ललितपुर पुगेर गीतकार राईले भने– ‘भाइरल’ हुने गीत लेख्नेको बाहुल्य

 

काठमाडौं । कवि तथा गीतकार भूपाल राईले हिजोआज बजार र विचारको गीत आइरहेको जिकिर गरेका छन् । किराती आदिपुर्खा तायामा, खियामा र हेत्छाकुप्पाको मिथकमा आधारित ‘नाना तायामा’ गीतको म्युजिक भिडियो सार्वजिक कार्यक्रममा गीतकार राईले यस्तो जिकिर गरेका हुन् ।

‘अहिले गीतको ट्रेन्ड हेर्दा बजार र विचार गरी दुई खेमामा बाँडिएको छ । अहिलेको भाषामा भाइरल अर्थात् बजारको गीत धेरै लेखिने गरेका छन्,’ गीतकार राईले थपे, तर, विचारको गीत कम लेखिएका छन् । नाना तायामा विचारको गीत हो । मिथकमा आधारित गीत लेख्न गाह्रो छ । अहिलेको संरचनामा मिथकको संकेतमात्रै दिन सकिन्छ ।’

हङकङमा बसोवास गर्ने संगीतकार दिनेश सुब्बाले आफू लिम्बू भएकाले राई समुदायको मिथकमा आधारित गीतको संगीत भर्न लामो समय अध्ययन गर्नुपरेको बताए । ‘तालदेखि लयसम्ममा राई र लिम्बूको संगीतमा केही फरक छ,’ उनले भने, ‘यसका लागि मैले लामो समय अध्ययन गरें ।’

सानोछँदा सुनेको मिथकमा आधारित गीत गाउन पाउँदा आफूले गौरव अनुभूति गरेको गायक रूपकुमार राईले सुनाए ।
निर्देशक तथा सिनेमेटोग्राफर युवराज राईले पाँच हजार वर्षअघिको कथामा आधारित गीतको म्युजिक भिडियो निर्देशन गर्न प्राविधिक रूपमा निकै कठिन भएको स्वीकारे ।

गीतकार भूपाल राईको शब्द र दिनेश सुब्बाको संगीत रहेको गीतमा रूपकुमार राई र राधा राईले आवाज दिएका छन् ।
‘नाना तायामा’ म्युजिक भिडियोमा सितोरियो करातेकी अन्तर्राष्ट्रिय रेफ्री तथा नायिका शेशुका राई, अस्मिता राई र रामदीप राईले अभिनय गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार