एउटा घरको दुःखद कथा

 

ऐंसेलुखर्क (हलेसी) । परदेश जान छुटेका तर गाउँमै इलम गरिबसेका बालसखासँग विगत कोट्याउँदै राति अबेरसम्म गफियौं । माइथान जंगलको चराचुरुंगीको चिरबिरले निद्रा खुल्यो । गाउँ फन्को मार्ने रहर जाग्यो । पल्लोटोलतिर लागें । प्रत्येक पाइलामा देखिने दृश्यले बाल्यकाल झस्काउँथ्यो । मैले टेकेको ढुंगामाटो, देखिएका रूखबिरुवा, बारीका कान्लाले कहिले आइस् कान्छा भनेर सोधेझैं लाग्थ्यो ।
अचानक पाइला रोकियो । खण्डहर घर देखें । झट्ट हेर्दा ठम्याउन सकिनँ । यो घर कसको पो हो ? सम्झिहालें– यो घर गजे कोक्पाको पो हो त । खण्डहर घरले ध्यान खिच्यो । मलाई बोलाइरहेको भान भयो । म त्यतातिर लागें । घर पुगें । त्यही आँगन । करेसाबारी त्यही । उही सिकुवा । हेर्दाहेर्दै एकछिन घोरिएँ ।
‘आज हाम्रो घरमा मही पारेको छ, लिन आउनू है,’ एकाबिहानै गजिमा कोकु घरघरै बोलाउन पुग्थिन् । गाउँमा खबैकहाँ दुहुना हुँदैनथ्यो । कोकुले दिएको मही र पीठेभात मुछेर खानुको मज्जा शब्दमा व्यक्त गर्न कठिन छ । एकताका खण्डहर घरका घरधनीले मही बाँडेर खुवाउँथे ।
समय परिवर्तनशील छ । हिजो आज भयो । १५ वर्षअघि त्यही घरमा कोक्पाकोकु बस्थे । सन्तान सुखको अनुभूति गर्न नपाएका उनीहरूले मन बहलाउन गाईबस्तु प्रशस्तै पालेका थिए । कोक्पाकोकुले चौपायालाई असाध्यै माया गर्थे । गाईभैंसी बिरामी हुँदा कोक्पा असाध्यै सुर्ता गर्थे । गाईभैंसी बेच्नुपर्दा उनी भक्कानिन्थे । गोठ त्यही हो तर दुहना गाईभैंसी बाँध्ने किला खाली रहेछन् । कोक्पा गाउँका हुनेखानेमा गनिन्थे । छोराछोरी नभए पनि उनले केटाकेटीलाई असाध्यै माया गर्थे । हामी उनको घरमा जान पाउँदा त्यत्तिकै खुसी हुन्थ्यौं । आफूलाई राखेको खानेकुरा कोक्पाकोकुले हामीलाई पनि दिन्थे ।
गजिमा कोकुले चियामा चिउरा भिजाएर खाएको हिजैजस्तो लाग्छ । गाउँभरिका बालबच्चालाई बोलाएर घरमुनिका सुन्तला, उखु, किम्बु, केरा दिन्थे । आफूले पनि खाएको तिनै फलफूलका बोट हेरें । ऊबेला घरमुनि आँपको सानो बोट थियो । ठूलो भइसकेको रहेछ । ‘त्यो आँप आफैं उम्रेको हो । हाम्रोतिर हावापानी मिल्दैन । बेंसीमा मात्रै फल्छ,’ कोक्पा भन्थे, ‘नफले शीतल ताप्न पाइन्छ ।’ शीतल दिने आँपले कोक्पालाई खोजिरहेको अनुभूति गरें । छेउमा लेउ लागेको ढुंगा देखें । त्यो त्यही ढुंगा हो, जहाँ कोक्पाले खुकुरीमा धार लगाउँथे । बेलाबेला देब्रेपट्टिको बूढीआंैलाले खुकुरीको धार जाँचेको सम्झना गरायो ।
सन्तान भएर पनि सुख नपाएका गाउँले भन्थे, ‘गजे–गजिमाजस्तोको जिन्दगी नै राम्रो । उनीहरूलाई सन्तान नभएको एउटा पीर, सन्तान हुनेले हजार पीर । सानो हुँदा मर्ला भन्ने डर । ठूलो भएपछि मार्लान् भन्ने पीर ।’
कोक्पा अरूलाई समस्या पर्दा आफैंलाई परेझैं गरी सहयोग गर्थे । जीवनको आखिरीमा उनले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका चन्द्र किरातलाई धर्म छोरा बनाए । धर्म छोराले सुख–दुःखमा साथ दिए । धितुङमा पनि खेतिपाती भएकाले दुवैतिर किरातीले हेर्थे । कोक्पाकोकुलाई बुढेसकालले छोयो । उता, किरातीलाई पनि बालबच्चाप्रतिको जिम्मेवारी वहन गर्नु छँदै थियो । किरातीको श्रीमती, पाँच छोरी र दुई छोरा गरी नौजनाको परिवार थियो । कोकुले बाहिरको काम गर्न छाडिन् । कोक्पाले चाहिँ गर्थे । कोक्पालाई दमले समात्यो । संवत् २०६९ कात्तिकमा कोक्पाले दुःख लुकाए ।
श्रीमान्को निधनपछि विगत सम्झँदै श्रीमती अर्थात् गजिमा कोकु भक्कानिन्थिन् । रोएको आवाज सुनिए पनि भासिएका आँखाले आँसु झार्न सक्दैनथिन् । त्यतिबेला चन्द्र किरातले सान्त्वना दिँदै कोकुलाई भनेका थिए, ‘चिन्ता नगर्नुस्, म छु ।’
कोक्पा बितेको वर्ष दिन पुग्यो । चन्द्रले दुवैतिरका व्यवहार धान्दै गए । कोकु बिरामी परिन् । चिकित्सक र धामीलाई देखाइराख्नुपथ्र्यो । उनीहरूको दिनचर्या यसरी बित्दै गयो । कोक्पा बितेकोे पाँच वर्षपछि अर्थात् ०७४ कात्तिकमा कोकुले समेत दुःख लुकाइन् । मृत्युपछि गरिने सबै काम चन्दले गरे ।
धर्म बाआमाले संसार छाडेपछि गाईबस्तुको बिजोग हुने भयो । जग्गा–जमिन बाँझो रहने भएपछि किरातले परिवारसँगै एेंसेलुखर्कमा बस्ने योजना बनाए । पाँच वर्षसम्म दुवैतिर घर, जग्गा–जमिन भोग गर्दै आए ।
चन्द्रको जीवनमा ग्रहण लाग्दै गयो । चन्द्रको श्रीमती बिरामी परिन् । उपचार गर्न दिक्तेल जाने बेला आमाले हाँस्दै ठूली छोरीलाई भनेकी थिइन्, ‘दुई÷तीन दिनमा फर्कन्छु । गाईबस्तुलाई घाँसपात र भाइबहिनीको हेरचाह गर्नू है ।’ ऐंसेलुखर्क भञ्ज्याङबाट गाडी चढेर श्रीमान्सँगै दिक्तेल पुगेकी उनको उपचारक्रममा ०७० असोजमा अस्पतालमै मृत्यु भयो । आमाको बाटो हेर्दै बसेको काखेभाइ रुँदा ठूली दिदीले आँखाभरि आँसु पार्दै नरोेऊ भाइ, आमा छिट्टै आउनुहुन्छ भनेर झुटो बोल्थिन् ।
ठूली छोरी आमा सम्झेर भक्कानिन्थिन् । ‘यस्तो भइहाल्यो । दुःखी भएर केही हुँदैन,’ चन्द्र भन्थे, ‘म छु । तिमीहरूलाई आमाको मायाको कमी हुन दिन्न ।’ तर, श्रीमती नहुँदाको पीडाले उनी मनमनै रुन्थे ।
गोरखा भूकम्पले घर चक्र्याे । भत्कन लागेको घरमा बस्न सम्भव थिएन । चर्केको घरभन्दा दुई कान्लामाथि जस्तापाताले बारेर अस्थायी घर बनाए । नयाँ घरमा सर्न काम भइरहेको थियो । चर्केको घरबाट नयाँ घरमा बिजुलीबत्ती जोड्न विद्युत्को काम जानेकालाई अनुरोध गरे । अनुरोध गरिएका व्यक्तिले भोलि बिहानको भाका राखे । उनी नयाँ घरमा आजै बत्ती बाल्न हतारिए । पुरानो घरबाट ल्याइएको नाङ्गो तारले उनलाई छोयो । क्षणभरमा उनको चोला उठ्यो । यो ०७५ साउन १९ को दुःखद घटना हो । पत्नीवियोगको वर्ष दिन नपुग्दै चन्द्र किरातले पनि दुःख लुकाए । छोराछोरी बालखैमा टुहुरा भए । टुहुरा छोराछोरी सामाजिक संस्थामा आश्रित छन् । किरात दम्पतीले दुःख लुकाएसँगै खण्डहर घर रित्तिएको छ ।
खण्डहर घर संरक्षण गरौं भन्ने कोही छैनन् । घर आधाजति भत्किसकेकोे छ । धेरैलाई शीतल दिने घर दिनदिनै भत्कँदै गएको हो । यो घरमा आश्रय लिने कोक्पाकोकुले उमेर पुगेरै दुःख लुकाए पनि किरात दम्पतीको असामयिक अन्त्य भयो । हिजो लुकामारी खेल्दै हुर्केका जोकोही आज त्यही घर देखेर भावुक हुन्छन् ।
‘हना कैले आइस्को कान्छा ?’ झस्कँदै पछाडि फर्किएर हेर्दा कान्छा बाबै डोको बोकेर उभिरहेका थिए । ‘म हिजैमात्र आको बाबै ।’ म पूरै विगतबाट वर्तमानमा फर्कें । बाबैसँग एकछिन दुःख–सुखको बातचित भयो । घाँस काट्न हिँडेका बाबै बाटो लागे ।
हिजो त्यो घर नगई चित्त नबुझाउनेहरू आज नजिक जानसमेत डराउँदारहेछन् । आधा भत्किसकेको घर गर्लम्म ढलेपछि गजे–गजिमाको जीवनको अर्को पाना च्यातिनेछ । तीन वर्षपछि गाउँ फर्कंदा थुप्रै परिवर्तन भएको पाएँ । खुर्सानी फल्ने घु¥यानमै मोटरबाटो पुगेछ । हलगोरु नभए पनि एकथान मोटरसाइकल नदेखिने घरै थिएनन् । बेलाबेलामा सवारीसाधन गुडेको आवाजले काठमाडौंमै रहेको अनुभूति गराउँथ्यो । कोक्पाकोकुको खण्डहर घरको फोटो खिचें । त्यसपछि मन गह्रौं बनाएर घर फर्कें ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार