हुँदै गर्दा खुसी व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘आएका बजेट सदुपयोग गर्न सकियो भने नेपाल समृद्ध बनाउन समय लाग्दैन । त्यसको ज्वलन्त उदाहरण बस्नेतगाउँ–दुङ्देलो सडकलाई लिन सकिन्छ ।’

बजेटले भ्याएसम्मको सडक निर्माण सम्पन्न भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । सांसद राईलाई धन्यवाद दिँदै युवा नेता बस्नेतले फेसबुकमा अनुरोध गरेका छन्, ‘सडक निर्माणका लागि बजेट विनियोजन गरिदिनुहुने जनप्रिय शालीन नेता माननीय राजन राईप्रति आभारसहित बाँकी रहेको काम हजुरबाटै पूरा हुनेछ भन्नेमा आशा र विश्वास लिएको छु ।’ सडक निर्माणका लागि साथ–सहयोग र पहल–कदमी गर्ने सबैलाई उनले धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार