सातो राखिने भीर

सातो गयो भने मानिस बिरामी हुन्छन् । सम्बन्धित बिरामीको सातो फर्काउन धामीझाँक्रीको सहारा लिइन्छ । धामीझाँक्रीले सातो कहाँबाट, कसरी फिर्ता ल्याउँछन् ?  यसबारे धेरैलाई थाहा नहुन सक्छ । सातो कसले र कहाँ लगेर राखेको हुन्छ ? तपाईंलाई थाहा छ ? छैन भने यसबारे थाहा पाउन पूरै कथा पढ्नैपर्छ ।

सातो क–कसले लैजान्छ ?

सोलोमाले सातो लगेपछि मानिस बिरामी हुन्छन् । सातो फर्काउन सकिएन भने बिरामीको ज्यानै जान सक्छ । राति आकाशमा उडिहिँड्ने सोलोमाले मानिसको सातो पक्रन्छ । उसले पक्रेको सातो सोलमा भीरमा राख्ने गर्छ ।
सातो भूतप्रेत, मसान, जागित्रले पनि पक्रन्छ । उनीहरूबाट सातो फिर्ता ल्याउन भोग दिनुपर्दैन । तर, सोलोमाले पक्रेको सातो फिर्ता ल्याउन बलि दिनैपर्छ ।

सोलोमा भनेको को हुन् ?

सोलोमा भनेको सिकारी हुन् । चाम्लिङ राई समुदायले उसलाई पुज्ने गर्छन् । सोलोमा बादलजस्तै आकाशमा उडिहिँड्छ । उसले आवाज निकालेर उड्ने गर्छ । ब्राह्मण, क्षेत्रीले सोलोमालाई धुम्रकेतु भन्ने गर्छन् । धुम्रकेतुलाई चाम्लिङ राई समुदायले सोलोमा भन्ने गरेका हुन् ।
हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले सिरानटोलमा रहेको भीरमा सोलोमा बस्ने गर्छन् । सोलोमा बस्ने भीरलाई कालान्तरमा ‘सोलमा भीर’ भनिएको हो ।

सातो कसरी फर्काइन्छ ?

बिरामीको सातो फर्काउन धामीझाँक्रीले सोलोमालाई अनुरोध गर्छ । सोलोमाले सातो दिन मान्दैनन् । धामीझाँक्रीले अनुरोध गर्दै जान्छन् । सोलोमाले मान्दै नमानेपछि कुखुराको बलि दिन्छन् । बलि दिएको कुखुरातिर झम्टेको मौका छोपी धामीझाँक्रीले सोलोमाबाट बिरामीको सातो खोसेर ल्याउन सफल हुन्छ । धामीझाँक्रीको आ–आफ्नै लय हुन्छन् । म (उत्सवकुमार राई÷कान्छा धामी) चाहिँ मुन्धुमबाट उपचार गर्छु । सोलोमाको साथमा रहेको सातो सग्लै छ भने बिरामीको उपचार लाग्छ । सातोमा चोट लागेको छ भने उपचार लाग्दैन । बिरामी निको हुँदैनन् ।

उत्सवकुमार राई/कान्छा धामी

सोलमा भीरमा बच्चा रोएको सुनियो भने गाउँ (सल्ले) मा अनिष्ट हुन्छ । बच्चा रोएको सुनिएको भोलिपल्ट सोलमा भीरको ढुंगामा रगतको टाटा देखिन्छ । त्यसको केही दिनपछि गाउँमा अशुभ खबर सुन्नुपर्छ । यहाँ मध्यरातमा बत्ती बलेकोसमेत देखिन्छ । कतिपय अवस्थामा विभिन्नप्रकारका आवाज पनि सुनिन्छ ।

किरात राई समुदायको निधनपछि उनीहरू विभिन्न बाटो हुँदै स्वर्ग जान्छन् । स्वर्ग जानेक्रममा सोलमा भीरमा पनि बस्ने गर्छन् । पहिले–पहिले मानिस सोलमा भीर जान डराउँथे । अहिले डराउँदैनन् । तर, रातिचाहिँ हिँड्न डराउँछन् । टाढैबाट हेर्दासमेत भीर डरलाग्दो देखिन्छ । त्यही डरलाग्दो भीरमा केशजस्तो घाँस उम्रिने बूढापाकाले बताउँथे । मैले पनि केशजस्तो घाँस देखेको छु । ३ हजार मिटरभन्दा बढी लम्बाइ रहेको भीरमा ढुंगा बिछ्याएजस्तो देखिन्छ । भीरमा घाँस उम्रिएका छन् । सल्लेपट्टिको भीरमा केही बोटबिरुवा देखिन्छन् । सोलोमा भीर देख्दा जोकोही अचम्मित हुन्छन् ।

किरात राई समुदायले सम्मानसाथ आ–आफ्नो घरमा सोलोमाको पूजा गर्दै आएका छन् । सल्लेवासीले सोलमा भीरमै पूजा गर्न मिल्नेगरी थान थाप्ने भएका छन् । यो काम छिट्टै देखिनेछ । अहिलेको पुस्ताले सोलमा भीरको कथा पत्याउन गाह्रो मान्लान् । तर, परापूर्वकालदेखि सुनिँदै र भनिँदै आएका किंवदन्ती काल्पनिकमात्रै हुँदैनन् । व्यवहारिक र वैज्ञानिक पनि मानिन्छ । त्यसलाई अन्धविश्वास भनेर नकार्न सकिँदैन ।

सल्लेका ज्येष्ठ नागरिक उत्सवकुमार राई (उहाँलाई कान्छा धामी पनि भनेर बोलाइन्छ) ले पंक्तिकारलाई सोलोमा भीरको कथा यसरी सुनाए । कान्छा धामीले सुनाएको कथा सकिएको पत्तै पाइएन । सोलमा भीरको कथा तपाईंलाई कस्तो लाग्यो ? प्रतिक्रिया लेख्नुहोला है ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार